रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापको भागबण्डा करिब करिब मिलेको छ ।
पार्टी एकीकरण भएको छ महिना वितिसक्दा समेत जिल्ला कमिटी, स्थानीय तहको कमिटी लगायतका जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अगाडि बढन सकेको छैन् । स्थानीय तहमा पार्टी एकीकरणको काम अगाडि बढ्न नसक्दा स्थानीय सरकारको काम समेत प्रभावकारी नभएको गुनासो बढेपछि प्रदेश कमिटीले पूर्व एमाले र पूर्व माओवादी केन्द्रका पूर्व पदाधिकारी र रामेछापका केन्द्रीय सदस्यहरुलाई नै स्थानीय तहको एकता प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो ।
प्रदेशले जिल्लाका पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई स्थानीय तहको कमिटीको एकता प्रक्रिया टुंगो लगाउन निर्देशन दिइसकेको छ, तर नेताहरुले जाँगर नदेखाएको एक नेताले बताए ।
स्थानीय तहको भागबण्डा यस्तो छः
नेकपाका एक नेताका अनुसार रामेछापको आठ वडा स्थानीय तह र ६४ वटा वडाको नेतृत्व कसले लिने भन्ने विषयमा पूर्व दुई पार्टीबीच लिखित सहमति भएको छ । ती नेताका अनुसार आठ वटा स्थानीय तहमा पाँच वटामा पूर्व एमाले र तीन वटा स्थानीय तहमा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्नेछ ।
उनका अनुसार मन्थली नगरपालिका, लिखु तामाकोसी गाउँपालिका, खाँडादेवी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा पूर्व एमाले र रामेछाप नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिकामा पूर्व माओवादी केन्द्रले नेतृत्व गर्ने समझदारी भएको छ । पूर्व एमालेले अध्यक्ष पाएको स्थानीय तहमा पूर्व माओवादीले सचिव पाउने छ ।
नेकपाको नेताहरुबीच ६४ वटामा जसले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएको उसलै नेतृत्व लिनेछ । कांग्रेसले जितेको वडामा भने आधा–आधा लिने समझदारी भएको बताइएको छ । पार्टीको अन्तरिम विधान अनुसार नगरपालिकामा ८१ सदस्यीय र गाउँपालिकामा ७५ सदस्यीय बन्ने छन् ।















