प्रकाश तामाङ
मकवानपुर । जिल्लाको राक्सिराङ गाउँपालिकामा समुदाय–प्रहरी पालिका समिति गठन गरेको छ । पालिका स्तरीय कार्यक्रमहरु सञ्चालन गर्न तथा पालिका अन्तर्गतका संरचना र कार्यक्रमहरुको योजना, समन्वय, अनुगमन तथा मुल्यांकन गर्नका लागि समुदाय–प्रहरी पालिका समिति गठन गरेको गाउँपालिकाले जनाएको छ ।
राक्सिराङ गाउपालिका र ईलाका प्रहरी कार्यालय मनहरिको संयुक्त प्रयासमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गठन भएको यस समिति १७ सदस्यीय रहेको छ । समितिको संयोजकमा राक्सिराङ गाउँपालिका अध्यक्ष राज कुमार मल्ल, सह–संयोजकमा राक्सिराङ गाउपालिका उपाध्यक्ष निर्मला हिम्डुङ,सदस्य सचीवमा प्रहरी निरीक्षक बिरेन्द्र पनेरु तथा सदस्यहरुमा राक्सिराङ गाउँपालिका–८ का वडा अध्यक्ष राम कृष्ण प्रजा, संचार सदस्य तेमाल अनलाइनका सम्बाददाता तोक बहादुर तामाङ (प्रकाश), बिजय कुमार काप्री, राजन मल्ल, चित्र बहादुर थापा, हरि बहादुर प्रजा, एलिना प्रजा, जयकान्त प्रजा, राजकुमार स्याङ्तान, प्रकाश ठकुरी, केशर भारती, फत्त बहादुर घिमिरे, नवराज थिङ र शुशिला थिङ रहेका छन् ।

कार्यक्रम राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले हरेक नागरिकलाई शान्ति सुरक्षाको अति नै आवश्यक्ता भएकोले समुदाय र प्रहरी बिचको साझेदारीमा प्रहरी समुदाय कमिटी गठन गरेका बताउँदै हरेक अन्याय र अत्याचारलाई पुर्ण रुपमा निर्मुल पार्न बर्दी लाउने प्रहरीको मात्रै दायित्व नभई हरेक सचेत नागरिकको उत्तिकै भुमिका हुने बताए । समितीले निरन्तर राम्रो काम गर्दै जानेमा उनले प्रतिबद्धता जाहेर गरे ।
अध्यक्ष मल्लले समुदाय–प्रहरी पालिका समिती गाउपालिका स्तरमा मात्र नभई हरेक वडा र बिद्यालय स्तरमा गठन गरिने बताए ।
यस्तैगरि ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिरेन्द्र पनेरुले प्रहरी–समुदाय पालिका समिति गठन गर्नुको मुल उद्देश्य नै अपराधलाई न्यूनीकरण गर्नु रहेको बताए । कार्यक्रममा सामाजिक सरोकारवाला, पत्रकार, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि लगायतका उपस्थिति रहेका थिए ।















