खानीखोला- नेपालीहरूको महान् चाड विजयादशमी तथा म्हेनिङ पर्व २०८३ को पावन अवसरमा खानिखोला गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण गाउँपालिकावासी एवम् नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै चाडपर्वलाई अनुशासित, सभ्य र सुरक्षित रूपमा मनाउन विशेष अपिल गरेको छ। गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङले सार्वजनिक सूचना जारी गर्दै अवाञ्छित व्यवहार र सवारी नियमको उल्लंघनबाट टाढा रहन सबैमा आग्रह गरेका छन्।
चाडपर्वको समयमा हुनसक्ने सम्भावित अवाञ्छित घटना, झैझगडा र सडक दुर्घटनालाई न्यूनीकरण गर्न गाउँपालिकाले नागरिक तथा सवारी चालकहरूलाई विभिन्न जिम्मेवार कदम चाल्न ध्यानाकर्षण गराएको छ। पर्व मनाउने क्रममा आफ्नो र परिवारका सदस्यहरूको स्वास्थ्यलाई ध्यान दिँदै अत्यधिक मदिरा सेवन, जुवातास, अनावश्यक होहल्ला र समाजमा अपाच्य हुने खालका व्यवहारबाट टाढा रहनुपर्ने अपिलमा उल्लेख छ। साथै, सार्वजनिक शान्ति, सामाजिक सद्भाव र अरूको अधिकार एवम् सुविधाको सम्मान गर्दै संयमित र जिम्मेवार ढङ्गले पर्व मनाउन गाउँपालिकाले सबैमा अनुरोध गरेको छ।
यसैगरी, चाडपर्वका बेला यात्राको चाप अत्यधिक बढ्ने भएकाले सवारी साधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न र नचढाउन ताकीद गरिएको छ। सवारी साधन सञ्चालन गर्नुअघि त्यसको यान्त्रिक अवस्थाको पूर्ण जाँच गरी सुरक्षित रहेको सुनिश्चित गर्न, तीव्र गति वा लापरवाहीपूर्वक गाडी नचलाउन र गतिभन्दा सुरक्षालाई प्राथमिकता दिन आग्रह गरिएको छ। चालकहरूलाई मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, यात्राको क्रममा मोबाइल फोन प्रयोग नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न निर्देशन दिइएको छ। यात्रुहरूले पनि क्षमताभन्दा बढी यात्रु राख्न दबाब नदिन र असुरक्षित यात्रा देखिएमा सम्बन्धित निकायलाई जानकारी गराई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुपर्नेछ।
सानो सावधानीले ठूलो दुर्घटना रोक्न सकिने भएकाले आपसमा सद्भाव र सामाजिक एकता सुदृढ बनाउँदै दुर्घटनारहित ढङ्गले पर्व मनाउन गाउँपालिकाले हार्दिक आह्वान गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















