बनेपा— प्रगतिशील लेखक सङ्घ (प्रलेस), काभ्रेको आयोजनामा बनेपामा एक विशेष साहित्यिक समारोहका बिच नियमित कवि गोष्ठी तथा युवा कवि रामेश्वर आचार्यद्वारा लिखित कविता सङ्ग्रह ‘विचारको ज्वालामुखी’ को लोकार्पण कार्यक्रम सम्पन्न भएको छ। बनेपा नगरपालिका–९ स्थित किटली क्याफेमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान गर्नुका साथै समसामयिक वैचारिक एवम् सामाजिक विषयवस्तुमाथि गहन विमर्श गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रलेस बागमती प्रदेशका पूर्व अध्यक्ष प्रा. डा. हरि सिलवाल र कार्यक्रमका अध्यक्ष एवम् प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले संयुक्त रूपमा उक्त कविता सङ्ग्रहको लोकार्पण गर्नुभएको थियो। समारोहमा स्रष्टा विशेषका रूपमा कवि रामेश्वर आचार्यलाई प्रलेस काभ्रेका तर्फबाट सम्मान समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. हरि सिलवालले गोष्ठीमा प्रस्तुत कविताहरूको समीक्षा गर्दै लोकार्पण गरिएको कृति ‘विचारको ज्वालामुखी’ माथि विस्तृत विवेचनात्मक समालोचना प्रस्तुत गर्नुभयो। उहाँले सङ्ग्रहमा समेटिएका कविताहरूको भाव, विचार र साहित्यिक सौन्दर्यबारे चर्चा गर्दै कृतिको वैचारिक तथा सिर्जनात्मक सामर्थ्यमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले मार्क्सवादी–प्रगतिवादी साहित्यको वैचारिक आधार, सामाजिक रूपान्तरणमा यसको भूमिका र श्रमजीवी वर्गको पक्षमा साहित्यले निर्वाह गर्नुपर्ने दायित्वबारे स्पष्ट पार्नुभयो। “साहित्यलाई केवल मनोरञ्जनको साधनमा मात्र सीमित नराखी समाजका वर्गीय अन्तर्विरोध, शोषण, उत्पीडन र विभेदलाई उजागर गर्दै न्यायपूर्ण समाज निर्माणको पक्षमा उभ्याउनु आजको आवश्यकता हो,” अध्यक्ष लामाले भन्नुभयो, “मार्क्सवादी–प्रगतिवादी साहित्यले जनताको जीवन, सङ्घर्ष, आशा र परिवर्तनको आकाङ्क्षालाई सिर्जनामार्फत सशक्त रूपमा अभिव्यक्त गर्नुपर्छ।”
कार्यक्रममा ‘स्रष्टा विशेष’ का रूपमा सम्मानित कवि रामेश्वर आचार्यले आफ्नो सिर्जनायात्राका अनुभवहरू बाँध्दै ‘विचारको ज्वालामुखी’ कृतिको पृष्ठभूमि र वैचारिक पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो।
उक्त अवसरमा आयोजित कवि गोष्ठीमा डेढ दर्जनभन्दा बढी कविहरूले आफ्ना सशक्त रचनाहरू वाचन गर्नुभएको थियो। रचना वाचन गर्ने कविहरूमा मुरहरी रायमाझी, शारदा प्रसाद शर्मा, उपेन्द्र दाहाल, नवराज रायमाझी, बलराम बिष्ट, श्रीकृष्ण पाण्डे, केशव घिमिरे, सरस्वती चिमोरिया, दिनेशराज खरेल, भवानी पाण्डे, सुभद्र अधिकारी ‘अल्फिफोहिन फाक्लुक्पा’, केशव ज्ञवाली, विजया शर्मा, शिला कुमारी खरेल र राधिका घिमिरेलगायत हुनुहुन्थ्यो।
नवराज दाहाल ‘उत्साही’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन श्रीकृष्ण पाण्डेले गर्नुभएको थियो। समसामयिक वैचारिक विमर्श, प्रगतिवादी साहित्यको महत्त्व र स्रष्टाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र सशक्त बनाएको आयोजकले जनाएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















