मोहन तामाङ
संखुवासभा । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका–९ सभाखोला आसपासमा संचालनमा रहेको सभा क्रसर उद्योग बन्द गरिएको छ ।

वन कार्यालयले सभाखोला आसपासमा अवैध रूपमा भएका दुईवटा क्रसर उद्योग सिल गरेको छ । सामुदायिक वनले खोलानाला र वन वातावरणको क्षेत्रमा प्रभाव पारेको भन्दै आपत्ति जनाउँदै जिल्ला वन कार्यालयलाई जानकारी गराएपछि क्रसर उद्योग वन्द गरिएको जिल्ला वन कार्यालय संखुवासभाका सहायक वन अधिकृत हेमन्त पराजुलीले बताए । तुम्लिङ्गटारमा रहेको अरुणसभा सामुदायिक वन र चैनपुर नगरपालिकाभित्र पर्ने सामुदायिक वनले खोलानाला र वन वातावरणको क्षेत्रमा प्रभाव पारेको भन्दै आपत्ति जनाएका थिए ।

संखुवासभामा लामो समयदेखि खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका क्षेत्रमा पर्ने दुईवटा क्रसर उद्योग संचालनमा रेहेका थिए। केही दिनअघि जिल्ला वन कार्यालय र सरोकारवाला नियकाहरूका प्रतिनिधिहरूले स्थलगत अनुगमनपछि क्रसर उद्योगमा सिलबन्दी गरेका हुन् । वन कार्यालयले पटकपटक क्रसर उद्योग सञ्चालकलाई सम्पूर्ण काजजातहरू कार्यालयमा पेस गर्न पत्राचार गरे पनि उनीहरूले अटेर गरेर बसेका सहायक वन अधिकृत पराजुलीले बताए । उनीहरूको क्रसर सञ्चालन गर्ने केही वैधानिक कागजात नभएको पाइएकाले क्रसर उद्योग बन्द गरिएको जिल्ला वन कार्यालय जनाएको छ । वन तथा वातावरण ऐनअन्तर्गत सामुदायिक वन क्षेत्रभित्र वातावरणलाई प्रभाव पार्ने गरी क्रसर उद्योग सञ्चालन गर्न नपाइने प्रावधान छ ।

सहयक अधिकृत पराजुलीका अनुसार, संघीय संरचनाको नियमअनुसार कुनै पनि नगर क्षेत्रभित्र क्रसर उद्योग सञ्चालन गर्न पाइँदैन । विकास निर्माणका ठूलो आयोजनाहरू सञ्चालन गर्नका लागि निश्चित अवधीको लागि मात्रै क्रसर उद्योग जिल्लामा सञ्चालन गर्न पाउने नियम छ। उक्त नियमलाई आधार बनाएर चैनपुर–टुटेदेउराली सडक निर्माण गरिरहेको रौटा निर्माण कम्पनीले कच्चा पदार्थ उत्पादनका लागि भन्दै क्रसर उद्योग सञ्चालन गरेका थिए। खोलामा क्रसर उद्योग नै सञ्चालन गर्न भनेर कुनै पनि मन्त्रालय र सरकारी कार्यालयहरूले अनुमति दिने नियम नभएको वन कार्यालयको भनाइ छ । क्रसर उद्योग सञ्चालन गर्ने कानुनी रूपमा कुनै नियम नभएको उनले बताए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।