धुलिखेल- पहिरो तथा सडक कटानका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि सडक खुलाउने प्रयास तीव्र पारिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत चौकीडाँडा, घुमाउने, डालाबेशी, माम्ती, गिम्दीबेशी, पिप्लेलगायतका स्थानमा सडक अवरोध हटाउने काम भइरहेको छ।
अवरुद्ध सडकमा JCB लगायतका मेसिन प्रयोग गरी ट्र्याक खोल्ने तथा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ। विभिन्न स्थानमा पहिरो तथा सडक कटानको अवस्था रहेकाले राजमार्ग पूर्णरूपमा सञ्चालनमा आउन भने अझै समय लाग्ने बताइएको छ।
प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। सडकको अवस्था हेरेर अनावश्यक जोखिम नलिन तथा सम्भावित समस्या भएमा सम्बन्धित निकायसँग समन्वय गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
सडकको अवस्था तथा आवश्यक सहयोगका लागि १००, १०३ र १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गका अवरुद्ध स्थानमा सडक खुलाउने काम जारी रहेकाले यात्रुले थप सूचना प्राप्त गरेर मात्र यात्रा गर्नु उचित हुनेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















