काठमाडौँ, असोज १९ गते । सौन्दर्य सेवा तथा व्यावसायिक सीप विकासको क्षेत्रमा सक्रिय निरु ब्युटी एकेडेमी एण्ड युनिसेक्स सलोनले काठमाडौँको चावहिलमा आफ्नो चौथो शाखा सञ्चालनमा ल्याएको छ। गोपीकृष्ण हल पछाडि, रिलायन्स कलेज नजिकै रहेको नयाँ शाखाको सोमबार विशेष समारोहबीच उद्घाटन गरिएको हो।

शाखाको उद्घाटन मम्स नेपालकी अध्यक्ष, मिस तामाङ आयोजक तथा अभिनेत्री रञ्जिता ब्लोनले गरेकी हुन्। उद्घाटन समारोहमा बोल्दै ब्लोनले सौन्दर्य व्यवसायलाई व्यावसायिक रूपमा विस्तार गर्दै लैजानु उपलब्धिमूलक कार्य भएको बताइन्। सौन्दर्य व्यवसाय केवल आम्दानीको माध्यम नभई सीप तथा दक्षता विकाससँग समेत जोडिएको उनको भनाइ थियो।

त्यस्तै, अभिनेत्री चाँदनी मोक्तानले महिलाले आफ्नै सीप, क्षमता र लगानीका आधारमा व्यवसाय सञ्चालन गर्दै अघि बढ्नु सकारात्मक पक्ष भएको बताइन्। कार्यक्रममा सैलुङअनलाइन डटकमका अध्यक्ष श्यामलाल लामाले सौन्दर्य सेवा अहिले जीवनशैलीको महत्वपूर्ण हिस्सा बन्दै गएको उल्लेख गर्दै ग्राहकको विश्वास, सन्तुष्टि र गुणस्तरीय सेवाले व्यवसायको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

धादिङको मलेखुबाट २०७० सालमा सुरु भएको निरु ब्युटी एकेडेमीले पछिल्लो समय आफ्नो सेवा काठमाडौँका विभिन्न क्षेत्रमा विस्तार गर्दै आएको छ। यसअघि मलेखु, सामाखुसी टाउन प्लानिङ र स्वयम्भूस्थित एबीएस कम्प्लेक्समा तीन शाखा सञ्चालनमा थिए। चावहिल शाखा संस्थाको चौथो शाखाका रूपमा थपिएको हो।

एकेडेमीकी सञ्चालक निरु तामाङले विद्यालय अध्ययनकै समयदेखि सौन्दर्य क्षेत्रमा रुचि रहेको र साथीहरूको प्रेरणाबाट यस क्षेत्रमा प्रवेश गरेको बताइन्। निरन्तरको मेहनत, सीप र ग्राहकको विश्वासलाई आधार बनाएर व्यवसायलाई विस्तार गर्दै आएको उनको भनाइ छ।

उनले सौन्दर्य सेवालाई व्यवसायमा मात्र सीमित नराखी महिलाको सीप विकास, रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्य रहेको बताइन्। आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर संस्थालाई अघि बढाइएको उनको भनाइ छ।

निरु ब्युटी एकेडेमीले विभिन्न अवधिका व्यावसायिक ब्युटिसियन तालिमसँगै आधुनिक सौन्दर्य सेवासमेत प्रदान गर्दै आएको छ। एकेडेमीका अनुसार २ महिनाको बेसिक ब्युटिसियन कोर्स, ३ महिनाको एड्भान्स ब्युटिसियन कोर्स, ६ महिनाको फुल ब्युटी कोर्स तथा वैदेशिक रोजगारीलाई लक्षित २ महिनाको विशेष कोर्स सञ्चालनमा छन्। त्यस्तै, मास्टर नेल क्लासेस र आइल्यास एक्सटेन्सन क्लासेससमेत उपलब्ध छन्।

एकेडेमीमा छाला तथा कपालसम्बन्धी उपचार, नेल तथा आइल्यास सेवा, म्यानिक्योर–पेडिक्योर, सेमी–पर्मानेन्ट मेकअप, ट्याटु हटाउने, पर्मानेन्ट हेयर रिडक्सन, हेयर एक्सटेन्सन तथा ब्राइडल मेकअपलगायतका सेवा उपलब्ध छन्। साथै, ब्राइडल मेकअपसम्बन्धी व्यावसायिक तालिम तथा छाला र पार्लरसँग सम्बन्धित विभिन्न सौन्दर्य सेवासहित सीपमूलक तालिमसमेत सञ्चालन हुँदै आएको एकेडेमीले जनाएको छ।

चाडपर्वलाई लक्षित गर्दै निरु ब्युटी एकेडेमीका सबै शाखामा २० देखि ४० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरिएको छ। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी ग्राहकलाई विभिन्न सौन्दर्य सेवामा विशेष छुट उपलब्ध गराइएको सञ्चालक निरु तामाङले जानकारी दिइन्।

उनले भनिन्, ‘सौन्दर्य सेवा मात्र नभई महिलालाई सीप र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले संस्थालाई विस्तार गर्दै आएका छौँ।’

यसैबीच, चावहिल शाखाका सञ्चालक तथा प्रधानाध्यापक चन्द्रमान तामाङले आफूले यस व्यवसायमा सीमित लगानी गरेको बताए। आफू पेसाले प्रधानाध्यापक रहेको उल्लेख गर्दै उनले व्यवसायबाट प्राप्त आम्दानीको केही हिस्सा आफ्नो विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा टुहुरा चेपाङ बालबालिकाको सहयोगमा खर्च गर्ने उद्देश्य रहेको बताए।

नयाँ शाखा सञ्चालनसँगै निरु ब्युटी एकेडेमीले चावहिल क्षेत्रमा आधुनिक सौन्दर्य सेवा तथा व्यावसायिक सीपमूलक तालिमलाई थप विस्तार गर्ने जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।