बनेपा- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन प्रक्रिया गम्भीर विवादमा मुछिएको छ। निर्धारित कार्यतालिका र कानुनी प्रक्रिया पूरा नगरी एकाएक निर्वाचन सम्पन्न भएको सूचना सार्वजनिक भएपछि महाधिवेशन प्रतिनिधिका आकांक्षी उम्मेदवारहरूले केन्द्रीय निर्वाचन समितिमा कडा आपत्ति जनाउँदै निवेदन दर्ता गराएका छन् ।
जिल्लास्थित निर्वाचन समितिले उम्मेदवारहरूसँग आवश्यक समन्वय नगरेको र तोकिएको प्रक्रियासमेत पूरा नगरेको आकांक्षीहरूको आरोप छ। केन्द्रीय कार्यालयको निर्देशनअनुसार नामावली प्रकाशन र उम्मेदवारी दर्ताका प्रारम्भिक चरणहरू पार भए पनि, अन्तिम नामावली प्रकाशन गरी सहमति वा निर्वाचनमार्फत टुंगो लगाउनुपर्ने अवस्थामा असोज १२ गते साँझ अचानक निर्वाचन सम्पन्न भइसकेको सूचना विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गरिएको थियो।
यो सम्पूर्ण क्रियाकलाप पार्टीको विधान, निर्वाचन सञ्चालन ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत रहेको दाबी गर्दै उम्मेदवारहरूले उक्त सूचना खारेज गरी रोकिएको निर्वाचन प्रक्रिया पुनः निष्पक्ष रूपमा अघि बढाउन माग गरेका छन्। निर्वाचन प्रक्रिया नै यसरी विवादित बन्न पुगेपछि अब केन्द्रीय निर्वाचन समितिले यस विषयमा कस्तो निर्णय लिन्छ भन्नेबारे सबैको चासो बढेको छ।
यसरी विरोध जनाउनेहरूमा प्रकाश थापा, जय कुमार लामा, निराजन लुइँटेल, महेश राज पौडेल, चन्द्र प्रसाद ढकाल, विष्णु थापा, कश्यप प्रसाद पौडेल, होम प्रसाद चौलागाईँ, विजय गौतम, विनोद तिमल्सिना, रितेन ढकाल (मुक्ति), मञ्जु कुमार श्रेष्ठ, सिताराम परियार, सहदेव तिमल्सिना, रोशन लामा, लाल बहादुर श्रेष्ठ, जीतमान तामाङ, रमेश खरेल, अनिता गजगाईँ, बल प्रसाद दाहाल, प्रेम बहादुर तिमल्सिना, उद्धव प्रसाद नेपाल, बिष्णुमणी नेपाल, रघुनाथ घिमिरे र समिर व्याञ्जु श्रेष्ठलगायतका थुप्रै आकांक्षी उम्मेदवारहरू रहेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















