बोम्जन गुरुङ,
सउल, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो पटक पनि तमु ल्होसार मनाउने तयारी तीव्र पारेको छ । खी-ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै २०१९ जनवरी ०६ तारिक आइतबारका दिन दक्षिण कोरियाको राजधानी सउल शहरको सुविधा सम्पन्न हल “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल”मा ल्होसार/ल्होछार मनाउने तीव्र तयारी भईरहेको तमु धीं दक्षिण कोरिया केन्द्रिय कार्यसमितिका अध्यक्ष जित गुरुङले जानकारी दिए । संस्था सम्बद्व व्यक्तित्वहरुको बृहत भेलाले कार्यक्रमको लागि कलाकार छनौट, हल व्यवस्थापन, साँस्कृतिक समिति, खानपिन व्यवस्थापन समिति तथा विभिन्न उपसमिति गठन कार्यलाई उच्च प्राथमिकता राख्दै तमु (गुरुङ) समुदायको महान् पर्व फो-ल्होसार/ल्होछारको तयारी तीव्र पारिएको हो ।
यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाई मोहित बनाउने कुरामा आयोजक ढुक्क छ । गुरुङ सँस्कृतिमा आधारित चलचित्र डिठ्ठा (मुखिया)का नायिका साथै थुप्रै म्यूजिक भिडियोमा मोडलिङ गर्न समेत भ्याएकी कलाकार गुरुङले ल्होसारको रौनकता र माहौललाई पूर्ण मनोरञ्जनात्मक बनाउनेमा आयोजकको दावी छ ।
साथै, यस कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहित छैंडु नाच, लोपोन्मुख घाँटु तथा मारुनी नृत्य र कौरा नृत्य जस्ता बेजोड साँस्कृतिक प्रस्तुति साथै हाँस्य प्रहशनबाट आनन्दित हुने अवसर दर्शकहरुले प्राप्त गर्नेछन् । यस कार्यक्रममा रमाईलो जमघट सँगै स्वादिष्ट नेपाली परिकारको व्यवस्था गरिने र कार्यक्रम दिउँसो १२:०० बजेदेखि ०७:०० बजेसम्म हुने संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले जानकारी गराएका छन् ।
यस ल्होसार/ल्होछार कार्यक्रमलाई अति सभ्य र भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नको लागि आन्तरिक रुपमा ब्यापक तयारी भईरहेको छ । गत आइतबार तमु धींको सेल्टरमा बसेको दोश्रो बृहत बैठकले विविध विषयमा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरेको छ । जस अन्तर्गत खाना व्यवस्थापन तर्फ एक गुरुङको संयोजकत्वमा पुर्ण गुरुङ, चित्रकुमारी गुरुङ र दल गुरुङ, आर्थिक व्यवस्थापन तर्फ रुपा गुरुङ र नरेन्द्र गुरुङको संयोजकत्वमा लक्ष्मी गुरुङ र होम गुरुङ, प्रवेशद्वार स्वागत तर्फ बिपना गुरुङको संयोजकत्वमा ललिता गुरुङ र रीथ गुरुङ, आमन्त्रित कलाकार व्यवस्थापन तर्फ हिमानी गुरुङको संयोजकत्वमा सबिन गुरुङ र पुरन गुरुङ, भिडियो तथा फोटो व्यवस्थापन तर्फ रेखे गुरुङ र देवेन्द्र गुरुङ , प्रचारप्रसार र मिडिया तर्फ लेसन गुरुङको संयोजकत्वमा रेखे गुरुङ र बोम्जन गुरुङ, अतिथि स्वागत सत्कार व्यवस्थापन तर्फ ईन्द्रराज गुरुङको संयोजकत्वमा प्रितम गुरुङ र भिम गुरुङ “लमजुङ” लगायत रहेका छन् ।
आमन्त्रित अतिथि तथा दर्शकहरुको उत्साहजनक उपस्थितिको अपेक्षासँगै कोरियामा रहेका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई निमन्त्रणा-पत्र पठाउने र प्रचार-प्रसार तीव्र पारिएको छ । यदि सूचना वा पत्र प्राप्त नभए तमु धींको आधिकारिक फेसबुक सूचनालाई आधार मानेर २०१९ जनवरी ०६ तारिक आइतबारका दिन उपस्थित जनाई तमु (गुरुङ) फो-ल्होसार/ल्होछार कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन र सो दिनमा अन्य कार्यक्रम नजुधाईदिन तमु धीं दक्षिण कोरियाले कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध समेत गरेको छ ।
तमु ल्होसार/ल्होछार कार्यक्रम तपसिल :
मिति : २०१९ जनवरी ०६ तारिक आइतबार ।
समय : दिउँसो ठीक १२:०० बजेदेखि बेलुकी ०७:०० बजेसम्म ।
स्थान : AW कन्भेन्शन सेन्टर (हारिमगाग)
[AW (컨벤션 센타 하림각)]
























