प्रदेश ३ ले बिजुली बस ल्याउने, बजेट ३० करोड

हेटौडा । ३ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बराबरको विद्युतीय बस खरिद गर्ने भएको छ । ३ नम्बर प्रदेश सरकारले बिद्युतीय बस सञ्चालनको प्रक्रिया तत्काल सुरु गर्ने विषयमा आज हेटौंडामा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेड र काठमाडौं महानगरपालिकाका संगको सहकार्यमा विद्युतीय बस सेवा यसै आर्थिक वर्षबाट सञ्चालनमा ल्याउने तयारी अगाडि बढाएको छ ।

सर्वपक्षीय छलफलले बस सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । प्रदेश सरकारले यस आर्थिक बर्षमा ३० करोड रुपैयाँ र काठमाडांै महानगरपालिकाले दशकरोड रुपियाँ बराबरको बिद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने समेत सहमति भएको छ । त्यसैगरी ३ नम्बर प्रदेश सरकारले सुशासन र शून्य सहनशीलता कायम गर्न भ्रष्टाचार निवारण सम्बन्धि रणनीति बनाउने भएको छ ।

आज बसेको ३ नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले भ्रष्टाचार निवारणका लागि प्रदेश रणनीतिक मस्यौदा २०७५ स्वीकृत गरेको हो । मन्त्रिपरिषद्को बैठकले उद्योग पर्यटन तथा वन मन्त्रालयको प्रस्ताबमा प्रदेश औद्योगिक व्यवस्थापन सम्बन्धि विधेयक २०७५ र संयुक्त बजार अनुगमन निर्देशिका २०७५ लाई आगामी प्रदेशसभाको बैठकमा पठाउने निर्णय गरेको ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

Comments

comments