काठमाडौं, असोज १० । गत भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपाल रेडक्रस सोसाइटीले प्रभावित समुदायको उद्धार, राहत, स्वास्थ्य, खानेपानी तथा मनोसामाजिक सहयोगलाई निरन्तरता दिएको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि रेडक्रसले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय पार्दै सम्बन्धित जिल्ला शाखा, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई परिचालन गरेको जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति सदस्य प्रेम लामाका अनुसार, बाढी आएको तत्कालैदेखि रेडक्रसका स्वयंसेवकहरू खोज तथा उद्धार, प्रभावितको आवश्यकता पहिचान, राहत वितरण तथा समन्वयमा परिचालित भएका थिए।
बाढीको अवस्था बुझ्न नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीको नेतृत्वमा टोलीले नुवाकोटको विदुरलगायत प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेको थियो। स्थलगत अवस्थाको अध्ययनपछि प्रभावित समुदायको तत्कालीन आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा मानवीय सहायता अघि बढाइएको रेडक्रसले जनाएको छ।
रेडक्रसका महामन्त्री ऋषिरमण खनालद्वारा जारी विज्ञप्तिअनुसार, पछिल्लो एक महिनाको अवधिमा रसुवा बाढी प्रभावितका लागि १ हजार २१८ सेट गैरखाद्य सामग्री (NFI), ५६३ थान त्रिपाल, ७०१ थान म्याट्रेस र १ हजार ३२४ थान कम्बल वितरण गरिएको छ।
त्यस्तै २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री, २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सेवा उपलब्ध गराइएको छ। प्रभावित क्षेत्रमा १८ वटा पानी ट्याङ्की व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत खानेपानी वितरण गरिएको रेडक्रसले जनाएको छ।
बाढीबाट प्रभावित व्यक्तिको मानसिक तथा सामाजिक अवस्थालाई समेत ध्यान दिँदै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) र प्राथमिक मनोसामाजिक सहयोग (PFA) मार्फत १ हजार ७१० जनालाई सेवा प्रदान गरिएको छ।
त्यसैगरी रेडक्रसको आपत्कालीन स्वास्थ्य क्लिनिक (RCEC) मार्फत १ हजार २३९ जनाको स्वास्थ्य परीक्षण, औषधि तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।
बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई समेत रेडक्रसले सहजीकरण गर्दै आएको छ। परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनासम्बन्धी २ हजार २९१ वटा खोजतलासका केसमा सेवा तथा सहजीकरण गरिएको जनाइएको छ। सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि २ हजार शव व्यवस्थापन ब्याग समेत उपलब्ध गराइएको छ।
प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न धादिङका १९८ र नुवाकोटका २६२ गरी जम्मा ४६० घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता प्रदान गरिएको रेडक्रसले जनाएको छ।
समुदायबाट आएका समस्या र गुनासोलाई सम्बोधन गर्न रेडक्रसले करिब ३५० वटा गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक सूचना, सहजीकरण तथा रेफरल सेवा प्रदान गरेको छ।
महिला तथा बालबालिकाको आवश्यकतालाई लक्षित गर्दै ५८७ वटा मर्यादा किट, १ हजार ८७ वटा स्वच्छता किट वितरण गरिएको छ भने बालमैत्री सुरक्षित स्थान (CFS) मार्फत १ हजार १८९ बालबालिकालाई सेवा प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रभावित समुदायलाई राहत, सेवा र आवश्यक सूचनामा सहज पहुँच पुर्याउन विभिन्न १७ स्थानमा सहायता तथा सूचना डेस्क सञ्चालन गरिएको छ। ती कक्षमार्फत बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य सुरक्षा, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच र नगद सहायता सम्बन्धी जानकारी प्रदान गरिएको छ।
रेडक्रसले प्रभावित समुदायमा सचेतना फैलाउन सामाजिक सञ्जाल तथा रेडियोमार्फत समेत विभिन्न सूचना, शिक्षा तथा सञ्चार सामग्री प्रसारण गर्दै आएको जनाएको छ।
रेडक्रसका अनुसार विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने योजना रहेको छ। प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने तथा आवश्यक सामग्री समयमै व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायतका क्षेत्रमा आवश्यकता आधारित कार्यक्रम सञ्चालन गर्ने योजना समेत रेडक्रसले अघि सारेको छ।
विपद्को समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवा सञ्चालनमा सहयोग पुर्याउने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाप्रति नेपाल रेडक्रस सोसाइटीले आभार व्यक्त गरेको छ।






















