काभ्रे- मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका ३ जना सहित १० जनाको खोजी तथा उद्धार कार्य तत्काल प्रभावकारी बनाउन आग्रह गर्न तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले गृहमन्त्रालय पुगेका छन् । नेपाल सरकारसँग आग्रह गरेका छन्। हिमपहिरोमा परी बेपत्ता भएका व्यक्तिका परिवारजनको तर्फबाट गृहमन्त्रीसमक्ष सामूहिक निवेदन पेस गर्दै अध्यक्ष तामाङले राज्यका तर्फबाट दक्ष जनशक्ति, सुरक्षा निकाय तथा आवश्यक स्रोत–साधन परिचालन गरी खोजी तथा उद्धारलाई तीव्रता दिन माग गरेका हुन् ।
मनाङ जिल्लास्थित हिमलुङ हिमालको आधार शिविरमा आइतबार राति गएको हिमपहिरोमा हिमालयन हिल्डेज ट्रेकिङ प्रालिमार्फत ट्रेकिङमा सहभागी १४ जना व्यक्ति हिमपहिरोमा परेर सम्पर्कविहीन भएका थिए। घटनापछि हालसम्म ४ जनाको शव खोजी गरी निकालिएको भए पनि बाँकी १० जनाको अवस्था अझै अज्ञात रहेको निवेदनमा उल्लेख छ।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य राज्यका सम्बन्धित निकायबाट प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने माग गर्दै अध्यक्ष तामाङसहित पीडित परिवार तथा सरोकारवालाले गृहमन्त्रीसमक्ष अपिल गरेका छन्। कठिन भौगोलिक अवस्था र हिमपहिरोका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको अवस्थामा राज्यको दक्ष जनशक्ति, सुरक्षा निकाय र आवश्यक उद्धार सामग्रीसहितको टोली तत्काल परिचालन गर्नुपर्ने उनीहरूको माग छ।
अध्यक्ष तामाङले घटनामा बेपत्ता भएका व्यक्तिका परिवारजनलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा खोजी तथा उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन सरकारको विशेष ध्यानाकर्षण गराएका छन्। उनले घटनाको वास्तविक कारणबारे सम्बन्धित सरकारी निकायबाट गम्भीर छानबिन गरी कमजोरी वा लापरबाही भएको भए त्यसबारे यथार्थ सार्वजनिक गर्नसमेत आग्रह गरेका छन्।
पीडित परिवारले आफ्ना आफन्तको अवस्थाबारे सत्यतथ्य जानकारी पाउने अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै घटनासँग सम्बन्धित सम्पूर्ण विषयमा पारदर्शी रूपमा जानकारी सार्वजनिक गर्न माग गरेका छन्। साथै, उद्धार तथा राहत प्रक्रियामा आवश्यक पर्ने थप सहयोग र सहजीकरणका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।
हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्यमा ढिलाइ हुँदा परिवारजनमा थप चिन्ता बढेको भन्दै अध्यक्ष तामाङले सरकारको तत्काल सक्रियता आवश्यक रहेको बताएका छन्। बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको सम्भावना भएको जनाउँदै सबै प्रविधि, जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी खोजी अभियान सञ्चालन गर्न उनले आग्रह गरेका छन् ।
सो घट्नामा परि तेमाल गाउँपालिका वडा नं. १ का ङेमा दोर्जे लामा र बृख ध्वज लामा, तेमाल-५ का जगत लामा बेपत्ता छन् ।


समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















