काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकामा खानेपानी सुरक्षा योजना तालिम सम्पन्न भएको छ भने महिलाहरुलाई एडभान्स सिलाई तालिम कार्यक्रम शुरु भएको छ ।
खानेपानी सुरक्षा तालिम सम्पन्न
बेथानचोक। बेथानचोक गाउँपालिकाका विभिन्न ७ सामुदायिक विद्यालय तथा समुदायहरुलाई लक्षित गरी विभिन्न साना खानेपानी योजना संचालन हुने भए पछि खानेपानी सुरक्षा योजना तालिम दिएको छ ।
निर्माणका क्रममा रहेका उक्त आयोजनाका उपभोक्ताहरुलाई लक्षित गरी ३ दिने खानेपानी सुरक्षा योजना तालिम दिएको आयोजकले तेमाल अनलाईनलाई जानकारी दिएको छ । तालिममा प्रत्येक योजनाबाट ५ जनाका दरले ३५ जनाको सहभागिता रहेको थियो ।
आर्सो नेपालको प्राविधिक सहयोग तथा फिनल्याण्ड सरकार तथा युनिसेफको आर्थिक सहयोगमा संचालित तालिमको कार्यक्रम संयोजक खगेन्द्र कुमार साउद, इन्जिनियर हिमाल वली, स्वास्थ्य प्रबन्र्धक समृद्धि गुरुङ, प्राविधिक गोकुल कुँवर, सामाजिक परिचालिका सुस्मिता बुढाथोकी, प्राविधिक पुष्पाञ्जली लामिछाने लगायतले सहजीकरण गरेका थिए ।
तालिम कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यको अतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व रेव प्रसाद वास्तोलाले गरेको थिए ।
तालिमको पहिलो दिन खानेपानी सुरक्षा योजना विषयमा भएको प्रशिक्षण पछि खानेपानी सुरक्षाका विषयमा प्रयोगात्मक कार्य संचालन भएको थियो ।
विपन्न महिलालाई एडभान्स सिलाई तालिम
बेथानचोक गाउँपालिका क्षेत्रका गरिब विपन्न वर्गका महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गर्ने भएको छ । बुधवारबाट स्थानीय १८ ओटा महिला समूहको ४ सय ५५ जना महिला सदस्यहरुबाट १० जना युवा महिला सदस्यहरुका लागि एडभान्स सिलाई तालिम शुरु भएको हो ।
गाउँपालिकाको वडा नं २, ३ र ५ मा ग्रामिण विकास संस्थाको सहजिकरण तथा टिडिएच जर्मन एइआइएन लक्जम्बर्गको आर्थिक सहयोगमा संचालित गुणस्तरीय शिक्षा प्रवर्धन तथा महिला युवा र बालबालिकाहरुको अधिकारका लागि शसक्तिकरण परियोजना अन्र्तगत उक्त तालिमा शुरु भएको हो ।
६ महिना सम्म संचालन हुने उक्त तालिमको उद्घाटन कार्यक्रम ग्रामिण विकास संस्थाका कार्यकारी निर्देशक डि.एन तिमल्सिना, कृषि प्राविधिक पुरुस्वतम् आचार्य, संस्थाका फिल्ड संयोजक खडानन्द गौतम, बाल संजाल बेथानचोकका अध्यक्ष प्रदिप आचार्य लगायतले व्यवहारीक तालिमको महत्वका विषयमा बोलेका थिए ।
तालिमको प्रशिक्षण सुमित्रा ङाकुसीले गर्ने छिन् । उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहेका बेथानचोक गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गरेका थिए ।
















