विपी राजमार्ग दायाँ–बायाँका टहरो भत्काउन शुरु

काभ्रे । विपी राजमार्ग अन्तर्गत पर्ने डकको दायाँबाँया मापदण्ड विपरित निर्माण भएको टहरोहरु भत्काउने क्रम जारी रहेको छ ।

धुलिखेल नगरपालिकाअन्तर्गत ७, ८, ९ र ११ बिपी राजमार्ग अन्तर्गत पर्ने सडक दायाँबायाँको ५५ वटा घरटहराहरू भत्काएको जिल्ला प्रहरी कार्यालय काभ्रेले तेमाल अनलाइनलाई जानकारी दिएको छ ।

नेपालथोक–धुलिखेल सडकखण्ड ४ अन्तर्गतका दायाँबायाँ १५–१५ मिटरभित्रका घर, टहरा तथा होर्डिङ बोर्डहरू सोमबारबाट भत्काउन सुरु गरिएको थियो । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाई र जिल्ला प्रहरी कार्यालयको सहयोगमा धुलिखेल नगरपालिका–७ हस्पिटल चोकबाट सडक अतिक्रमण गरी बनाएका टहरा तथा संरचनाहरू भत्काउन थालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए ।

अहिलेसम्मा कहाँ कहाँ र कति भत्काइयो ?

प्रहरी उपरिक्षक खड्काका अनुसार सोमबार धुलिखेल नगरपालिकाको वडा ७ हस्पिटल चोकबाट सो नगरपालिकाको वडा ११ पात्लेखेतसम्म गरी ५५ वटा घर तथा टहराहरू, होडिङ बोर्ड ६५ वटा र शौचालय १८ वटा भत्काइएको छ ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका निमित्त आयोजना प्रमुख राकेश महर्जनले काभ्रे र सिन्धुली जिल्लाको सिमानासम्म तोकिएको मापदण्डभित्रका घर टहरा तथा संरचनाहरू सबै हटाउने बताए ।

कति टहरो भत्काउनुपर्ने छ त ?

उक्त राजमार्गअन्तर्गत पर्ने धुलिखेल नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको गरी ४ सय ८६ घर तथा टहराहरू भत्काउनु पर्ने सडक आयोजनाले जनाएको छ । त्यसको लागि सम्बन्धित वडा अध्यक्षहरूलाई सम्पूर्ण जानकारी पठाईसकेको र उनीहरूले सम्बन्धित घररटहरा धनीलाई जानकारी गराएर सो कार्य सुरु गरेको निमित्त आयोजना प्रमुख महर्जनले बताए ।

टहरो भत्काएपछि स्थानीय आक्रोशित

धुलिखेल नगरपालिका–७ का स्थानीय गंगा थापाले भत्काउनु अघि सामान समेत निकाल्न नदिई भत्काएको भन्दै आक्रोस पोखे । ‘नियमअनुसार भत्काउने ठाउँमा सामान सार्न त सकिन्थ्यो ।’ उनले भने, ‘तर पाकेको खाना र एक–एक रुपैयाँ गरी कमाएको धनसमेत ध्वस्त हुने गरी पेलेरै अमानवीय व्यवहार देखाएर प्रहरी लगाएर डोजर चलायो ।’

धुलिखेल अस्पताल चोकका अनिल श्रेष्ठले जग्गा सडक मापदण्डभित्र परेको भने पनि पहिला सर्वेक्षण गरेको ठाउँभन्दा भित्रबाट सडक निर्माण गरी आफ्नो भएको जग्गासमेत सबै गुमाउन बाध्य बनाएको गुनासो गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।