दुध लोप्चन
दक्षिण कोरिया l कोरियाको ठूलो चाड छुसकको अवसर पारेर बृहत अन्तरक्रिया कार्यक्रमको लागि, पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने यहि सेप्टेम्बर २४ तारिखमा दक्षिण कोरिया आउने भएका छन् ।
कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले जानकारी दिएका छन् ।

कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक लाईभ मार्फत भिडियो समेत सार्वजनिक गरेका छन । लामिछानेले फेसबुकमा लेखेका छन “जापान र कोरियामा रहनुहुने दाजुभाई तथा दिदी बहिनिहरु सँग भेट्घाट गर्न र कार्यक्रम समेत तयार गर्न हामी यही सेप्टेम्बेर २१ देखी २६ सम्म जापान र कोरियाका बिभिन्न सहरहरुमा आउने छौ ।”
अभियन्ता श्रेष्ठका अनुसार वहाँ सेप्टेम्बर २४ तारिखमा काभ्रे सम्पर्क समिती तथा धादिङ समाजद्वारा आयोजित रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका–२०१८ मा बिशिष्ट अतिथिको रुपमा सहभागी हुने जानएको छ । साथै उक्त कार्यक्रममा प्रेरणादायी प्रस्तुति (motivational speech) दिने र भ्रमणको उद्देश्य बारेमा जानकारी दिने जनाईएको छ ।
त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट (समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउनु हुनेछ ।
कार्यक्रममा बिशेष गरि देशको समसामयिक बिषय र हामी प्रवाशीहरुको पनि देश सु–शासन समृद्ध तर्फ बिकास गर्न भूमिका जिम्मेवारी सहित नेपालीहरुमा कामको तनाबले हुने डिप्रेसन, नेपाली–नेपाली बिच नै हुने दुर्ब्यवहार, वैमनस्यता, संघ–संस्थाको नाममा हुने अनिमियतता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुनेछ । साथै प्रवासमा बसेर पनि समृद्ध नेपालका लागि के कस्ता रचनात्मक कार्यहरु गर्न सकिन्छ, भ्रष्टाचार र अनिमियतता निर्मूल पार्नको निम्ति सचेत नागरिकको दायित्व र भुमिका के हो त भन्ने जस्ता समसामयिक बिषयमा अन्तरक्रिया हुने जनाईएको छ ।
त्यसैले उक्त दिन दक्षिण कोरियामा रहनुभएका बुद्धिजीवी, विद्यार्थी, पत्रकार, ब्यापारी, ब्यबसायी विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायत सम्पुर्ण नेपालीहरुलाई देशको सच्चा र इमान्दार पत्रकार रवि लामिछानेसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो समस्या वा विचार प्रस्तुत गर्ने मौकालाई सदुपयोग गर्नु हुन अनुरोध गर्दै अभियन्ता श्रेष्ठले भने “कोरियामा यो एउटा उत्कृष्ट प्रभावकारी कार्यक्रम र अभियान बनोस् । सबैको साथ, सहयोग र सहकार्यको आवस्यकता छ । यो हामी सबै राष्ट्र प्रेमि नेपालीहरुको साझा अभियान हो । सबै मिलेर सफल बनाऔं।”
२५ तारिख कै दिन सिधा कुरा जनतासंगको कार्यक्रमको लागि नेपाली समुदायको गुनासो र समस्या सम्बन्धी रिपोर्ट तयार गरिने भएकोले प्रवासमा रहेर हामीले बोकेका समस्याहरू र देशको वर्तमान जल्दाबल्दा समस्याहरु र त्यसको समाधान बारे आफ्नो विचार नेपालकै उत्कृष्ट र प्रभावकारी कार्यक्रम सिधा कुरा जनतासंग मार्फत सम्बन्धित निकायसम्म पुर्याउने सुनौलो अवसरको रुपमा हामीले सदुपयोग गर्नुपर्ने, स्वतन्त्र राष्ट्रप्रेमि नेपाली एकता अभियानका अभियन्ता रामदत्त जोशीले भन्दै थपे “प्रवासमा हामी कहिले कामको तनाव कहिले साथीभाइसँग त अहिले घर परिवारसँगको तनावमा रहेका हुन्छौं । यस्तो बेलामा रवि सरको एक शब्दले पनि हामीलाई धेरै उर्जा दिन सक्छ । त्यसैले यस्तो मौका कसैले गुमाउन चाहदैनन् भन्ने मलाई लाग्छ ।”
त्यस्तै २६ तारिखका दिन लामिछाने किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । २५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन आयोजकले कुनै शुल्क नलाग्ने जनाएका छन ।
पत्रकार रबि लामिछाने पछिल्लो समय सर्वसाधारणको समस्या देखी राष्ट्रिय स्तरका ठूल्ठूला समस्याको बिषयमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण मात्र नगरी त्यसको समाधानको पहल समेत गर्दै आएका एक निडर पत्रकारको रुपमा स्थापित भैसकेका असल र कुशल ब्याक्तित्व हुन् ।
स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको कार्यक्रम तयारीमा दक्षिण कोरिया आउन लागेका रबि लामिछाने कोरियाको कार्यक्रमको सम्पुर्ण पहल प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ l
सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गर्ने भएका छन ।
























