दुध लोप्चन,
दक्षिण कोरिया । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) र तामाङ पत्रकार संघ शाखा दक्षिण कोरियाले एक दिने आधारभूत समाचार लेखन तालिम कोरियाको राजधानी सउलमा अाइतबार सम्पन्न भएको छ ।
यी दुइ शाखाले संयुक्त आयोजनामा अाधारभूत समाचार लेखन अन्तर्गत तालिम सञ्चालन गरेको हो । समाचार लेखनको यहाँ बढ्दो अनलाइन न्युज पोर्टल संचालन र पत्रकारितामा रुचि धेरैको रहेकाले तालिम आयोजना गरेको आयोजक संस्था तामाङ पत्रकार संघ कोरियाका सचिव राजिब घिसिङले तालिमको सुरुवातमा जानकारी गराएको थियो ।
पत्रकार बाला राई, गोकुल थोकर र डम्बर सुब्बाको मुख्य बिषयगत रुपमा भएको तालिममा अनलाइन पोर्टल संचालक, समाचार रिपोर्टर र विभिन्न संस्थाका प्रतिनिधिहरु गरि ४५ जना सहभागितामा रहेको थियो ।
पत्रकार बाला राईले नेपालबाट सन् २००२ देखि प्रकाशनमा आएको राष्ट्रिय दैनिक पत्रिका अन्नपुर्ण पोष्टमा (२००२ -२०११) सम्म पत्रकारिता क्षेत्रमा काम गरेकी अनुभवसहित फिचर समाचार लेखन बारे प्रशिक्षण दिएका थिइन् । उनी हाल फोनिजकोरिया डटनेटको प्रधान सम्पादक हुन् ।
पत्रकार गोकुल थोकरले नेपाल हुँदा डकुमेन्ट्री निर्देशन, उत्पादन र विभिन्न रेडियो र पत्रपत्रिकामा लामो समय काम गरिसकेका अनुभवसहित समाचार लेखन, समाचारको भाषा लगायत बिषयमा प्रशिक्षण दिए । थोकर अहिले फोनिजकोरिया डटनेटका सम्पादक हुन् ।
त्यसैगरी लामो सयमदेखि दक्षिण कोरियामा रहेर पत्रकारिता गरि रहेका पत्रकार डम्बर सुब्बाले कोरियामा नेपाली मिडिया शिर्षकमा प्रशिक्षण दिएका थिए । अहिले उनी यमडब्लु टिभीमा कार्यक्रम उत्पादन गर्नुका साथै नेपाली कोरिया डट कम अनलाइनको प्रधान सम्पादक पनि हुन् । त्यस्तै टेलिभिजन सम्बन्धी पत्रकार सिमा लामा र रेश्मा राईले प्रशिक्षण दिएको थियो ।
तालिमको समयपछि औपचारिक कार्यक्रममा भएको थियो । औपचारिक कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष मल्लिका थकालीले सबै मिलेर विदेशमा भएका युवाहरुले गरेको कामले निक्कै हौसला मिलेको बताइन् । `यो कार्यक्रम निक्कै प्रभावकारी छ´ उनले भनिन् `भोलीका दिनमा पनि यस्तो कार्यक्रम गर्दा अझ राम्रो हुन्छ ।´तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।
तालिममा सहभागि धेरैले यस्तो तालिमले अाफ्नो लेखनमा प्रत्यक्ष प्रभावकारी हुने भएकोले समय–समयमा गरेमा हाम्रो उपस्थिती रहने र यो तालिमबाट समाचार लेखनसम्बन्धी राम्रो ज्ञान हासिल गरेको बताएको छ ।
`फोनिज´ कोरिया शाखा २०१३ मा कोरियामा स्थापना भएको हो । तामाङ पत्रकार संघ कोरिया शाखा २०१८ मा स्थापना भएको हो । दुई संस्थाले संयुक्त तालिम आयोजना पहिलो पटक गरेको हो ।