गुराँसको राजधानी तीनजुरे मिल्के जलजले । तस्बीर/मोहन तामाङ
गुराँसको राजधानी तीनजुरे मिल्के जलजले । तस्बीर/मोहन तामाङ

मोहन तामाङ
संखुवासभा । विश्वको पाँचौं अग्लो मकालु हिमाल देखि विश्वकै सबै भन्दा होचो अरुण उपत्यका, सभापोखरी, पाँच पोखरी, गुफा पोखरी, लाली गुराँसको राजधानी तीनजुरे मिल्के जलजले संखुवासभाका चर्चित पर्यटकीय तथा धार्मिक स्थलहरु हुन् ।

छ्याङ्कुटी डाँडा । तस्बीर/मोहन तामाङ

भौगोलिक विविधताले भरिएको यो जिल्लालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रुपमा लिने गरिन्छ । तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । कुनै पर्व विशेषमा मानिसहरु दुखका साथ ती स्थानमा पुग्ने गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन् ।

संखुवासभालाई जोड्ने वसन्तपुर–चैनपुर सडक र तुम्लीङटार–हिले दुबै सडक हाल जिर्ण रहेका छन् । वर्षायामसँगै करिब तीन महिना यहीँ सडकको दुर्दशाका कारण सवारी आवागमन समेत ठप्प हुने गरेको छ । तर जिल्ला प्रवेश मार्गका रुपमा यी दुवै सडकमा राज्यको अरबौँ रुपैंयाँ रकम बालुवामा पानी सरह भएको छ ।

 गुफापोखरी । तस्बीर÷मोहन तामाङ
गुफापोखरी । तस्बीर÷मोहन तामाङ

पटकपटक कालोपत्रे र मर्मतका नाममा यी सडकमा अरबौं रकम भ्mवाम भएको छ । हवाई मार्गबाट तुम्लिङटार पुग्ने पर्यटक समेत मकालु, गुफा पोखरी लगायत स्थानमा पुग्न सकेका छैनन् । प्रचारको अभावमा धार्मिक महत्वको सभापोखरीबाट समेत संखुवासभाले आम्दानी लिन सकेको छैन ।

विश्वको पाचौं अग्लो मकालु हिमाल । तस्बीर/मोहन तामाङ
विश्वको पाचौं अग्लो मकालु हिमाल । तस्बीर/मोहन तामाङ

चैत–बैशाखमा पर्यटकको मुख्य आर्कषणमा पर्ने गरेको गुरासँको संरक्षीत क्षेत्र तिनजुरे मिल्के जलजले क्षेत्रको फाईदा समेत तेह्रथुमले मात्र लिन सकेको छ । तराईका पर्यटकको रोजाईको टिएम्जे क्षेत्र पुग्न संखुवासभाबाट सडक सुविधा भए पनि स्तरोन्नति नहुँदा त्यस क्षेत्रका लाम पोखरी, गुफा पोखरी लगायतका स्थान ओझेलमा रहेका छन् ।
साथै अरुण नदीको मनमोहक दृश्य, मौसम सफा हुँदा चैनपुर, वसन्तपुर, तुम्लिङटार र धरानसम्मको दृश्य हेर्न मिल्ने भाटभटेनी डाँडा भएता पनि त्यसलाई ध्यानमा राखेर काम गर्न नसक्दा राज्यले यहाँबाट लिन सक्ने आर्थिक फाईदा लिनबाट चुकेको छ ।

सभापोखरी । तस्बीर÷मोहन तामाङ
सभापोखरी । तस्बीर÷मोहन तामाङ

धेरै ताल र पोखरीहरु समेत रहेको जिल्लामा यसको सदुपयोग गरि त्यहाँ सम्म सडक सञ्जाल जोड्न सकियो र पर्यटकीय पार्क र रिसोर्ट बनाउन सकिएको खण्डमा संखुवासभाले अनुहार फेर्नेमा दुई मत नरहेको बिरबहादुर लिम्बुले बताए । पर्यटकिय स्थलहरुको प्रवद्र्धनका लागि मकालु हिरक महोत्सव, सभापोखरी महोत्सव, गुफापोखरी महोत्सव, गुराँस महोत्सव लगायत थुप्रै उत्सवहरु भएपनि निरन्तर प्रचार अभावले यस्ता स्थानहरु ओझेल पर्दै गएको तारा बहादुर बुढाथोकीले बताए ।

विश्वको होचो अरुण उपत्यकामा रहेको तुम्लिङटार विमानस्थल । तस्बीर/मोहन तामाङ
विश्वको होचो अरुण उपत्यकामा रहेको तुम्लिङटार विमानस्थल । तस्बीर/मोहन तामाङ

आन्तरिक र बाह्य पर्यटकका लागि प्रशस्त घुम्ने ठाउँहरु रहेको संखुवासभामा सडकको दुरावस्था हुनु साथै होटल र लजको पर्याप्त सुविधा नहुँदा प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरुबाट फाइदा लिन सकेको छैन । पूर्वाधार व्यवस्थापनमा ध्यान दिन सके यहाँ पर्यटक आगमन बढेर राज्य र स्थानीयले राम्रो लाभ लिन सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।