धुलिखेल- काभ्रेमा पहिरो, सडक भासिने र खोलाको पानी बढ्ने क्रमसँगै विभिन्न स्थानका सडक अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेल, काभ्रेभञ्ज्याङ–नमोबुद्ध, रोशी र पनौती क्षेत्रका सडकमा आवागमन प्रभावित भएको छ।

प्रहरीका अनुसार धुलिखेल नगरपालिका–८ जिपलाइनस्थित अरनिको राजमार्गमा सडक माथिबाट ढुंगा–माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

त्यस्तै, काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक भासिएसँगै उक्त मार्गमा समेत आवागमन प्रभावित भएको छ।

रोशी गाउँपालिका–७ घुमाउनेमा खोलाको पानीको सतह बढेपछि खोलिएको ‘वन वे’ ट्र्याक कटिङ भइरहेको छ। पानीको बहाव बढ्दै गएपछि उक्त सडकखण्डमा समेत जोखिम बढेको प्रहरीले जनाएको छ।

यसैगरी पनौती नगरपालिका–१० पाटीखर्कबाट बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डमा ठाउँ–ठाउँमा सडक अवरुद्ध भएको छ। विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि सो क्षेत्रमा आवागमन प्रभावित बनेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सडकको अवस्था प्रतिकूल रहेकाले सम्बन्धित सडकखण्ड हुँदै यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।