बोम्जन गुरुङ ।

सौल, दक्षिण कोरिया । तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार/ल्होछार मनाउने भएको छ ।  खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो ।

“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगु शहरको सुविधा सम्पन्न हल “मेईल गार्डेन हल”मा ल्होसार/ल्होछार मनाउने तीव्र तयारी भईरहेको तमु धीं दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष हर्क गुरुङले जानकारी दिए । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसार/ल्होछारको कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण एवं सम्बर्द्वनमा प्रत्यक्ष टेवा पुग्नेमा सोही संस्था सम्बद्व सचिव बिल गुरुङ बताउँछन् ।

यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । “बुझें मैले नि”, “नाकमा झुम्के बुलाकी”, “नौ रङ्गी सपना”, “सालैजो” लगायत थुप्रै लोक तथा दोहोरी गीतमा आफ्नो सुमधुर आवाज दिईसकेकी र गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)का नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गर्न समेत भ्याएकी कलाकार गुरुङले ल्होसारको रौनकता र माहौललाई पूर्ण मनोरञ्जनात्मक बनाउनेमा आयोजकको दावी छ । बहु प्रतिभाशाली कलाकार गुरुङले नेपालका विभिन्न गाउँ, शहरका मेला महोत्सवहरुमा सयौं स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईसकेकी उनि कार्यक्रमको शिलशिलामा एक दर्जन जति विदेश भ्रमण समेत गरिसकेकी छिन् ।

यसै वर्ष गठित तमु धीं दक्षिण कोरिया थेगु शाखाद्वारा पहिलो पटक आयोजना हुन गइरहेको यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशनबाट आनन्दित हुने अवसर दर्शकहरुले प्राप्त गर्नेछन् । यस कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२:०० बजेदेखि ०७:०० बजेसम्म हुने कार्यक्रम संयोजक गणेश गुरुङले जानकारी गराएका छन् ।

आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको छ । यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१८ डिसेम्बर ३० तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो-ल्होसार/ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरिया थेगु शाखाले कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।

तमु ल्होसार/ल्होछार कार्यक्रम तपसिल :

मिति : २०१८ डिसेम्बर ३० तारिक आइतबार ।
समय : दिउँसो ठीक १२:०० बजेदेखि बेलुकी ०७:०० बजेसम्म ।
स्थान : 대구공역시 중구 계산동 2가 71 본지 매일 시문사 11층 (मेइल गार्डेन हल)

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।