धुलिखेल- सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी सर्वसाधारणमाथि वादविवाद तथा अपशब्द प्रयोग गरेको अभियोगमा काभ्रेपलाञ्चोकका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं. ३ कुशादेवी बस्ने ४० वर्षीय गणेश सापकोटा रहेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले खोजतलास गरी असोज २४ गते घटेको उक्त घटनामा संलग्न सापकोटालाई असोज २५ गते पनौतीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सापकोटाले सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गरी सार्वजनिक स्थानमा सर्वसाधारणसँग वादविवाद, अपशब्द प्रयोग तथा अभद्र व्यवहार गरेका थिए।
पक्राउ परेका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट ३ (तीन) दिनको म्याद अनुमति लिई इलाका प्रहरी कार्यालय, बनेपाको हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) रबिन विष्टले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















