यस्तो छ अन्तर्राष्ट्रिय तामाङ परिषद् मिरिक घोषणा पत्र२०१८

अन्तर्राष्ट्रिय तामाङ परिषद् मिरिक घोषणा पत्र-२०१८

सन् २००२ मा स्थापित अन्तर्राष्ट्रिय तामाङ परिषद्को यस अघि सम्पन्न तीनवटा सम्मेलनहरूबाट विभिन्न मितिमा जारी घोषणा-पत्र तथा चौथो सम्मेलनबाट पारित विशेष प्रस्ताव र प्रस्तुत प्रतिवेदनको मूल भावनालाई आत्मसात् गर्दै, आदिम थलो नेपालको ताम्सालिङ क्षेत्रबाट विभिन्न कारणले संसारभरि फैलिएका तामाङ जातिको पुख्र्यौली भूमिमा विकसित विशिष्ट साँस्कृतिक पहिचान (भाषा, धर्म, संस्कृति, परम्परा)लाई एकरूपता दिने सामूहिक प्रतिवद्धता जनाउँदै, विश्वब्यापी रूपमा आदिवासी समुदायमाथि बढ्दै गइरहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय साँस्कृतिक अतिक्रमण तथा विश्व भूमण्डलीकरणबाट तामाङ साँस्कृतिक धरोहर (ताम्बा, लामा र बोन्बो)हरूको मौलिक ज्ञान, परम्परालाई बचाउने साझा संकल्प गर्दै, तामाङ समुदायको एकताको आधार अन्तर्राष्ट्रिय तामाङ परिषद् (ITC)लाई सबैको एकमात्र साझा समन्वयकारी संस्थाको रूपमा विकास गर्न यसलाई समयानुकूल चलायमान, गतिशील तथा बहुपदीय प्रणालीमा लाने सामूहिक अठोट गर्दै, इतिहासको विभिन्न कालखण्डमा समुदायको अस्तित्व रक्षाका खातिर तामाङ अग्रजहरूले निस्वार्थ रूपमा बगाएको रगत, पसिना र ऐतिहासिक योगदानको उच्च कदर गरी अग्रजले देखाएको बाटोमा निरन्तर हिंड्ने सामूहिक प्रण गर्दै, हामी विश्वभर फैलिएर रहेका तामाङ आदिवासी जनजातिहरू अखिल भारतीय तामाङ बौद्ध संघको आतिथ्यतामा भारतको मिरिकमा सम्पन्न ऐतिहासिक चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट निम्न सामूहिक प्रतिवद्धताका साथ मिरिक घोषणा पत्र-२०१८ जारी गर्दछौ :
१. तामाङहरूको साझा सभ्यताको विकास भएको आदिम थलो नेपालको ताम्सालिङ भूमिलाई तामसालिङ प्रदेश निर्माण र तामाङ भाषा, लिपिलाई सरकारी कामकाजी भाषाको मान्यता दिलाउन संघीय नेपालको तीन नम्बर प्रदेशलाई राजनीतिक, सामाजिक आन्दोलनको केन्द्रबिन्द बनाइनेछ । साथै तामाङ भाषा, लिपि, सोनाम ल्होछार पर्व तथा तामाङ संस्कृतिलाई स्थापित गर्न तामाङ बसोबास रहेको सबै राज्य सरकारलाई दबाब, आग्रह दुवै गरिनेछ ।
२. तामाङ जातिको मुख्य साँस्कृतिक धरोहर (ताम्बा, लामा, बोन्बो) को संरक्षण तथा तामाङ मौलिक ज्ञान, साहित्यको प्रवर्द्धन गर्नका लागि सम्बन्धित राष्ट्र सदस्य संस्था र सम्बन्धन सदस्य संस्थाको व्यवस्थापनमा परियोजनागत रूपले कार्यक्रम सञ्चालन गर्नेछ । तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित साँस्कृतिक पुनर्जागरण अभियानलाई पुनः निरन्तरता दिइनेछ ।
३. तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व माघ शुक्लपक्ष प्रतिपदाको दिनको सम्बन्धमा देखिएको भ्रम अन्त्य गर्न अन्तर्राष्ट्रिय तामाङ चन्द्रपात्रो निर्धारण समिति गठन गरिनेछ । सो समितिले सबै गणित तथा फलित जोतिषशास्त्र र तामाङ परम्परा तथा मान्यताको अध्ययन गरी ल्हो फिर्ने प्रत्येक वर्ष माघ शुक्लपक्ष प्रतिपदाको दिन तोक्ने र समितिले प्रकाशन गरेको मञ्जुश्री सम्वत्मा आधारित पात्रोलाई सबै ठाउँमा प्रचलनमा ल्याउन आवश्यक समन्वय गर्नेछ ।
४. तामाङ भाषाको प्रवर्द्धन गर्न र समुदायको शैक्षिक अवस्थामा थप सुधार ल्याउन शैक्षिक सहयोग कोषलाई छुट्टै कार्यविधि बनाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ । तामाङ विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा अभिप्रेरित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै तामाङ भाषा विद्यालय, तामाङ-अंग्रेजी-नेपाली यान्त्रिक अनुवाद सफ्टवेयर, तामाङ अनलाइन कोर्स र नमूना विद्यालयहरू समेत सञ्चालन गरिनेछ ।
५. तामाङको आर्थिक अवस्थालाई मजबुत बनाउन संसारभरि फैलिएर रहेका तामाङको पूँजीलाई एकीकृत गर्ने, यसको लागि परिषदको विगतमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूबाट जारी घोषणापत्र बमोजिम सहकारीको माध्यमबाट तामाङ स्व-विकास र समृद्धिका निश्चित योजनाहरू अघि बढाइनेछ ।
६. तामाङमाथि आइपर्ने विभिन्न खालको मानवीय तथा दैवी बिपति र दुःखमा सहयोग पु-याउन अन्तर्राष्ट्रिय स्तरमा तामाङ विपत व्यवस्थापन कोष खडा गरिनेछ र एक नियमावली बनाई सम्बन्धित सदस्य राष्ट्र संस्थाको सिफारिसमा परिषदले विभिन्न विपत्मा सहयोग उपलब्ध गराउनेछ ।
७. राज्यपक्ष वा गैर राज्यपक्षबाट तामाङ समुदायमाथि व्यक्तिगत, सामुदायिक रूपले समय समयमा हुने, गरिने सबैखाले शोषण, अन्याय, विभेदको बिरूद्ध संसारको तामाङहरू बिना पूर्वाग्रह एकठाउँमा उभिएर प्रतिरोध तथा संघर्ष गर्नेछ ।
८. अन्तर्राष्ट्रिय तामाङ परिषद्को पहलमा भगवान् बुद्धको जन्मभूमि लुम्बिनीमा गुम्बा निर्माणको लागि अखिल भारतीय तामाङ बौद्ध संघको नाममा नेपाल सरकारबाट जग्गा प्राप्त भइसकेको हुँदा उक्त जमीनमा अन्तर्राष्ट्रिय तामाङ गुम्बा तथा धर्मशाला निर्माण गर्न एक स्वायत्त संस्थाको रूपमा “अन्तर्राष्ट्रिय तामाङ गुम्बा निर्माण समिति गठन गरी काम अघि बढाइनेछ ।
९. अन्तर्राष्ट्रिय तामाङ परिषद्को सचिवालय स्थायी रूपमा नेपालमा रहने र तामाङ समुदायको ऐतिहासिक आदिम भूमि समेत नेपालको ताम्सालिङ क्षेत्र रहेको हुँदा नेपाल तामाङ घेदुङको व्यवस्थापनमा तामाङको धार्मिक, साँस्कृतिक सबैखाले विविधता झल्किने तामाङ साँस्कृतिक भवनका लागि परिषद्ले आवश्यक जग्गाको व्यवस्थापन तथा निर्माण कार्यको पहल गर्नेछ ।
१०. तामाङहरूको स्थायी, अस्थायी बसोबास रहेको विभिन्न राष्ट्रहरूमा तामाङ जातिको साझा संगठन निर्माणको लागि पहल गर्नुका साथै विभिन्न देशमा विविध कारणले विभाजनको अवस्थामा रहेको तामाङ संघसंस्थाहरूलाई क्षेत्रीय समन्वय समितिको पहलमा एकता गर्दै लगिनेछ ।
११. अन्तर्राष्ट्रिय तामाङ परिषदको सचिवालय काठमाडौंमा रहने हुँदा परिषद्को कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ । साथै परिषद्को कार्यालयलाई संसारमा रहेको तामाङ संघ/संस्थाको सूचना केन्द्रको रूपमा विकास गरी आवश्यक साझा सामाग्रीहरू प्रकाशन गर्दै जानेछ ।
१२. अन्तमा, अन्तर्राष्ट्रिय तामाङ परिषदको ऐतिहासिक चौथो सम्मेलनको आतिथ्यता गरी महत्वपूर्ण सहयोग पु-याएकोमा अखिल भारतीय तामाङ बौद्ध संघ परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Comments

comments