दोलखा । जिल्लामा रहेका ९ वटै स्थानीय तहमा प्रहरी कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको गौरीशंकर गाउँपालिकामा सबैभन्दा पहिला ईलाका प्रहरी कार्यालय स्थापना भएपछि अरु सबै स्थानीय तहमा प्रहरी कार्यालय स्थापना भएको हो ।

७ गाउँपालिका र २ नगरपालिका गरि ९ स्थानीय तह रहेको दोलखामा एउटा जिल्ला प्रहरी कार्यालय, ३ वटा क वर्गको र ३ वटा ख वर्गको ईलाका प्रहरी कार्यालय रहेको छ भने १२ वटा प्रहरी चौकी, एउटा ट्राफिक प्रहरी कार्यालय र दुई ओटा अस्थायी प्रहरी चौकी रहेको छ ।

कुन स्थानीय तहमा कुन कार्यालय

भिमेश्वर नगरपालिकामा जिल्ला प्रहरी कार्यालय सहित ट्राफिक प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय भिमेश्वर, प्रहरी चौकी सातदोबाटो, किरातीछाप, खरिढुंगा र अस्थायी प्रहरी पोष्ट बोच रहेका छन् ।

जिरी नगरपालिकामा ईलाका प्रहरी कार्यालय जिरी र अस्थायी प्रहरी पोष्ट लिङ्कन रहेको छ भने वैत्यश्वर गाउँपालिकामा ईलाका प्रहरी कार्यालय मैनापोखरी र प्रहरी चौकी गैरीमुदी रहेका छन् । यस्तै तामाकोशी गाउँपालिकामा प्रहरी चौकी किर्नेटार र प्रहरी चौकी छौँडे रहेका छन् भने मेलुङ गाउँपालिकामा प्रहरी चौकी मेलुङ, शैलुङ गाउँपालिकामा ईलाका प्रहरी कार्यालय मागापौवा र प्रहरी चौकी भैँसे रहेका छन् ।

जिल्लाको कालिञ्चोक गाउँपालिका अन्र्तगत ईलाका प्रहरी कार्यालय सिंगटी रहेको छ भने गौरीशंकर गाउँपालिकामा पनि ईलाका प्रहरी कार्यालय रहेको छ । विगु गाउँपालिकामा भने प्रहरी चौकी विगु, प्रहरी चौकी आलम्पु, प्रहरी चौकी रोल्वालिङ र सिमाना प्रहरी चौकी लामाबगर रहेका छन् । ती मध्य ईलाका प्रहरी कार्यालय जिरी, सिंगटी र गौरीशंकर ‘क’ वर्गका ईलाका प्रहरी कार्यालय हुन् भने लामावगरमा रहेको सिमा प्रहरी चौकी हो ।

त्यसैगरि जिल्लाको गौरीशंकर गाउँपालिकामा गृहमन्त्रालयबाटै स्वीकृत दरवन्दी अनुसार ईलाका प्रहरी कार्यालय स्थापना गरिएको हो । गृहमन्त्रालयको २०७४ साल चैत २९ गतेको निर्णय अनुसार गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सिफारिस गरे बमोजिम जेठ १७ गतेको मन्त्रीपरिषद बैठकबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार गौरीशंकर गाउँपालिकामा हिजोबाट ‘क’ वर्गको ईलाका प्रहरी कार्यालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौरीशंकरमा प्रहरी निरिक्षक (ईन्स्पेक्टर) को कमाण्डमा ३० जनाको दरवन्दी रहेको छ । तर, तत्कालका लागि प्रहरी सहायक निरिक्षक (असई) को कमाण्डमा ९ जनाको टोली खटाईएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

गौरीशंकर गाउँपालिकाको वडा नम्वर ४, ५, ६ र ७ को सबै र वडा नम्वर ८ को केही स्थानमा जिम्मेवारी क्षेत्र तोकी वडा नम्वर ६ गुरुम्फीमा ईलाका प्रहरी कार्यालय स्थापना गरिएको हो । ईलाका प्रहरी कार्यालय गौरीशंकरको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिएसपी वासुदेव पाठकले शुक्रबार उद्धघाटन गरेका थिए ।

Comments

comments