४० लाखको योजनामा १२ लाखभन्दा वढी हिनामिना, अध्यक्षको बैंकको ऋण तिरेको खुलासा

मोहन तामाङ
भोजपुर । दिङला–काभ्रे–खार्ताम्छा–कुदाकाउले सडक खण्ड निर्माण योजनाको रकम निर्माण समितिवाटै लाखौं हिनामिना भएको समाचार आए पछि चाडैं सर्बजनिक सुनुवाइ गर्ने भएको छ । उपभोक्ता समितिका सचिव भिम राईले चाँडै नै सार्वजनिक सुनुवाई गर्ने प्रतिबद्धता जाहेर गरेका छ्न् ।

भोजपुरको षडानन्द नगरपालिकाको वडा नं. २, ३ र ४ लाई जोड्ने उक्त सडक निर्माण तथा मर्मतमा समितिले नै १२ लाख वढी रकम हिनामिना गरेको खुलासा भएको थियो ।

आर्थिक बर्ष २०७४।०७५ बाट उक्त सडक खण्डका लागि नगरपालिकाबाट ४० लाख रकम विनियोजन गरिएको थियो । तर योजनाकोे पहिलो किस्ता भुक्तानीमा नै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्न बहादुर घलेले हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । पहिलो किस्ता वापतको १८ लाख निकासा भएको थियो ।

योजनाको खातामा जम्मा भएको १८ लाख रकम एकै दिन १० लाख भन्दा बढी रकम निकाल्न नमिल्ने भएपछि अध्यक्ष घलेको खातामा पैसा जम्मा गरेको थियो । यता घलेले बाणिज्य बैंकबाट यस अघि ऋण लिएका थिए । बाणिज्य बैंकको दिङला शाखाबाट ३ पटकसम्म पत्र काटे पनि उनले लिएको ऋण नतिरेपछि योजनाको रकम घलेको खातामा जम्मा भएपछि बैंकले सुरुमा नै २ लाख ५० हजार रकम काटेर १५ लाख ५० हजार मात्रै दिएको स्थानिय जानकार दिपक भुजेलले वताए ।

घलेले उक्त रकम अझै समितिमा बुझाएका छैनन् । यो विषयमा कुरा गर्दा उनले सडक निर्माणका लागि स्काईभेटर मेसिन सम्झौता गर्दा सो रकम बराबरको व्यक्तिगत खर्च भएको बताए । अध्यक्षले त्यस पछि पनि २ लाखमा योजनाको रकमले नै बाईक किनेको भुजेलले आरोप लगाएका छन् । तर घलेले बाइक खरिदमा योजनाको रकम प्रयोग नभएको दावि गरे ।

त्यस्तै सडक निर्माण योजनाका सचिव भिम राई व्यक्तिगत कामका लागि दिङ्ला बजारमा एक महिना होटलमा बस्दा भएको खर्च समेत समितिले योजनाको निकासा भएको रकमबाट नै तिरेका खुलेको छ । दुईवटा होटलमा गरेर ६२ हजार विल समितिले तिरेको अध्यक्ष घलेले बताए ।

उक्त आयोजनामा प्राविधिकले समेत १० प्रतिशत लिएको खुलेको छ । तर प्राविधिकले रकम लिएको सार्वजानिक भएपछि प्राविधिकले उक्त रकम आयोजनाका सचिवलाई फिर्ता गरेको जानकार भुजेलले बताए । सचिव राईको नाममा तेस्रो किस्ता भुक्तानी गर्दासम्म ५ लाख ६० हजार बढि रकम अनियमितता भएको अध्यक्षले बताए । आयोजनाका सदस्य रुद्र तामाङ्गले पनि छोरीलाई काठमाण्डांै पठाउने खर्च भनेर सापटी लगेको ५० हजार अहिलेसम्म नफर्काएको अध्यक्ष घलेले बताए । तर तामाङ्ले भने मैले समितीबाट कुनै रकम नलिएका बताए ।

उक्त सडकको फरफाराक समेत भईसकेको छ तर सडकको फरफाराक समेत हचुवाको भरमा भएको स्थानीयले आरोप लगाएका छन् । प्राविधिकले योजनाको काम सम्पन्न भए पछि योजना फरफाराक भएको वताउछन् । षडानन्द नगरपालिकाका योजना शाखाका कर्मचारी राजेश भट्टले विधि सम्मत प्राविधिकवाट पास भएर आएपछि योजना फरफाराक गरिएको वताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।