२६ मंसिर २०७५,
काभ्रे । तामाङ चलचित्र संघ नेपालद्वारा अन्तर्राष्ट्रिय तामाङ सम्मेलनका लागि विभिन्न देशहरुबाट नेपाल आएका प्रतिनिधिहरुसंग परिचयात्मक तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
मंसिर २८, २९ र पौष १ गते भारतको मिरिकमा हुने सम्मेलनको लागि प्रवासमा रहेका तामाङ नेपालीहरु नेपाल आएका छन् ।
कार्यक्रममा तामाङ सोसाईटी अफ क्यालिफोर्नियाका पूर्व अध्यक्ष कुमार दोङ, तामाङ समाज बेल्जियमका गोपी मोक्तान, तामाङ समाज ओमनका दावा साङमो योञ्जन, बहराइन तामाङ सेवा समाजका अध्यक्ष सोनाम दोङ, नेपाल तामाङ घेदुङ साईप्रसका पूर्व अध्यक्ष नानू गोम्ज, नेपाल तामाङ घेदुङ युकेका रेशम लामा योञ्जन, नेपाल तामाङ घेदुङ साउदि अरबका महासचिव नबराज घिसिङ तामाङ, जापान तामाङ समाजका अस्मिता वाइबा, तामाङ समाज युएईका रबिन थिङ तामाङ, कुवेत घेदुङका बरिष्ठ उपाध्यक्ष डि.बि. लोप्चन, तामाङ समाज कतारका कमल योञ्जन तामाङ, काभ्रे सेवा समाज मलेसियाका उर्गेन थोकर तामाङ लगायत उपस्थिति थिए।
उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ विदेश विभाग प्रमुख टासी लामाले विश्वभर छरिएर रहेको तामाङहरुलाई चलचित्रको मध्यमबाट पनि एक सन्देश दिन सक्ने साथै तामाङ चलचित्रका लागि पनि नेपाल भन्दा पनि अन्य देशमा बसोबास गर्ने तामाङहरुले मनपराई दियो भने, बजार राम्रो हुने बताए ।
कार्यक्रममा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत कुमार सुनारले मिरिकमा हुने तामाङ सम्मेलनले तामाङ एकताको सन्देश दिन सक्यो भने ताम्सालिङ भूमि प्राप्त गर्न सकिने बताए ।
यसै गरी तामाङ चलिचत्र संघका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति बिकु थोकरले विदेशमा हुने कार्यक्रमहरुमा चलचित्र कर्मिहरुलाई स्थान दियो भने चाहेको जस्तो प्रस्तुति दिन सक्ने बताएका थिए । कार्यक्रम सञ्चालन संस्थाका महासचिव जयन कुमार मोक्तानले गरेका थिए ।
























