चितवन । पूर्वी चितवनको भण्डारामा हिजो (बुधबार देखी प्रथम राप्ती गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको समुद्घाटन खेलमा अभिषेक चर्च रजहरले विजयी सुरुवात गरेको छ । हर्दी युवा समाजको आयोजनामा भण्डारा माविको चौरमा भएको गोल्डकपको युवा स्पोर्टस विरुद्धको उद्घाटन खेलमा रजहर विजयी भएको हो ।

दोश्रो हाफको १४ मिनेट सकिन बाँकी रहँदा रजहरले गरेको गोल वीरगंजले अमान्य हुने बताएपछि रजहरलाई विजयी घोषित गरिएको थियो ।

बाहिरबाट बल तानेर गोल गर्दा समेत रेफ्रीले गलत निर्णय गरेको भन्दै बीरगंजले अमान्य हुने बताएर खेल छाडेपछि रजहरलाई विजयी घोषित गरिएको गोल्डकपका संयोजक विकास मोक्तानले जानकारी दिए ।

तिन जना विदेशी खेलाडीसहित मैदान उत्रिएको वीरगंजले पहिलो हाफ गोलरहित बराबरी गरेको थियो ।

गोल्डकपको दोश्रो खेलमा भोली (विहीबार) एभरेष्ट क्लव भरतपुर र वीरगंज युथ एकेडेमीबीच प्रतिस्पर्धा हुने संयोजक मोक्तानले बताए ।

हर्दी युवा समाजका अध्यक्ष शम्भु विकको अध्यक्षता तथा प्रदेश नम्वर ३ का युवा तथा खेलकुद मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो ।

एपिएफ क्लवसहित १४ टिमको सहभागीता रहेको गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ प्रशिक्षकलाई जनही ५ हजारका दरले पुरस्कृत समेत गरिने क्लवका अध्यक्ष शम्भु विकले बताए ।

Comments

comments