‘अबको शिक्षा भरणपोषण सहितको निःशुल्क र अनिवार्य’ –संघीय सांसद बमध्वज
तेमाल । तेमाल गाउँपालिकाले माध्यमिक परिक्षा–२०७४ मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
वालदिवसको उपलक्ष्यमा शुक्रबार एक कार्यक्रमकाबीच तेमाल गापाभरिको विद्यालयहरुबाट छनौट गरि विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
सम्मान संघीय सांसद गंगाबहादुर तामाङ र गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले गरेका थिए ।
जनचेनता मावि तेमालकै उत्कृष्ट
तेमाल गाउँपालिका वडा नं. १ मा रहेको जनचेतना मावि तेमाल गापाकै उत्कृष्ट विद्यालय भएको छ । तेमाल गापामा रहेको १० वटा माध्यमिक विद्यालयहरु मध्यबाट यस विद्यालयका नविन बाँस्कोटाले २०७४ सालको एसईई परिक्षामा सबैभन्दा राम्रो नम्बर ल्याएका थिए ।

को–को भए सम्मानित ?
छात्र तर्फ श्री जनचेतना मावि तेमाल–१ का नविन बाँस्कोटा प्रथम, जनज्योती मावि तेमाल–८, भोज्र्याङका देवराज थपलिया द्वीतिय र तृतीयमा भुमे माविका विशाल तामाङ र जनज्योति माविका प्रदीप मैनाली रहेका छन् ।

त्यसैगरि छात्रातर्फ जनज्योति मावि तेमाल–८, भोज्र्याङकी इस्मिता लामा, प्रथम भएका छन् भने, दोस्रोमा भुमे मावि तेमाल–३ का सविना तामाङ, तेस्रोमा जनज्योति माविकै तिर्सना तामाङ भएका छन् ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष सलामसिं तामाङ र संघीय सांसद गंगाबहादुर तामाङले संयुक्त रुपमा सम्मान पत्रका साथ नगद पुरस्कार समेत प्रदान गरिएका थियो ।

समाजवाद उन्मुखको लागि निःशुल्क शिक्षाः बमध्वज
कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले अबको शिक्षा विधेयकमा अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको बताए ।

‘एकजना पनि वालवालिकाालाई पढ्नबाट बञ्चित गराएमा र बालश्रम शोषण भएको खण्डमा राज्यले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने कानून आउँदैछ ।’ उनले भने, ‘एउटा किताब दिंदैमा, सिसा कलम दिंदैमा, एउटा व्याग दिदैमा निःशुल्क शिक्षा हुँदैन । त्यसैले उसको लागि भरणपोषण सहितको निशुल्क शिक्षा दिन आवश्यक छ ।’

सांसद बमध्व्जले विद्यार्थीलाई एउटा किताब दिंदैमा संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख देश बनाउन नसक्ने बताउँदै यस अघिको सरकारले गरेको कामलाई निरन्तरता नदिई नयाँ ढंगले बघि बढ्नुपर्ने बताए ।
गुणस्तरीय शिक्षाको लागि संझौता हुन्न
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सलामसिं तामाङले वालवालिकाको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेकोले यसको लागि कुनै पनि संझौता गर्न नसक्ने बताए । ‘जसरी हुन्छ गुणस्तरीय शिक्षा कायम गर्ने र अगाडि बढाउने कुरा हुन्छ ।’ उनले भने ।

कार्यक्रममा उपाध्यक्ष दुर्गामाया तामाङ, मुख्य प्रशासकीय अधिकृत सरिता लामिछाने, शिक्षा शाखा प्रमुख भोज कुमार शाह, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिवालय सदस्य खड्गबहादुर लामा, नेपाल शिक्षक महासंघका तेमाल गापा अध्यक्ष कुवाङ्च्यु लामा, तेमाल गाउँपालिकाका सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालय विव्यसका अध्यक्ष तथा प्रअहरुको उपस्थिति रहेका थिए ।
















