- दिनेश लामा
जातको अवधारणाः
जातलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वव्यापी विभिन्न मूल्य मान्यता, दृष्टिकोण तथा सिद्धान्तहरु स्थापित छन । नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक देशमा जात र जातीलाई हेर्ने, बुझ्ने, र व्याख्या गर्ने विभिन्न दृष्टिकोणहरु रहेका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँ १२५ जातजाती, १२३ भाषाभाषी र ८ प्रकारका धर्मावलम्बीहरु बसोबास गर्दछन् । त्यसैले यहाँका जातजाती, भाषाभाषी तथा संस्कृति सम्बन्धि अध्ययन अनुसन्धान गर्न विश्वका धेरै अनुसन्धानकर्ताहरु यहाँ आएका छन ।
जातको व्याख्या विश्लेषण विभिन्न दृष्टिकोणबाट गरेको पाईन्छ । विशेष गरी धार्मिक साँस्कृतिक दृष्टिकोण र समाजशास्त्रीय दृष्टिकोणबाट जातलाई परिभाषित गरेको विषयलाई यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । सामान्यतः जात भन्नाले वंश÷जन्मका आधारमा प्रचलनमा आएको मानिसको वर्ग वा सामाजिक तह भन्ने बुझिन्छ । जहाँ कुनै विशेष वंशमा जन्म लिएको आधारमा समाजमा उसको स्थान र भूमिका निर्धारण हुन्छ । वंशको आधारमा समाजमा मानिसहरु विभाजित हुन्छन र उनीहरुको सामाजिक सम्बन्ध, सामाजिक प्रतिष्ठा, असमान तथा उच्च–निच्च र शुद्ध–अशुद्धको तहहरु निर्माण हुन्छन् ।
नेपाली समाजमा जात निर्माणको धार्मिक तथा साँस्कृतिक ऐतिहासिक पृष्ठभूमी हेर्ने हो भने यो हिन्दु दर्शनमा आधारित मनुले लेखेको हिन्दुहरुको आचारशास्त्र मनुस्मृति अनुसार निर्देशित भएको देखिन्छ । मनुस्मृतिको अनुसार जात दैवीय देनको रुपमा लिएको पाईन्छ । यस दृष्टिकोण अनुसार ब्रम्हाले मानिसको सृष्टि गरेको उल्लेख छ । मानिसको सृष्टि गरेको बखत ब्रम्हाको मुखबाट जन्मेको ब्राम्हण, पाखुराबाट जन्मेको क्षेत्री, तिघ्राबाट जन्मेको वैश्य र पाईतालाबाट जन्मेको शुद्र (अछुत) जात भनेर जातको निर्माण भएको तर्क गर्छन । जात निर्माणको यस दृष्टिकोण अनुसार ब्राम्हण जात पाठ पुजा र धर्मकर्म गर्ने, क्षेत्री राजकाज चलाउने र युद्ध गर्ने, वैश्य बन्द ब्यापार र खेतीपाती गर्ने र शुद्र माथि उल्लेखित जातहरुको सेवा गर्ने जन्मजात जिम्मेवारी प्राप्त गरेको बताउँछन ।
क्षेत्री ब्रम्हको पाखुराबाट जन्मेकाले समाजमा उनीहरुको सामाजिक स्तर दोश्रोमा रहेको उल्लेख छ । क्षेत्रीहरुलाई राजकाजको शक्ति प्राप्त भएको र उनीहरुलाई युद्ध लड्ने, राजकाज चलाउने, ब्राम्हणहरुलाई दान दक्षिणा दिने र अरु जातहरुलाई संरक्षण गर्ने सामाजिक भूमिका रहेको मानिन्छ । डुमनको व्याख्या अनुसार वैश्य जात ब्रम्हको तिघ्राबाट उत्पत्ती भएकोले उनीहरुको स्थान तेश्रो रहेको र उत्पादन गर्ने सामाजिक भूमिका उनीहरुको रहेको छ । ब्राम्हणलाई दान दिने र क्षेत्रीहरुलाई संरक्षण गरे वापत कर तिर्ने उनीहरुको सामाजिक आचारसंहिता रहेको छ ।
भारतको जात व्यवस्था सम्बन्धि अध्ययन गरेका मानवशास्त्री लुईस डुमन्टले जातलाई सामाजिक प्रणाली भनेका छन । उनले जातलाई निम्नानुसार परिभाषित गरेका छन– Caste is a social system on which the elements(caste) of a whole(caste structure) are hierarchically ranked in relation to the whole. उनका अनुसार जात सिंगो संरचनाका तत्वहरु हुन जसलाई सिंगो संरचनाको सम्बन्धमा तहगत रुपमा राखिएका हुन्छन ।
त्यसै गरी फ्रेन्च दार्शनिक तथा समाजशास्त्री बुग्ली (Célestin Charles Alfred Bouglé) का अनुसार जातलाई यसरी परिभाषित गरेका छन – Hierarchically arranged heredity groups, separated each other in certain respect (caste endogamy, restriction on eating together and on physical contact) but interdependent in other (traditional division of labor). यहाँ बुग्लीले जातलाई वंशानुगत समुहहरुको तहगत ब्यवस्थापन हो भनेका छन, जहाँ उनीहरु कुनै निश्चित पक्षहरुमा अलग रहेका हुन्छन । तर परम्परागत श्रम विभाजनको आधारमा उनीहरु एक अर्कामा अन्तरनिर्भर रहेका हुन्छन ।
यसरी नै जातलाई परिभाषित गर्ने विभिन्न दृष्टिकोणहरु रहेका छन । नेपालको इतिहास हेर्ने हो भने राजा जयस्थिती मल्लको पालादेखि हिन्दु धर्ममा आधारित वर्णाश्रम व्यवस्थालाई राज्यले बैधानिकता दिएको पाईन्छ । मानिसलाई जात र वर्णको आधारमा समाजमा स्तरीकरण गरियो । मानिसलाई वंशको आधारमा समाजमा उसको स्थान उचनिच, शुद्धअशुद्ध, छुतअछुतको मूल्य मान्यता स्थापित गरियो । यसलाई जंग बहादुर राणाको पालामा वि.सं. १९१० मा पहिलो पटक बनेको नेपालको लिखित कानुन मुलुकी ऐनले थप बैधानिकता दिने कार्य ग¥यो । उक्त ऐनले मानिसहरुलाई ब्राम्हण र क्षेत्री (तागाधारी), मतवाली (मासिने र नमासिने) र अछुत (छोइछिटो हाल्नु पर्ने र छोइछिटो हाल्नु नपर्ने) वर्गमा विभाजन गर्ने कार्य ऐनले नै ग¥यो । मुलुकी ऐन २०२० ले छुवाछुतलाई कानुनीरुपमा अन्त गरे पनि नेपाली समाजमा व्यावहारिकरुपमा अझै हट्न सकेको छैन ।
जंग बहादुर राणाको पालामा वि.सं १९१० मा निर्माण गरेको पहिलो मुलुकी ऐनले कानुनीरुपमा बैद्यता दिएको पाईन्छ । उक्त मुलुकी ऐन अनुसार समाजका मानिसहरुलाई शुद्ध र अशुद्ध गरी दुई सामाजिक श्रेणीमा तहगत विभाजन गरियो । जसमा शुद्ध जातमा तागाधारी (जनैधारी) र मतवाली जातलाई राखिएको छ । तागाधारी जातमा उपाध्यय ब्राम्हण, क्षेत्री, राजपुत, सन्यासी, भारतीय ब्राम्हण, नेवारी ब्राम्हण लगाएतका थिए । मतवाली जातलाई पनि नमासिने र मासिने गरी दुई वर्गमा विभाजन गरिएको थियो । नमासिने मतवाली जातमा केही नेवार, गुरुङ्ग, मगर, राई, सुनुवार आदि थिए भने मासिने मतवाली जातमा भोटे, तामाङ्ग, चेपाङ, घर्ती, हायु, कुमाल, थारु लगाएत थिए ।
जात सम्बन्धि डुमनको विचार
मानवशास्त्री लुईस डुमन्टले भारतको जात व्यवस्थालाई संरचनात्मक प्रकार्यवादी सैद्धान्तिक दृष्टिकोणबाट व्याख्या गरेका छन । उनले जात व्यवस्थालाई सामाजिक प्रणालीको रुपमा व्याख्या गरेका छन । उनका अनुसार जात सामाजिक सिंगो संरचनाको तत्व भनेका छन र सिंगो प्रणलीमा यसलाई तहगतरुपमा मिलाएर राखिएको तर्क गर्छन ।
डुमनले जात व्यवस्थालाई हिन्दु धारणामा आधारित सामाजिक व्यवस्था भनेका छन । जसमा शुद्ध–अशुद्धको भावनामा आधारित हुने बताईन्छ । हिन्दु धारणा अनुसार मानिसहरुको सृष्टि ब्रम्हाले गरेको र सृष्टिकालदेखि नै दैवीयरुपमा विभेद रहेको छ । जसलाई तलको तालिकामा उल्लेख गरिएको छ:
हिन्दु दर्शन अनुसार जातिय सामाजिक स्तरीकरण
माथिको तालिकाबाट डुमनको जात सम्बन्धि विचारलाई प्रस्टसंग बुझ्न सकिन्छ । उनका अनुसार समाजमा ४ प्रकारका जात रहेको र समाज सञ्चालन प्रक्रियामा उनीहरुको आ–आफ्नै भूमिका निर्धारण भएको तर्क गर्छन । समाजमा जात अनुसारको सामाजिक आचारसंहिता र भूमिका रहेका हुन्छन । हिन्दु धारणा अनुसार मानिस उत्पत्ती भएको बेला ब्रम्हको मुखबाट जन्मेकाहरु ब्राम्हण जात कायम भएको र उनीहरु समाजमा उच्च दर्जामा रहेका छन । उनीहरुलाई वेद पाठ गर्ने, पुजापाठ गर्ने, धर्मकर्म गर्ने र क्षेत्री र वैश्यबाट दान दक्षिणा लिने सामाजिक आचारसंहिता रहेका छन ।
त्यसै गरी क्षेत्री ब्रम्हको पाखुराबाट जन्मेकाले समाजमा उनीहरुको सामाजिक स्तर दोश्रोमा रहेको उल्लेख छ । क्षेत्रीहरुलाई राजकाजको शक्ति प्राप्त भएको र उनीहरुलाई युद्ध लड्ने, राजकाज चलाउने, ब्राम्हणहरुलाई दान दक्षिणा दिने र अरु जातहरुलाई संरक्षण गर्ने सामाजिक भूमिका रहेको मानिन्छ । डुमनको व्याख्या अनुसार वैश्य जात ब्रम्हको तिघ्राबाट उत्पत्ती भएकोले उनीहरुको स्थान तेश्रो रहेको र उत्पादन गर्ने सामाजिक भूमिका उनीहरुको रहेको छ । ब्राम्हणलाई दान दिने र क्षेत्रीहरुलाई संरक्षण गरे वापत कर तिर्ने उनीहरुको सामाजिक आचारसंहिता रहेको छ ।
शुद्र जात ब्रम्हको पैतालाबाट उत्पत्ती भएकोले उनीहरुलाई सामाजिक स्तरमा सबभन्दा तल्लो दर्जामा राखेका छन । डुमन्टको व्याख्या अनुसार शुद्र जात अछुत अर्थात पानी नचल्ने जातमा स्तरीकरण गरिएको छ । ब्रम्हाण क्षेत्रीको सेवा गर्ने र सो वापत उनीहरुबाट अन्नबाली लिने शुद्र जातको सामाजिक आचार संहिता रहेको छ । डुमन्टले त्यस बेलाको भारतको समाज जातको आधारमा तहगत (Hierarchy) रहेको निष्कर्ष निकालेका छन । उनले दुई पटक जन्मने (Twice born category) जातको आधारमा मानिसलाई दुई श्रेणीमा वर्गीकरण गरेका छन । ब्राम्हण र क्षेत्रीलाई दुई पटक जन्मने वर्गमा राखेका छन । जस अनुसार एक पटक आमाको कोखबाट जन्मने र अर्को पटक ब्राम्हणले ब्रतबन्ध गरी जात दिने कार्य गर्दछ । शुद्ध र अशुद्ध अर्थात छुत र अछुतको आधारमा पनि दुई वर्गमा विभाजन गरेका छन । उनका अनुसार ब्राम्हण, क्षेत्री र वैश्य पानी चल्ने छुत जात र शुद्र पानी नचल्ने अछुत जातमा वर्गीकरण गरेका छन ।
नेपाली समाजको जात व्यवस्था तथा यसको प्रकृति बुझ्न डुमनको विचार अझै सान्दर्भिक देखिन्छ । नेपाली समाज पनि जात प्रथामा आधारित समाज हो । भारतको जात व्यवस्थाको अध्ययन पछि डुमनले जसरी जातको आधारमा समाजको तहगत विभाजन भएको विचार र निष्कर्ष निकाले नेपाली समाज पनि त्यस भन्दा फरक छैन । नेपाली समाज विविध जात जाती रहेको समाज हो र यहाँ जातकै आधारमा सामाजिक स्तर तथा स्थान कायम भएका छन ।
नेपाली समाजको विकास क्रममा राजा जयस्थिती मल्लको पालाबाट नेपाली समाजमा जात प्रथा र वर्णाश्रम व्यवस्थाले बैधानिकता पाएको इतिहास पाईन्छ । जुुन दक्षिण भारतबाट फैलदै आएको हिन्दु दर्शनबाट प्रभावित थियो । त्यस कार्यलाई जंग बहादुर राणाको पालामा वि.सं १९१० मा निर्माण गरेको पहिलो मुलुकी ऐनले कानुनीरुपमा बैद्यता दिएको पाईन्छ । उक्त मुलुकी ऐन अनुसार समाजका मानिसहरुलाई शुद्ध र अशुद्ध गरी दुई सामाजिक श्रेणीमा तहगत विभाजन गरियो । जसमा शुद्ध जातमा तागाधारी (जनैधारी) र मतवाली जातलाई राखिएको छ । तागाधारी जातमा उपाध्यय ब्राम्हण, क्षेत्री, राजपुत, सन्यासी, भारतीय ब्राम्हण, नेवारी ब्राम्हण लगाएतका थिए । मतवाली जातलाई पनि नमासिने र मासिने गरी दुई वर्गमा विभाजन गरिएको थियो । नमासिने मतवाली जातमा केही नेवार, गुरुङ्ग, मगर, राई, सुनुवार आदि थिए भने मासिने मतवाली जातमा भोटे, तामाङ्ग, चेपाङ, घर्ती, हायु, कुमाल, थारु लगाएत थिए ।
त्यसै गरी अशुद्ध तथा अछुत जातलाई पनि छोइछिटो हाल्नु नपर्ने र छोइछिटो हाल्नु पर्ने गरी दुई वर्गमा विभाजन गरिएको थियो । छोइछिटो हाल्नु नपर्ने अशुद्ध जातमा कसाइ, कुसले, धोवी, कुलु, मुसलमान लगाएत थिए भने छोइछिटो हाल्नु पर्ने अशुद्ध जातमा कामी, सार्की, दमाई, गाइने, बादी, च्यामे लगाएत थिए । यी जातहरुलाई समाजको तल्लो जातकोरुपमा वर्गीकरण गरिएको थियो ।
नेपाली समाजको जात व्यवस्था जुन उच्चनिच र शुद्ध अशुद्ध प्रकृतिको छ त्यो डुमनको विचारसंग शतप्रतिशत मेल खान्छ । डुमनको अनुसार आर्थिक पक्ष नभई जात व्यवस्थाको कारण समाजमा असमानता सृजना भएको भन्ने विचार नेपाली समाजमा पनि सान्दर्भिक देखिन्छ । अहिले पनि नेपाली समाजमा डुमनले व्याख्या गरे अनुसार जातको आधारमा दिइएको सामाजिक भूमिका र आचारसंहिता कायम नै रहेको छ । अझै पनि अछुत तथा दलितहरु उच्च जातको सेवा कार्यमा छदैछ । कामीले आरनको काम र दमाईले लुगा सिलाउने कार्य गरे वापत बाली प्रथा (अन्नबाली लिने) प्रचलन कायमै छ । त्यसै गरी ब्राम्हणहरुले पुजापाठ गर्ने, वेद वाचन र दान दक्षिणा लिने कार्यलाई निरन्तरता दिदै आएका छन ।
अधिकांश वैश्यहरु बन्द व्यापार र उत्पादन कार्यमा नै सहभागी छन भने युद्ध लडने र देशको रक्षककोरुपमा रहेको सेनामा क्षेत्रीहरु बाहुल्यता कायम नै छन । यसो हुनुमा जात प्रथामा आधारित सामाजिक भूमिका र सामाजिक आचारसंहिताको कारण र प्रभाव नै हो ।
























