सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२, नौबिसे ढाँडेँमा सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको शाखा उत्पादन केन्द्र सञ्चालनमा आएको छ। शाखा उत्पादन केन्द्रको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले गर्नुभएको हो।

सामुदायिक दुनाटपरी उत्पादन साझा केन्द्रको आयोजनामा तथा डिभिजन वन कार्यालय सिन्धुपाल्चोक, बलेफी गाउँपालिका र सुनकोशी गाउँपालिकाको सहयोगमा शाखा उत्पादन केन्द्र उद्घाटन समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्थानीय स्रोत–साधनको अधिकतम सदुपयोग, परम्परागत सीपको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत समुदायको आर्थिक अवस्था सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीयस्तरमा उपलब्ध स्रोत र सीपलाई उत्पादन तथा उद्यमशीलतासँग जोड्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सकिने धारणा व्यक्त गर्नुभयो।

दुनाटपरी उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीय समुदायको आयआर्जन वृद्धि हुनुका साथै परम्परागत ज्ञान, सीप र संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, दुनाटपरीको प्रयोगलाई प्रोत्साहन गर्दा प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणमा सहयोग पुग्न सक्ने विश्वास गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारी निकाय, स्थानीय तह, उत्पादक समूह तथा समुदायबीच सहकार्य आवश्यक रहेको छ। यस प्रकारका उत्पादनमूलक पहललाई दिगो र व्यावसायिक बनाउन उत्पादनसँगै बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि र उपभोक्तासम्म सहज पहुँच विस्तारमा समेत ध्यान दिनुपर्ने देखिन्छ।

बलेफीमा शाखा उत्पादन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयस्तरमा दुनाटपरी उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने अपेक्षा गरिएको छ। केन्द्रको प्रभावकारी सञ्चालनले स्थानीय समुदायको आर्थिक सशक्तीकरण तथा वातावरणमैत्री उत्पादनको प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।