काभ्रे, असोज १५। सुरक्षित आप्रवासन सामी कार्यक्रम २०८३। ०८४ को वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुुख जंगमले वैदेशिक रोजगारीमा जानुअघि सही सूचना र आवश्यक सीप हासिल गर्न तथा सम्भव भएसम्म स्वदेशमै रोजगारीका अवसर खोज्न आग्रह गरेका थिए ।

धुलिखेल नगरपालिकाको सभाहलमा बिहीबार आयोजित आर्थिक वर्ष २०८३। ०८४ को वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रममा सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीका लागि सचेतना, सूचना प्रवाह र सीप विकासको आवश्यकतामा जोड दिइएको हो।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, सामाजिक विकास समितिका संयोजक एवं धुलिखेल नगरपालिकाका वडा नं। ३ का अध्यक्ष गणेश आचार्य र वडा नं। ५ का अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ सहभागी थिए।

सामी कार्यक्रम धुलिखेलको आयोजनामा भएको कार्यक्रममा हेल्भेटासका कार्यक्रम अधिकृत भोजराज सुनुवारले चालु आर्थिक वर्षको पालिकागत वार्षिक क्रियाकलाप र बजेटको विवरण प्रस्तुत गरे। उनले कार्यक्रम कार्यान्वयन, कार्ययोजना निर्माण, मासिक प्रतिवेदन, भइरहेका अभ्यास, सुधार गर्नुपर्ने क्षेत्र तथा सफलताका कथाबारे जानकारी गराए।

कार्यक्रममा वार्षिक योजना र बजेटको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित आप्रवासनसम्बन्धी गतिविधिलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।

सामी कार्यक्रम काभ्रे जिल्ला संयोजक गंगा लामाले सञ्चालन गरेको कार्यक्रममा स्थानीय तहका रोजगार संयोजक, मनोसामाजिक परामर्शकर्ता, वित्तीय साक्षरता सहजकर्ता, आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता, रिटर्नी स्वयंसेवक तथा अन्य सरोकारवालाको उपस्थिति थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।