काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपाली कामदारसहित १५ जनाको मृत्यु भएको छ। सोमबार मलेसियाको क्लाङ भ्याली क्षेत्रमा विषाक्त मदिरा सेवन गरेकाहरूमध्ये ३३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय संचार माध्यमले जनाएका छन्। पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या १५ पुगेको छ।
स्थानीय प्रहरी अधिकारलाई उद्धृत गर्दै ‘द स्टार’ले मृत्यु हुने नेपाली धेरै रहेका बताएको छ। तर द स्टारले मृत्यु हुने नेपाली कामदारको संख्या भने खुलाएको छैन। उक्त घटनामा अन्य ३३ जना गम्भीर बिरामी परेका छन्, जसमध्ये १९ जनाको पहिचान खुलेको छ। पहिचान खुलेकामध्ये १५ जना नेपाली कामदार, दुई जना मलेसियाली र दुई जना बंगलादेशका नागरिक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनीहरूको मलेसियाको क्लाङ भ्यालीस्थित विभिन्न अस्पतालमा उपचार हुँदै छ।
उनीहरूले मनडलाय ह्विस्की, किंग फिसर बियर र ग्रान्ड रोयल ह्विस्की सेवन गरेका थिए, जुन स्थानीय विभिन्न पसलबाट खरिद गरिएको थियो। सांघाई बुलोहमा रहेका २२ बिरामीमध्ये सात जनाको मृत्यु भएको छ। गोमाक अस्पतालमा उपचाररत पाँच जनामध्ये चार जनाको मृत्यु भएको छ भने काजाङमा उपचाररत १९ मध्ये चार जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। प्रहरीका अनुसार मदिरा सेवनपछि उनीहरू बान्ता हुने समस्या देखिएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























