काठमाडौँ- बागमती प्रदेश सरकार, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय (सानेपा, ललितपुर) ले सहकारी संस्थामा बचत रकम फिर्ता नपाएका बचतकर्ताहरूका लागि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था सुरु गरेको छ।
कार्यालयले जारी गरेको सूचना अनुसार (मिति: २०८३/०६/२६), प्रदेशभित्रका सहकारीमा रकम जम्मा गरी समयमा फिर्ता नपाएका बचतकर्ताहरूको गुनासो संकलन, अभिलेखीकरण र छानबिन प्रक्रियालाई सहज बनाउन “बचत फिर्ता उजुरी प्रणाली” सञ्चालनमा ल्याइएको हो।
अनलाइन उजुरी गर्ने प्रक्रिया र वेबसाइट
बचतकर्ताहरूले https://complaincor.bagamati.gov.np/ वेबसाइटमा गएर अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्।
वेबसाइटमा प्रवेश गरी आफ्नो व्यक्तिगत प्रोफाइल बनाउनुपर्नेछ र त्यसैगरि सम्बन्धित सहकारीको नाम, ठेगाना, संस्थागत विवरण, जम्मा गरेको बचत रकम, बचतको प्रकार, जम्मा गरेको मिति र फिर्ता पाउन बाँकी रकम उल्लेख गर्नुपर्नेछ। बचत पासबुक, भौचर, बैंक कारोबार विवरण, खाता विवरण, नागरिकताको प्रमाणपत्रलगायतका कागजातहरू प्रणालीमा अपलोड गर्नुपर्नेछ। सम्पूर्ण विवरण रुजु गरी अनलाइन प्रणालीबाटै उजुरी पेश गर्न सकिनेछ।
उजुरी गर्दा पेस गरिएका विवरण तथा कागजातहरू सत्य, स्पष्ट र प्रमाणमा आधारित हुनुपर्नेछ। झुट्टा वा भ्रामक विवरण पेश गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ। एकै बचतकर्ताको एउटै दाबीका सम्बन्धमा दोहोरो उजुरी दर्ता नगर्न कार्यालयले अनुरोध गरेको छ।
अनलाइन प्रणालीमा उजुरी दर्ता गर्न कठिनाइ भएमा मन्त्रालयको वेबसाइट (www.cor.bagamati.gov.np) वा इमेल (registrarbagamati@gmail.com / registrar.mocpa@bagamati.gov.np) मार्फत कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















