राजकुमार गोले
काभ्रे । व्यापारीक नगरी बनेपाको चारदोबाटोबाट ३ मिनेट उत्तर चण्डेश्वरी मार्ग हुइकिदा गणेश मन्दिर पुगिन्छ । त्यही एक छेउमा सानो छाप्रो छ । छाप्रो भित्र एक दम्पती कहिले जुत्ताको तुना मिलाउदै भेटिन्छन् त कहिले जुत्ता सिलाउदै र कहिले जुत्ता टल्काउदै ।

बनेपा–१० जनागालका ५२ वर्षिया पर्शुराम रोकायको दैनिकी यसरी नै बित्छ । कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरको दैलो कुर्नु पर्ने उनको तीतो यथार्थ थियो ।

जुत्ता सिउँने पसल थापेर काम गर्न थालेपछि उनलाई हिजो आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कामको चटारोले भ्याइ नभ्याइ छ । जुत्ता सिउँने पसल थापेर काम गर्न थालेपछि उनलाई हिजो आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कामको चटारोले भ्याइ नभ्याइ छ ।

जुता सिलाउने उनको पुख्र्यौली पेशा भएकाले पनि उसलाई व्यावसायिकता बनाउन र जोगाउन निरन्तर लागि परेको उनको अनुभव छ । यो उनको पुख्र्यौली पेसा नै हो ।

बिहान उठ्ने बित्तिकै घरबाट हिँड्ने पर्शुराम दिनभरि गणेस्थानमा रहेको आफ्नो जुत्ता पसलमा व्यस्त हुन्छन् । ‘जुत्ता सिउने हाम्रो पुख्र्यौली पेशा हो तर यसलाई पहिला व्यवसायिक रुपमा गर्ने गरेको थिएन । अहिले आफ्नो पुख्र्यौली पेशालाई व्यवसायिक रुप दिएका छौं ।’ उनले भने ‘यसले घरपरिवार पाल्न सजिलो भएको छ ।’

आम्दानीको गतिलो स्रोत

सुरु सुरुमा दिनको २ सयदेखि ४ सयसम्म कमाइ हुन्थ्यो अहिले दिनको ६ सय देखि १५ सयसम्म आम्दानी हुन्छ ।

पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो । पर्शुरामले बनेपाको गल्ली भित्र जुत्ता सिलाउन थालेको ३३ वर्ष बित्यो । तीन दशकको अवधिमा उनले यही कमाइबाट घर खर्च, छोराछोरीको पढाइ खर्च, लुगाफाटो मात्रै होइन, अरनिको राजमार्ग नजिक रहेको जनागालमा १ रोपनी घडेरी किनेका छन् भने सबै खर्च कटाएर मासिक रूपमा झण्डै २० हजार देखि ३० हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

श्रीमान श्रीमती नै जुत्ता सिलाउँने पेशामा

जुत्ता सिलाइको कमाइबाट किनेको घडेरीमा अहिले टहरा बनाएको छ । पर्शुरामलाई उनकी श्रीमती कमला रोकायले सघाउँछिन् । ‘हेर्दा रमाईलो लाग्थ्यो मैले पनि अरुको फाटेको जुत्ता सिलाउन पाए जस्तो लाग्यो पसलमा जाँदा हेर्दा हेर्दै सिके मैले ।’ कमलाले भनिन्, ‘श्रीमानले सिलाएको हेर्दा हेर्दै जुत्ता सिलाउन मैले नि जानीहालें ।’

उनले अनुभव सुनाउँदै भनिन्, ‘एक जोर जुत्ता सिलाई बापत २० रुपैया पाउँथ्यो दिनको ५ जोरसम्म सिलाउन थाले १ सय रुपैया कमाउने रहेछ ।’ बनेपाको गणेशस्थान नजिक सानो जुत्ता सिलाउने पसल सञ्चालन गरेर जुत्ता सिलाइ पेशालाई यी रोकाय दम्पतीले अझ व्यावसायिकता बनाउँदै गएका छन् ।

नयाँ जुत्ता पनि बनाउँछन् रोकाय दम्पतीले

बनेपाको व्यस्त पुरानो बजार छिरेपछि फाटेका जुत्तालाई सिलाउने मात्र नभई काभ्रेमै पहिलो पटक ग्राहकका डिजाइन अनुसार जुत्ता बनाएर बिक्री भइरहेको पर्शुराम रोकायको भनाइ छ । सरकारीदेखि गैरसकारी कार्यालयका कर्मचारी जुत्ता सिलाउन देखि बनाउन डिजाइन दिने र सोहीअनुसार ढिलोमा २ दिनभित्र जुत्ता बनाई सक्ने उनले सुनाए ।

अरु बेला भन्दा दशैं तिहारका बेला नयाँ जुत्ता बनाउने अर्डर भ्यानभ्याई आउने, तर समयले भ्याए जति बनाउने उनले बताए ।

कच्चा पदार्थ ल्याउन समस्या

जुत्ता बनाउने विभिन्न कच्चा पदार्थ बाहिर जिल्लाबाट ल्याउँदा निकै समस्या हुने र महँगो पर्न जाँदा कोही सेवाग्राहीले मर्म नबुझ्ने गुनासो छ उनको । उनले विभिन्न छाला तथा लेदरका जुत्ता छिटोछरितो भनेकै समयमा बनाइदिँदा व्यापार फस्टाएको छ ।

जुत्ता सिलाइबाटै सन्तुष्टी, राजमार्ग छेउमा घडेरी

सुरुसुरुमा त जुत्ता सिलाइ पेसा नगर्न र अरु व्यवसाय रोज्न सबै परिवारले दबाब दिन्थे र आफैं पनि सन्तुष्ट नभएको उनले बताए । ‘सबैले हेय भावले हेर्थे, कमाइ पनि खासै राम्रो थिएन । व्यवसाय विस्तारै फस्टाउँदै गयो । अहिले जनगालमा १ रोपनी घडेरी किनेर टहरा बनाएर बसीरहेको छु ।’ उनले थपे ‘पुख्र्यौली कामलाई व्यावसायिक बनाएर सफल बन्न सकेकोमा आफैंलाई गर्व लाग्छ ।’

छोराछोरी ठूला भएसकेको छन् भने जुत्ता सिलाई कमाएको पैसाले घरायसी खर्च टार्नुका साथै छोरा अमृतलाई कक्षा ८ मा नाइटिङगेल इङलिस बोर्डिङ स्कूलमा पढाउँछन् । उनी भन्छन, ‘ऊ बेला जुत्ता सिलाउने पेशा छोड्न दबाब दिने परिवार अहिले सकेजति सहयोग गर्छन् ।’

दुई छोरा र तिन छोरीसहित ६ जना परिवारको जीविकोपार्जन र अध्ययन उनकै कमाइबाट चलेको छ । जुत्ता सिलाइकै आर्जनबाट छोराछोरीलाई उच्चशिक्षा अध्ययन गराएका छन् रोकाय दम्पतीले ।

विदेशमा पसिना बगाउँनु पर्दैन स्वदेशमै फल्छ सुन

जुत्ता सिलाएरै सबै परिवारको चित्त बुझाउन सकेको छु । अझ त त्योभन्दा ठूलो आमग्राहक वर्गको मन जित्न पनि सफल भएकोमा आफूलाई निकै भाग्यमानी ठानेका छन् पर्शुरामले । विदेशमा गएर आफ्नो पसिना बगाउँनु भन्दा स्वदेशमै बसेर कुनै पनि व्यवसाय गरेर निरन्तरता दिए सफल्ता मिल्ने उनको भनाइ छ ।

जुत्ता सिलाउने पेशालाई व्यवसायिक रुपमा अपनाएपछि पहिला हेलाका दृष्टिले हेर्ने समाजको दृष्टिकोण समेत फेरिएको उनले बताए । पहिले पुराना जुत्ता मात्र मर्मत गर्ने उनले अहिले भने नयाँ जुत्ता बनाउन समेत थालेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।