मंगलबजारदेखि नालासम्म साइकल यात्रा सम्पन्न

बनेपा । विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ः पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ ।

ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए । यीनमा ८ वर्षका सुयोग बस्नेतदेखि ६५ वर्षका इन्द्र कर्माचार्य सहभागी थिए ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नालाछाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो । चण्डेश्वरी माविमा नालावासीले साइकल यात्रीलाई सगुनसहित स्वागत गरेका थिए । सहभागीहरुको स्वागतका लागि बनेपा वडा नं ३ र ४ का वडाध्यक्षहरु समेत उपस्थित थिए ।

उग्रचण्डी भगवती मन्दिरमा आयोजित कार्यक्रममा संरक्षण ब्याण्डको प्रस्तुति रहेको थियो । सोही अवसरमा जी व झिगु नाला समूहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साइकल यात्राबाट संकलित रकमबाट खरीद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

मुटु रोगबारे युवाहरुमा जनचेतना जगाउने र प्राचीन शहर नालालाई बढीभन्दा बढी जनसमुदायसम्म पु¥याउन पहिलो पटक साइकल यात्रा आयोजना गरिएको श्रेष्ठको भनाई छ । समूहले चाँडै नै गंगालाल अस्पतालको सहयोगमा नालामा मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम र रोग परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।क

Comments

comments