बनेपा । अखिल नेपाल महिला संघ, काभ्रेपाञ्चोकले ‘बाबुको मुख हेर्ने’ दिन अर्थात् कुशे औंसीको अवसरमा औंसीको अघिल्लो दिन अर्थात् आज बनेपमा रहेको बाैद्ध वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई मिठाइ तथा फलफूल भोजन गराई दोसल्लासहित आदर सम्मान प्रकट गरेको छ ।
संघले भक्तपुर जिल्ला मध्यपुर ठिमी घर भई उक्त आश्रममा बस्दै आउनु भएका लक्ष्मीनारायण श्रेष्ठ, काठमाडौ जिल्ला नैकापकी विणा श्रेष्ठ लगायतका वृद्धवृद्धाहरूलाई मिठाइ तथा फलफूल भोजन गराई दोसल्लासहित आदर सम्मान प्रकट गरेको हो । लक्ष्मीनारायण र विणासँगै आश्रममा अन्य ४ वृद्धवृद्धाहरू स्थानीय विद्यालयको कार्यक्रममा गएको कारण भेट हुन नसकेको आश्रमकी कर्मचारी शर्मिला श्रेष्ठले जानकारी गराइन् ।
तीजको नाममा अनेकन विकृतिहरू फैलिरहेको अवस्थामा समाजमा केही पृथक कार्य गर्नुपर्ने बताउँदै अ.ने.म संघकी अध्यक्ष उषा शिवभक्तिले होटल रेष्टुराँमा दर खानुको सट्टा आफ्नै सन्तानहरूबाट अपहेलित वृद्धवृद्धाहरूलाई केही सेवा गर्न सक्नु नै धर्म हो भन्ने कुरा उल्लेख गरिन् ।
त्यसैगरी सम्मान पछि अ. ने. म. संघकी सह-सचिव अनिता गुरूङले समाजमा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरूले आमाबाबुप्रति गरेको दुर्व्यवहारको वास्तविक कथाले मन दुखाएको बताइन् । तेमालअनलाइनसँगको कुराकानी क्रममा लक्ष्मीनारायण श्रेष्ठले गहभरी आँसु पारेर महिला दिदीबहिनीहरूलाई धन्यवाद दिइरहँदा सबैको मन छोएको थियो ।
रूकु चाैलागाई, गीता रसाइली, उपाध्यक्ष सरिता तामाङ, मनिता तामाङ, शुशिला श्रेष्ठ लगायतका महिला नेतृहरूको उपस्थिति रहेको थियो । कुशे औंसीको दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् ।
रसुवाको वेत्रावतीमा समेत दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ
















