संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाले कामै नगरी बिल पेश गरेको आधारमा रकम भुक्तानी गरेको पाइएको छ । योजनाको अनुगमन नै नगरी समितिले बिल पेश गरेकै भरमा नगरपालिकाले रकम भुक्तानी गरेको पाइएको हो ।
वडा नं. ५ मा सातपत्रे कुलो भत्कीएपछि पाइप खरिद गरिएको भन्दै बिल पेश गरेपछी नगरपालिकाले भुक्तानी दिएको हो । कुलो भत्किएको स्थानमा १ सय ६० एमएमको ६० मिटर पाइप खरिद गरिएको र काम सम्पन्न भएको भन्दै कुलो मर्मतका अध्यक्ष मानसिंह पोख्रेलले ५५ हजार रुपैंयाको बिल पेश गरेका थिए। कर सहित नगरपालिकाले विपद व्यवस्थापन शिर्षक मार्फत ४० हजार ७ सय ३७ रुपैंया रकम भुक्तानी गरेको हो ।
पोख्रेलले चैनपुर नगरपालिका–६ मा रहेको आसिका स्टोर्सबाट पाइप खरिद गरेको तीन ओटा बिलमा १ सय १० एमएमको ६० मिटर पाइप र ४ बोरा सिमेन्ट खरिद गरेको बिल पेश गरेका थिए । तर पोख्रेलले उक्त बिल अनुसार सामग्री खरिद गरेका छैनन् । पोख्रेलका भनाइ अनुसार आर्थिक वर्ष अन्तिम हुन लागेकाले हिसाब मिलाउन आसिका स्टोर्सबाट बिल लिएको बताए। स्टोर्समा १ सय ६० एमएमको पाइप नभएको र गाउँमा रहेको पुरानो पाइप खरिद गर्ने भनी हिसाब मिलानका लागि बिल लिएको पोख्रेले स्वीकारे। तर आसिका स्टोर्सले पोख्रेलले बिल अनुसार पाइप लगेको दाबी गरेको छ।
नगरले कुनै पनि योजनाको अनुगमन नगरी योजना फरफराक र रकम भुक्तानी गर्न नपाईने भएपनि यसमा अनुगमन नगरी नै भुक्तानी गरिएको देखिएको छ उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन समितिमा सबै वडाका वडाअध्यक्ष समितिका सदस्य हुन्छन् । तर यस विषयमा वडाध्यक्ष रामबहादुर तामाले अनुगमन नगरिएको बताए । आर्थिक वर्ष अन्त्यको हतारोले अनुगमन गर्न नभ्याएको अध्यक्षले बताए। नगरपालिकाले विपद व्यवस्थापन शिर्षकबाट रकम भुक्तानी गरेको नगर प्रमुख विपिन राईले बताए। यो आर्थिक वर्षमा समेत नगरपालिकाबाट उक्त कुलो मर्मतका लागि २ लाख रकम विनियोजन भएको छ ।
















