मोहन तामाङ
भोजपुर । दिंला–काभ्रे–खार्तम्छा–कुदाकाउले सडक निर्माण योजनाको रकम समिति बाटै हिनामिना भएको खुलेको छ ।
भोजपुर षडानन्द नगरपालिका वडा नं. २, ३ र ४ लाई जोड्ने सडक निर्माण तथा मर्मतमा समितिले नै रकम हिनाभिना गरेको हो । गत आर्थिक वर्ष २०७४÷०७५ बाट उक्त सडक खण्डका लागि नगरपालिकाबाट ४० लाख रकम विनियोजन गरिएको थियो । तर योजनाकोे पहिलो किस्ता भुक्तानीमा नै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्न बहादुर घलेले हिनामिना गरेको स्थानीयले आरोप लगाएको छ । पहिलो किस्ता बापतको १८ लाख निकासा भएको थियो ।
योजनाको खातामा जम्मा भएको १८ लाख रकम एकै दिन १० लाख भन्दा बढी रकम लिन नमिल्ने भएपछि अध्यक्ष घलेको नाममा रकम विभाजन गरिएको थियो । घलेले वाणिज्य बैंकबाट लिएको ऋिण नतिरेकाले उनको नाममा रहेको राईस मिल बैंकले लिलाम गरि सकेको थियो ।
योजनाको रकम घलेको खातामा जम्मा भएपछि बैंकले सुरुमा नै २ लाख ५० हजार रकम काटेर १५ लाख ५० हजार मात्रै दिएको दिपक भुजेलले बताए । घलेले उक्त रकम अझै समितिमा बुझाएका छैनन् । यो विषयमा कुरा गर्दा उनले सडक निर्माणका लागि मेसिन सम्झौता गर्दा सो रकम बराबरको व्यक्तिगत खर्च भएको बताए । अध्यक्षले त्यस पछि पनि २ लाखमा योजनाको रकमले नै बाईक किनेको भुजेलले आरोप लगाएका छन् । तर बाइक खरिदमा योजनाको रकम प्रयोग नभएको जनाए ।
यस्तै निर्माण योजनाका सचिव भिम राई व्यक्तिगत कामका लागि दिङ्लामा एक महिनासम्म होटलमा बस्दा भएको खर्च समेत समितिले नै तिरेका छन् । दुई होटलमा २४ र ३८ हजार गरेर ६२ हजार बिल समितिले तिरेको अध्यक्ष घलेले बताए ।
उक्त आयोजनामा प्राविधिकले समेत १० प्रतिशत मागेका थिए । तर समितिले एक लाख ५० हजार दिएको हल्ला भएपछि प्राविधिकले उक्त रकम आयोजनाका सचिवलाई दिएको दिपक भुजेलले बताए । सचिव राईको नाममा तेस्रो किस्ता भुत्तानी गर्दासम्म करिब ५ लाख ६० हजार रकम अनियमितता भएको अध्यक्षले बताए ।
आयोजनाका सदस्य रुद्र तामाङले पनि छोरीलाई काठमान्डौ पठाउने खर्च भनेर ऋिण लगेको ५० हजार अहिलेसम्म नर्फकाएको अध्यक्षले बताए । उक्त सडकको फरफराक समेत भईसकेको छ ।
















