-धर्मचन्द्र योञ्जन तामाङ

लेखक

सन् १७२२ मा शाह वंशीय राज–खानदानमा जन्मेका पृथ्वीनारायण शाह जब सन् १७४२ मा राजगद्दीको हकदार भए त्यसपछि गोर्खा साम्राज्य निर्माण गर्ने सङ्कल्प गरे । पृथ्वीनारायण शाहले आफ्नै शासनकालमा बाइसे र चौबीसे राज्यहरुमाथि आफ्नो गोर्खा साम्राज्य निर्माण गर्ने सङ्कल्प अनुसार निर्ममतापूर्वक आक्रमण गरे र आफ्नो सङ्कल्प अनुसार गोर्खा राज्यलाई विस्तार गरी गोर्खा साम्राज्य निर्माण गर्न सफल पनि भए । पृथ्वीनारायण शाहको यही गोर्खा राज्य विस्तार अर्थात् नेपाल एकीकरणको माध्यमबाट एउटा सुन्दर देश निर्माण गर्ने एकलजातीय सोचका कारण कतिपय आदिवासी जनजातिहरुको अस्तित्व नै लोप भएर जाने अवस्थामा पुग्यो ।

जब सन् १७७४ मा पृथ्वीनारायण शाहको मृत्यु भयो, त्यसपछि उनका छोरा प्रतापसिह शाहले राजगद्दी सम्हाले । जङ्गबहादुर राणाको उदय हुनुभन्दा अगाडिसम्म शाह वंशीय राजाहरुको एकछत्र राज थियो । जङ्गबहादुर राणाको उदयसँगै जहानियाँ राणा शासन शुरु भयो तत्पश्चात् शाह वंशीय राजाहरु अधिकार र भुमिकाविहिन हुनपुगे ।

कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरुको अस्तित्व त लोप हुदै थियो नै सन् १९५० अर्थात् वि. स. २००७ सम्मको जहानियाँ अधिनायकवादी राणा शासनले त आदिवासी जनजातिहरुलाई राज्यको आधारभुत शासनप्रणालीमा मात्रै नभएर उनीहरुको धार्मिक, भाषिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अधिकारमाथि पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरी दाससरह शोषण र दमन ग¥यो । जङ्गबहादुर राणाकै समयमा वि. स. १९१० मा प्रथमपटक जारी भएको मुलुकी ऐनमा वैधानिक रुपमा नै आदिवासी जनजातिहरुलाई मास्न मिल्ने र नमिल्ने भनेर वर्र्गीकरण गरिएको थियो ।

आदिवासी जनजातिहरुमाथि गरिएको दमनको एउटा प्रमाण हो कथति राष्ट्रिय पर्व दशैं । जसलाई एकात्मक हिन्दुवादी राज्य सत्ताको बागडोर सम्हाल्ने शासक र मिडियाहरु “हिन्दुहरुको महान पर्व” को हवाला दिदैं कान पाक्ने गरी सञ्चार माध्यमहरुमा कुर्लिरहेका हुन्छन् । वास्तवमा भन्ने हो भने दशैं कहाँ, कोबाट, कहिले र कुन प्रयोजनका लागि शुरु भएको हो भन्ने प्रामाणिक आधार कहिकतै भेटिएको छैन ।

हिन्दुहरुले धर्मशास्त्रको रुपमा मान्ने किंवदन्तीमा आधारति अयोध्याका राजा दशरथचन्द्रका छोरा राजकुमार रामचन्द्र र लङ्काका राजा रावणका वीचमा भएको युद्घको वर्णन गरिएको रामायणका कथा सुनाइन्छ दशैंको शुरुवात यसरी भयो भनेर । रेडियो नेपालमा दुर्गा सप्तसतीको कथामा आधारति नाटक सुनाइन्छ । रामायण होस् या दुर्गा सप्तसती, हिन्दु भनाउँदाहरु आफुलाई राम र दुर्गा पक्ष ठान्छन् र तिनै राम र दुर्गाको जीतको बखानमा दशैं मनाइएको पाइन्छ ।
आदिवासी जनजातिहरुको आफ्नै धर्म, भाषा, लिपि, संस्कृति र संस्कार थियो ।

कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरुको अस्तित्व त लोप हुदै थियो तर पनि उनीहरु आफ्नै धर्म, संस्कृति र संस्कार अनुसारका मौलिक चाडपर्वहरु मनाउने गर्थे । जब वि. स. १९१० मा प्रथमपटक मुलुकी ऐन जारी भयो तत्पश्चात् दशैं नमान्ने आदिवासी जनजातिहरुलाई सार्वजनिक स्थलमा उभ्याएर फाँसी वा आजीवन काराबासको कठोर सजाँय दिइन्थ्यो । अग्रजहरु बताउनुहुन्छ – शासकहरुले दशैं मनाएको प्रमाण देखाउनका लागि हिन्दु पात्रो अनुसार फूलपातिको दिनदेखि नवमीको दिनसम्म रागा, बोका, हाँस र कुखुरा काटी आ–आफ्नो घरको मूल ढोकाको दायाँ–वायाँ भित्तामा हातको पञ्जा देखिने गरी रगतको छाप लगाउनु पर्ने बाध्यकारी नियम आदिवासी जनजातिहरु माथि लादियो । तर यो नियम हिन्दुहरुलाई लाग्दैन थियो ।

यहाँनेर प्रश्न उठ्छः— हिन्दुहरुले फूलपातिको दिनदेखि नवमीको दिनसम्म रागा, बोका, हाँस र कुखुरा काटी आ–आफ्नो घरको मूल ढोकाको दायाँ–वायाँ भित्तामा हातको पञ्जा देखिने गरी रगतको छाप लगाउनु नपर्ने तर अहिन्दु आदिवासी जनजातिहरुले लगाउनु पर्ने बाध्यकारी नियम लगाइयो किन ? राष्ट्रिय पर्व अर्थात् चाड हो भने किन हिन्दुहरुको महान चाड भनेर मिडियाबाजी गरिन्छ ? अनि राष्ट्रलाई आर्थिक घाटा हुनेगरी एक हप्तासम्मको राष्ट्रिय विदा दिइन्छ, आखिर के—का लागि ? यि र यस्ता थुप्रै प्रश्नहरुको उत्तर खोज्ने प्रयास हामी आदिवासी जनजातिहरुले कहिल्यै गरेनौं ।

दशै आयो हिन्दुहरुको महान पर्व, तिहार आयो हिन्दुहरुको महान पर्व, तीज आयो हिन्दु नारीहरुको महान चाड । के हिन्दुहरुले मनाउने चाडपर्वहरु मात्रै राष्ट्रिय पर्व हो ? सबै जातजाति र धर्माबलम्बीहरुले मनाउने पर्वहरु राष्ट्रिय पर्व हुन सकेनन् किन ? यहि हो सबै जातको साझा फूलबारी ? यिनै प्रश्नहरुको उत्तर खोज्ने क्रममा आदिवासी जनजातिहरुको तमाम चाड–पर्व र संस्कृतिहरु मनाउनका लागि विदा नदिने तर हिन्दुहरुको चाड–पर्व दशैँ–तिहारलाई मात्रै राष्ट्रिय चाडको रुपमा सरकारी÷सार्वजनिक विदा दिने गरेको पाइन्छ ।

यसरी राज्य सत्तादेखि समाजसम्म पनि विविध कसिमिले अहिन्दु आदिवासी जनजातिहरुको चाड–पर्व र संस्कृतिहरुलाई बहिष्करणमा पार्दै संवैधानिक एवं कानूनी रुपमा भइरहेको शोषण र दमनको कारण उत्पीडनमा परेको आदिवासी जनजातिहरुले धर्मनिरपेक्ष राज्यको माग गरे । संविधानमा नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनिएको छ तर पनि हिजोको जस्तै हैकमवादी शोषण र दमनको घटना अझै यदाकदा घटिरहेको पाइन्छ । आदिवासी जनजाति माथि राज्यले गरेको शोषण र दमनको इतिहास अध्ययनले आज कसैलाई दशैं नमनाउन प्रेरित गर्छ र गरिरहेको छ । अनि जातीय अहङ्कारले ग्रसित अतिहिन्दुवादी मानसकिता बोकेका पण्डितहरुको हैकमवादी एवम् स्वार्थपूर्ण चिन्तन अङ्गिकार गरिएको दशैं बहिस्कार गर्छ ।

हिन्दुहरुको महान पर्व एवम् राष्ट्रिय चाड भन्नाले यहाँ हिन्दुहरुको मात्र बसोबास छ भन्ने बुझाउँछ । यहि हिन्दु समाजमा माथि उल्लेख भएको राम र रावणको युद्घकथामा भनिए झैं रावणलाई शक्तिच्युत गरिसके पश्चात् विजयको खुशियालीमा दशैं पर्व मनाउन थालेको बताइन्छ । राम र रावण अनि महाशक्ति स्वरुपा भगवती दुर्गाको कथालाई महान मान्दै आफुलाई राम र दुर्गाको सन्तान मान्नेहरु अझै अरु आदिवासी जनजातिहरुलाई जङ्गली सोचिहेका हुन्छन् । कहिले आदिवासी जनजातिहरु जङ्गली हुन् भन्ने कहिले हिन्दुहरुको महान पर्व एवम् राष्ट्रिय चाड भन्ने शब्दको प्रयोगले तामाङ, गुरुङ, मगर, राई, लिम्वु, थकाली, चेपाङ, थारु, धिमाल लगायतकारु आदिवासी जनजातिहरुले दशैं पर्वलाई बहिस्कार गर्दै जान थालेका छन् ।

यसरी दशैं पर्व त्याग्दै जाने क्रममा किन दशैं आदिवासी जनजातिहरुको पर्व बन्न सकेन ? आदिवासी जनजाति तामाङ समुदायको ‘म्हेनङ’ पर्वमाथि दशैं पर्व कसले, कसरी, कहिले र किन खप्ट्याइएको थियो ? भन्ने प्रश्न उब्जिरहेको अवस्थामा अन्य समुदायको मौलिक चाडपर्व माथि पनि दशैं खप्ट्याइएको इतिहास बाहिर आइरहेको होला र अवश्य पनि आउनुपर्छ । तथ्यगत रुपमा माथि उल्लेखित प्रश्नको उत्तर प्राप्त गर्न नसकेसम्म अर्थात् अलिखित इतिहासलाई एउटा मूर्त इतिहासको रुपमा दरबारको चाकरीमा लेखिएका कालो इतिहास सामू दरविलो तरिकाले पेश गर्न नसकेसम्म आदिवासी जनजातिहरुलाई सधैं अन्योलताले सताइरहने छ । तसर्थ दरबारबाट निर्देशित कथित इतिहासकारहरुले लेखेका ती दरबारिया चाकरीवादले भरिपूर्ण इतिहास सही थियो वा गलत ? आजका अनुसन्धानकर्ता, लेखक, पत्रकार एवम् सचेत समुह तथा व्यक्तिहरुले गम्भिर ढङ्गले केलाउन जरुरी छ ।

दरबारबाट निर्देशित कथित इतिहासकारहरुले लेखेका ती दरबारिया चाकरीवादले भरिपूर्ण इतिहासलाई युग पाठकले ‘माङ्गेना’ मा गलत रहेको दावी गरेका छन् । लेखक पाठकले परम्परागत गलत इतिहासको ‘माङ्गेना’ मार्फत जसरी चिरफार गर्ने प्रयास गरेका छन्, त्यसरी नै भरपुर अध्ययनसहित खोज–अनुसन्धान गरेर दशैं लगायतका हिन्दु पर्वको नाममा आदिवासी जनजातिहरुको थुप्रै मौलिक चाडपर्वहरुमाथि चरम दमन गरिरहेको इतिहासलाई बाहिर ल्याउन आवश्यक छ । तामाङ समुदायले परापूर्व कालदेखि मनाउँदै आइरहेको ‘म्हेनङ’, ‘ग्होने ङ्ह्या’ र ‘नाम्दुङ ङ्ह्या’ आदि मौलिक पर्व हिन्दुको दशैं, जनै पूर्णिमा र चैत्र पूर्णिमा जस्ता चाडपर्वमा विलिन हुन पुगेका छन् । तामाङहरुको ‘म्हेनङ’, ‘ग्होने ङ्ह्या’ र ‘नाम्दुङ ङ्ह्या’ जस्तै अन्य आदिवासी जनजातिहरुको थुप्रै मौलिक चाडपर्वहरु पनि कुनै न कुनै नामको चाडपर्वको नाममा नामेट पारिएका होलान्, यसतर्फ आदिवासी जनजातिहरुको ध्यान जानुपर्छ ।

वास्तवमा ‘म्हेनङ’ तामाङ समुदायले महान पर्व (चाड)को रुपमा मनाउनु भन्दा अगाडिदेखि नै गणना गर्दै आइरहेको तामाङ महिनाको नाम हो । यसलाई तामाङ स्थान विशेष ‘म्हेनङ’ र ‘म्हेनिङ’ भनि उच्चारण गर्ने गरिएको पाइन्छ । जे जसरी उच्चारण गरिए तापनि ‘म्हेनङ’ तामाङ समुदायले गणना गर्ने नवौँ महिनाको नाम हो । यसले सुर्य पात्रो अनुसारको अशोज र कार्तिक महिनाको आधा–आधा भेट्छ ।(मोक्तान, २०७२)

चन्द्र पात्रोनुसार तामाङ भाषमा महिनाको नामः १. ख्रेला, २. बेने, ३. नाम्दुङ, ४. दुगु, ५. ड्वाफ्रे, ६. बेल्बो, ७. ग्होने, ८. यन्दे, ९. म्हेनङ, १०. सोङराती, ११. बोइतापा र १२. तापा हुन् ।

विशेषगरी कथित नेपाल एकीकरणको कारण कतिपय आदिवासी जनजातिहरुको अस्तित्व त लोप हुदै थियो, त्यस पछि जङ्गबहादुर राणाले प्रथमपटक वि. स. १९१० मा मुलुकी ऐन जारी गरे तदनुरुप दशैं नमान्ने आदिवासी जनजातिहरुलाई सार्वजनिक स्थलमा उभ्याएर फाँसी वा आजीवन काराबासको कठोर सजाँय दिन थालियो । विविध तवरले २०४६ अघिसम्म पनि ‘म्हेनङ’ माथि हिन्दु सत्ताले पूर्णतः दशैं लादेको थियो ।

इतिहासकारहरुको मतानुसार नेपालमा विकसित हुदै गइरहेको बौद्घ धर्मलाई अवरोध गर्न भारतबाट शंकराचार्यलाई भित्¥याइएको थियो । शंकराचार्यको सल्लाह अनुसार बौद्घ आचार्यहरुलाई हटाएर हिन्दु पात्रो अनुसार वेद पाठ गर्ने संस्कारको विकासलाई टेवा दिन थालियो भने बौद्घ धर्म ग्रन्थ र पात्रोहरु जलाउन लगाइयो । त्यसैको असर आजसम्म पनि परेको छ, त्यही कारणले आज बौद्घ धर्माबलम्वी तामाङ समुदायमा चन्द्र पात्रो अर्थात् बौद्घ पात्रोको ज्ञान छैन । बौद्घ पात्रोको ज्ञान नभएको र पात्रो उपलब्ध हुन नसकेकै कारणले पनि तामाङ लगायतका आदिवासी जनजातिहरु सुर्य पात्रो अबलम्बन बाध्य भए । सुर्य पात्रो अबलम्बन गर्दै जादाँ कालान्तरमा अशोज महिना ‘म्हेनङ’ को पर्यायवाची हुन पुग्यो ।

तामाङ राज्य तेमालको राजा ह«ेञ्जेन दोर्जे बलको शासन समयमा पृथ्वीनारायण शाहका गोरखाली सेनाका कमाण्डर जयकृष्ण कुवँरले धेरै पटक आक्रमण गरेको इतिहासकारहरु बताउँछन् । अन्तमा केही सीप नलागे पछि म्हेनङ मनाउने तयारी गरिरहेका ह«ेञ्जेन दोर्जे बललाई मितेरी साइनो गासेर अगाडि बढ्न आवश्यक रहेको बताउँदै निशस्त्र सुनकोशी नदी किनार तेमालबेशीमा दवै पक्ष उपस्थित हुनको लागि समाचार पठाए । ह«ेञ्जेन दोर्जे बल पनि सोही अनुरुप केही घोडचढी सहयोगीहरु सहित तेमालबेशी गए । कुवँरले बलसँग मित लगाउने बाहाना गर्दागर्दै हातहतियार प्रयोग गरी वि. स. १८१९ अशोज २ मा ह«ेञ्जेन दोर्जे बलको गोरखाली सेनाले हत्या ग¥यो । यसरी म्हेनङ मनाउ तयारिमा रहेका आफ्ना राजा ह«ेञ्जेन दोर्जेको हत्या भएसगै रानीले पनि दहमा पनि देह त्याग गरिन । यो इतिहासलाई कुन तामाङको छोराछोरीले नसम्झेला ?

अशोज महिना ‘म्हेनङ’ को पर्यायवाची ठान्नु गलत थिएन किनकी यो सब एकलजातीय सोचका कारण भएको थियो । तथापी पञ्चायती शासन व्यवस्थाको अन्त्यसंगै प्रायः आदिवासी जनजातिहरु आ–आफ्नो पहिचानको खोजी गर्न अग्रसर हुन थालेका हुन् । बहुदलीय व्यवस्था लागु भएपछि उठेको दशैं बहिस्कारको आवाज अझ बुलन्द हुन जरुरी छ । हुन त ‘म्हेनङ’ माथि हिन्दु सत्ताले पूर्णतः दशैं लाद्न खोजे पनि तामाङ समुदायले ‘म्हेनङ’ मानिरह्यो । उसले ‘म्हेनङ’ मा कहिल्यै दुर्गाको पूजा गरेन, राम र रावण बीचको युद्घ वर्णन रामायण गाएन ।

यद्यपी केही यस्ता तामाङहरु पनि देख्न सक्छौ, जो ठूला–ठूला आदर्शको कुरा गर्छ, टुडिखेलमा भाषण छाँट्छ तर मित लगाउने बाहाना गर्दागर्दै हातहतियार प्रयोग गरी वि. स. १८१९ अशोज २ मा ह«ेञ्जेन दोर्जे बलको गोरखाली सेनाले हत्या गरेको इतिहास बिर्सन्छ । यसरी म्हेनङ मनाइरहेका आफ्ना राजा ह«ेञ्जेन दोर्जेको हत्या गरेको इतिहासलाई कुल्चेर जयकृष्ण कुवँरले ह«ेञ्जेन दोर्जेकै रगतमा मुछेको चामलका गेडा निधारमा टाँस्छ, त्यसैमा गर्व गर्छ र छाती फुलाउँछ भने त्यसले आफ्नै इतिहास बिर्सिरहेको छ, स्वयम् आफुलाई बिर्सदैँ छ ।

अब आदिवासी जनजाति तामाङ समाजमा तात्कालीन राज्य व्यवस्थाले जबरजस्त लादेको ह«ेञ्जेन दोर्जेकै रगतमा मुछेको चामलका गेडा निधारमा टाँसेर दशैं मनाउने परम्परा अन्त्य हुन जरुरी छ । त्यसका लागि आजका अनुसन्धानकर्ता, लेखक, पत्रकार एवम् सचेत समुह तथा व्यक्तिहरुले गम्भिर ढङ्गले केलाएर बाहिर ल्याइएको तथ्यपरक इतिहास गाउँ, टोल अनि बस्तीमा रहेका युवाहरु माझ पु¥याउन आवश्यक छ ।

हामी अझै दरबारको चाकरी गर्दै लेखिएका वा दरबारको चाहाना अनुसार लेख्न बाध्य पारिएका काला इतिहासमा नै रुमल्लिरहेका छौँ । हामी अब हरेक कुरामा रचनात्मक हुनुपर्छ । हामी किन पछि प¥यौँ, किन पछि परिरहेका छौँ भन्ने कुरा बुझ्न र बुझाउन आवश्यक छ । अनि हामीले यो पनि बुझ्न जरुरी छ— इतिहाँस बलियाहरुको पक्षमा लेखिएको छ, बलियाहरुबाट आफ्नो स्वार्थ पूर्ति गर्न सकिने लालसामा इतिहासकारहरु फसे र उनिहरुकै चाकरीमा इतहिास लेखे । के कमजोरहरुको त्यो इतिहास निर्माण गर्नमा कुनै हात थिएन ? उनीहरुको इतिहाँस लेखिनुपर्छ कि पर्दैन ?

हिन्दु समाजमा व्याप्त रहेको माथि उल्लेखित राम र रावणको युद्घकथा र मित लगाउने बाहाना हातहतियार प्रयोग गरी वि. स. १८१९ अशोज २ मा गोरखाली सेनाले ह«ेञ्जेन दोर्जे बलको हत्या गरेको इतिहास उस्तै लाग्छ, दुवै घटना बाहानामै भएका थिए । हाम्रा लागि ९ दिने रक्तरञ्जित युद्घ र विजया दशमीको टिका ह«ेञ्जेन दोर्जेको रगतमा मुछेको चामलका गेडा सिवाय अरु केही होइन ।

अन्ततः यसपालीको ‘म्हेनङ’ वा ‘म्हेनिङ’ ले सम्पूर्ण देशवासीहरुमा सुख–शान्ति एवम् संमृद्घिको बहार छाओस् । तामाङहरुले ह«ेञ्जेन दोर्जेको रगतमा मुछेको चामलका गेडा निधारमा टाँस्न छाडेर आफ्नो धर्म र संस्कृतिमा रमाउन सकून् साथै सबैले स्वतन्त्रतापूर्वक आफ्नो चाड–पर्व मनाउन पाउन्, कसैको धर्म र संस्कृतिमाथि खिसीटिउरी गर्ने प्रचलन अन्त्य होस् सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ! ! !

Comments

comments