काभ्रे । काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि हामी नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छौं ।
यो साइकल यात्रा असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा आयोजना गरिएको हो । साइकल यात्रामा करीब ५ सय जना साइकल यात्रीको सहभागिता रहनेछ । यात्राबाट संकलित रकम गंगालाल अस्पताललाई प्रदान गरिने योजना रहेको छ ।
युवाहरुमा समेत मुटुरोग बढ्दो रहेकाले उनीहरुलाई सचेत बनाउने र जनसमुदायलाई समेत मुटुरोगबाट बच्नका लागि सन्देश बाँड्दै साइकल यात्रा गरिने कार्यक्रम रहेको छ ।
साइकल यात्रा ललितपुरको मंगलबजारबाट सुरु भई २४ किलोमीटर पार हुने छ । साइकल यात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नाला गुम्बा हुँदै नालास्थित सुप्रसिद्ध भगवती मन्दिरमा पुगेर समापन हुनेछ ।
पहिलो पटक आयोजना गरिएको साइकल यात्रामा ‘नालाका लागि पाउदानी, मुटुका लागि पाउदानी(पेडल फर नाला, पेडल फर हर्ट)’ नारा रहेको छ ।
साइकल यात्रालाई काभ्रे जिल्ला साइक्लिङ एसोसियसन, कन्सेप्ट नेपाल, पन्चबाइक, नेपाल माउण्टेन बाइकलगायतले सहयोग गरेका छन् । प्रवेश शुल्क ५ सय रुपैंया राखिएको छ । यसबाट सहभागीलाई टिसर्ट, प्रमाणपत्र, खानाका साथै सांस्कृतिक कार्यक्रमसमेत रहेको छ ।