दोलखा । नेपाली काँग्रेको युवा संगठन नेपाल तरुण दल दोलखाका उपाध्यक्ष चित्रबहादुर तामाङलाई चक्कु प्रहार गरेर घाइते बनाएको छ ।

भिनपा–३ निवासी उपाध्यक्ष तामाङ माथि भीमेश्वर नगरपालिका ६ स्थित किशोर केसीको कोठामा सुतिरहेको अवस्थामा आज (आइतबार) बिहान करिव २ बजे चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारबाट तामाङको खुट्टा र टाउकोमा चोट पुगेको छ भने घाईते तामाङलाई सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार पछि काठमाडौँ रिफर गरिएको छ । गएराति सँगै खाना खाएर सामुहिक रुपमा सुतेको अवस्थामा उनी माथी आक्रमण भएको प्रहरीले जनाएको छ ।

तामाङलाई सँगै सुतिरहेको अवस्थामा विवाद भएपछि किशोर केसीले चक्कु प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ । यद्दपी घाईते तामाङले भने आँफुलाई मासु काट्ने वम्फकले प्रहार गरिएको बताएका छन् ।

तामाङमाथि पुरानो रिसिविका कारण आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, घाईते तामाङले भने आँफुहरुबीच कुनै रिसिवि नभएपनि एक्कासी आक्रमण भएको बताएका छन् । गएराति साथीहरुले बोलाएपछि आँफु त्यहाँ गएर साथीहरुसँगै सुतेको र सुतिरहेकै अवस्थामा राति एक्कासी आक्रमण भएको उनको भनाई छ । पुरानो रिसिवी र लेनदेन केही नभएपनि सँगै सुतीरहेका बेला एक्कासी आक्रमण गर्नुको खास कारण आँफुलाई पनि थाहा नभएको घाईते तामाङले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले गएराति तामाङसँगै सुतेका केसी सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । घटना लगत्तै भिनपा वडा नम्वर ६ का ३६ वर्षीय किशोर केसी, सोही स्थानका ३७ वर्षीय श्रवण कुमार श्रेष्ठ र भिनपा २ का २३ वर्षीय मिक्सन श्रेष्ठलाई नियन्त्रणमा लिईएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।