राजकुमार गोले
काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका ३२ वर्षिय नरेश वाईबा मंगलवार दिउँसो जिल्ला अदालत परिसरमा पगे । उनले श्रीमतीविरुद्ध जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेका छन् ।
विगत ३।४ वर्ष अघिदेखि माइतमा बसी वेवास्ता गरेको उजुरीमा उल्लेख छ । मानसिक तथा शारिरिक तनाव दिएको भन्दै उनले अदालतमा जाहेरी सहित मुद्दा दर्ता गरेको हो ।

उनी श्रीमती शान्ति वाइबाले दिएको मानसिक तथा शारिरिक पिडा सहन नसकेर जिल्ला अदालत धुलिखेलमा न्यायको लागि पुगेका छन् । भदौँ १ गतेबाट श्रीमानले पनि सम्बन्ध विच्छेद गर्न पाउँने नयाँ कानुन बनेको थाहा पाएपछि भाई आईते वाईवालाई लिएर जिल्ला अदालत धुलिखेलमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न उनी पुगेका थिए ।
‘३।४ वर्ष अघिदेखि मैले भनेको कुरा केही मानेनन्, खाली झगडा गर्ने, माइती बसी रहने, सम्बन्ध बिग्रीदै गएपछि मैले बाध्य भएर सम्बन्ध विच्छेदको बिकल्प अपनाएको हुँ ।’ उनले भने, ‘कति पिडा साहनु महिला हिंसाको घटना बाहिर आउँछ तर पुरुष हिंसाको घटना बाहिर आउँदैनन् । छोरा १३ वर्षको भए, मैले नै लालन–पालन गर्दै आइरहेको छ आमालाई वास्ता छैन ।’

आफू बाहिर काम व्यस्त भएको बेला श्रीमतिकोबारेमा छोराले केही कुरा थाहा पाउँदा बुबालाई भने केही पनि नदिने भन्दै डर त्रासमा राख्दै आएको उनले बताए ।
पुरुष हिंसा पनि बढ्यो
काभ्रेमा पुरुष हिंसाका १६ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आर्थिक वर्ष २०७४÷०७५ साउन मसान्तसम्म १६ वटा पुरुष हिंसाको उजुरी दर्ता भएको हो ।
यता महिला हिंसासँगै काभ्रेमा पुरुष हिंसा पनि बढ्दै गएको जिल्ला अदालतले जनाएको छ । श्रेष्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार नयाँ कानुन लागु भएसँगै ४ जना पुरुषले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेको छ । वैदेशीक रोजगारीमाा गएका पुरुषहरुको बढी समस्या रहेको उनले बताए ।
‘पहिलाको दाँजोमा पुरुष हिंसाका घटनाहरु बढ्दै गइरहेको छ कतिपय बाहिर आउँदैन ।’ अधिकारीले थपे, ‘महिला पुरुषबीचको विभेदलाई जरैदेखि उखेल्न सकिएको छैन, अन्त्य गर्न अझै समय लाग्ने छ ।’

पुरुषले महिलामाथि गर्ने हिंसाको विरुद्ध आवाज उठाइरहँदा महिलाले महिला माथि गर्ने हिंसा र महिलाले पुरुषमाथि गर्ने हिंसा पनि बिकराल बन्दै गएको भन्दै उनले सबै प्रकारका हिंसाको अन्त्य गर्नु जरुरी रहेको बताए ।
मानव अधिकारवादी भोजराज तिमल्सिनाले महिला हिंसाको अन्त्य गर्नसके समाज विकास तीव्रगतिमा हुने चर्चा गर्दै महिलाबाटै हुने हिंसालाई रोक्नु पनि जरुरी रहेको औँल्याए । उनले भने, ‘हिंसा न्यूनीकरणका लागि कानून बनेपनि कार्यान्वयनमा जटिलता आउँदा समस्या आएको बताउँदै उनले महिला आफैँ यसमा जागरुक हुनुपर्ने आवश्यक छ ।’
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रबिराज खड्काले महिला हिंसालाई कम गर्न उजुरी दिने प्रचलन बढ्नु पर्ने बताए । ‘वैदेशिक रोजगारीमा गएका पुरुषले पठाएका रकमको दुरुपयाग गर्दै महिलाबाट पनि पुरुष हिंसा बढ्दै गएको छ उनले भने, ‘यसको न्यूनिकरणका लागि प्रहरीले कार्यक्रमहरु सञ्चालन गरि रहेका छौँ ।’
यस्तो छ कानुनमा पुरुषले सम्बन्ध बिच्छेद गर्न पाउने बारे
मलुकी देवानी ऐन संहिता ऐन २०७४ को परिच्छेद तीनको दफा(९४) को क, ख, ग, घ बमोजिम लोग्नेले स्वास्नीसँग सम्बन्ध बिच्छेद गर्न सकिन्छ । जस्तै क मा कानुन बमोजिम अंश लिई वा मानोमुठी सहित पति पत्नी भिन्न भएको अवस्थामा बाहेक पत्नीले पतिको मनजुरी नलिई लगातार तीन वर्ष वा सो भन्दा बढी समय लिई अलग बसेमा, पत्नीले पतिलाई खाना लाउन नदिई घरबाट निकाला गरेमा, अंगभंगा ठूलो शारिरिक तथा मानसिक कष्ट गरेमा र पतिले अन्य परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमाा लोग्नेले स्वास्नेसँग सम्बन्ध विच्छेद गर्न पाउने छन् ।
















