चौंरीदेउराली । प्रादेशिक सांसद रत्न ढकालले कोशिपारीका बाटोहरु अर्को वर्षदेखि पिचको प्रक्रियामा जाने बताएका छन् ।
शनिबार नेपाल शिक्षक महासंघ चौंरीदेउरालीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले उक्त कुरा बताएका हुन् ।
‘कोशीपारिका सडकहरु अब स्तरोन्नति होइन अर्को वर्षदेखि पिचको प्रक्रियामा जानेछ ।’ सांसद ढकलाले भने, ‘हामीले निर्वाचनमा प्रतिबद्धता जाहेर गरे अनुसार काम गर्नेछु ।’
श्रमप्रति माया गर्ने शिक्षा आवश्यकता
मुलुकको शिक्षा श्रम प्रति माया गर्ने खालको नभएको प्रति सांसद ढकालले चिन्ता व्यक्त गरे । ‘शिक्षा लाई व्यवस्थित नबनाइ आर्थिक समृद्धि सम्भव छैन ।’ उनले भने, ‘त्यसैले श्रमप्रति माया गर्ने र राष्ट्रिय भावनाले ओतप्रोत हुनेखालको शिक्षा दिन आवश्यक छ ।’
कम्तिमा सबै माध्यमिक बिद्यालयलाई प्राविधिक शिक्षामा जोड्नै पर्ने बताउँदै सांसद ढकालले आफूहरु यसको लागि लागेको बताए ।
उनले अहिलेको राजनीतिक स्थायित्वलाई सदुपयोग गर्न सकेन भने सिङ्गो नेपाल नै असफलता तिर जाने संभावना रहेको बताउँदै मुलुकलाई असफल बनाउन बैदेशिक शक्ति केन्द्र लागिरहेको प्रष्ट पारे ।
















