महायान बौद्ध दर्शन अनुसार शाक्यमुनि बुद्धले सम्यक सम्बुद्ध प्राप्त पश्चात् पहिलो बनारस, दोस्रो विहारको गृधकुट र तेस्रो बैशालीमा गरी मुख्य तिन पटक धर्मचक्र प्रवर्तन गर्नुभएको थियो । बुद्धले विभिन्न काल खण्ड र स्थानहरुमा विनयजन (शिष्य) हरुको आ-आफ्नो धातु, ईन्द्रिय, क्षमता, श्रद्धा र ईच्छा अनुकुलित समग्रमा ८४००० धर्मस्कन्ध शिक्षा देशना गर्नुभएको थियो जुन बुद्धको महापरिनिर्वाण पश्चात सुत्र, विनय र अभिधम्म गरि त्रिपिट्टकमा संग्रहित गर्नुको साथै सिद्धान्तको आधारमा वैभाषिक, सौतान्त्रिक, विज्ञानबाद र माध्यमिक गरी चार भागमा विभाजन गरेका थिए ।

सातौँ शताब्दीको अन्तमा उपाध्याय (खेन्पो) शान्तरक्षित, महाआचार्य पद्यसम्भव र भोट देशका धर्मराजा ठिसोङ देउचेन
यी तीन जनाको सद्प्रयासले भोटमा महायान बज्रयान बौद्ध धर्म आधिकारीक रुपमा स्थापना गरेका थिए । भोट देशमा समय, स्थान र शिष्यहरूको आधारमा फैलिएका महायान बज्रयान बौद्ध धर्म पनि ङाग्युर ञिङमा (प्राचिन) र छिग्युर सर्मा
(अर्वाचिन) गरी दुई भागमा विभाजन भएको थियो । सर्मामा काग्यू, साक्य र गेलुक तिन सम्प्रदाय छन्। बज्रयान लाई अर्काे नाममा तन्त्रयान,गुह्ययान,सहजयान र उपाययान पनि भनिन्छ । पूर्व (ङाग्यूर) प्राचिनकालको सबै आचार्यहरु बोधिसत्वको रुपमा जन्म लिनु भएको थियो । त्यस समयमा भारतका महापण्डितहरु र भोट देशका लोचावा (लोक चक्षु)हरुले संयुक्त रुपमा बुद्धवचन त्रिपिट्टक ग्रन्थ संस्कृत र पाली भाषाबाट भोटभाषामा अनुवाद गरिएका थिए । त्यस समयका लोक चक्षुहरु धेरै भाषाहरुको ज्ञाता हुनुहुन्थ्यो त्यसकारण त्यस बेला अनुवाद गरिएका सबै धर्म ग्रन्थहरु वर्तमान
युगसम्म पनि सहज रुपमा बुझ्न सक्ने र गम्भीर अर्थ भएका जस्ता आदि धेरै विशेषताहरु रहेका छन्।
विशेषगरी भोट देशका ३३ औँ राजा सोङचोन गम्पो (सन्६१८-६४९) ले भारतवर्षका आचार्य कुमार, आचार्य शंकर, नेपालको शिलामञ्जु आदि प्रकाण्ड विद्वान गुरूहरुलाई आमन्त्रणगरी अवलोकितेश्वर (चेनरेसिग)को बहुमुल्य सूत्रतन्त्र भोटभाषामा अनुवाद गरेका थिए। त्यसैगरी भोटका ३८ औँ राजा ठिसोङ देउचन (सन्७५५-७९४) ले विहारको नालान्दा महविश्वविद्यालयमा अध्ययन गरेका पूर्वभारत साहोरका उपाध्याय (खेन्पो) शान्तरक्षित र उड्डियानका तिलष्मी गुरू महाआचार्य पद्यसम्भव (गुरू रिन्पाक्षे) आमन्त्रण गर्नुभई सन् ७६२ मा भोटको छिम्बुमा साम्ये महाविहार निर्माण गरि सुरुमा ७ जनालाई भिक्षु शिल प्रदान गरि भोटमा बुद्ध शासनको जग बसालेका थिए ।

३ तल्लाले बनेको यस साम्ये गुम्बा पुरै ब्रह्माण्डको केन्द्र भाग सुमेरू पर्वतको संकेत दिनेगरि बाहिरी आवरण चैँ उड्डन्तपुरी महाविहारको नमुना अनुसार र भित्रि तल्लाहरूमा पहिलो भोट, दोस्रो चिन र तेस्रो भारत गरि छुट्टाछुट्टै बौद्ध कलाकृति शैंलीमा मण्डलाको स्वरूपमा निर्माण गरिएको थियो र आश्चर्यात्मक यस गुम्बा निर्माणको क्रममा सुरूमा मानिसहरूले दिउँसो बनाएको संरचना राति स्थानिय भुत र राक्षसहरूले बाधाहरू उत्पन्न गरि भत्काएर त्यस माटो ढुङगा जुन ठाँउबाट ल्याएको थियो त्यहि ठाँउमा पुर्याउथ्यो तर पछि गुरू रिन्पोक्षेले तिनिहरूलाई शान्त पारेपछि भने दिउँसो मानिसहरूले बनाउने र राति राक्षसहरूले बनाई संरक्षकको भुमिका समेत खेलेको भन्ने कथन गुरू रिन्पोक्षेको जिवन इतिहास पेमा काथाङमा उल्लेख गरिएको पाईन्छ ।
त्यही शिल ग्रहण गरेका आचार्यहरु र भारतवर्षका महापण्डित बिमलमित्र, आचार्य जिनमित्र, दानशिल, शान्तिगर्भ, ध धर्मकिर्ति, बुद्धगुह्य र कमलाशिल लगाएत प्रख्यात १०८ प्रकाण्ड महापण्डितहरु र भोटको १०८ विद्वान लोचवाहरूमा वैरोचना (उहाँलाई बुद्धको प्रमुख शिष्य आनन्दको निर्माणकायको रूपमा पनि लिईन्छ), त्यसैगरी ञ्याग ज्ञानकुमार, कावपाल्चेक, चोगरोलु ज्ञ्याल्छेन र श्याङ हिशेदे लगाएतले साम्ये महाविहारमा जिन बुद्धको सर्वोकृष्ट त्रिपिट्टक (काङग्यूर)
वचन (१०८ ठेली) लाई शिरोपर धारणगरी अभ्यास सहित अनुबाद गरेका थिए । त्यसैगरी फेरि भोटका ४१ औँ राजा ठि रल्पच्यन (सन् ८१५-८३६) ले भोटमा १००० विहार निर्माण गरी भारतवर्षका आचार्य जिनमित्र, सुरेन्द्रबोधि, शिलेन्द्रबोधि, दानशिल लगायत धेरै भन्दा धेरै महापण्डितहरु आमन्त्रण गर्नुभई भोटको खेन्पोहरु रत्नरक्षित, धर्मताशिल, लोचवा ज्ञानसेन, जयरक्षित आदि सहित सय देखि हजारौँको लोचावा महासंघ खडागरी अगाडि अनुवाद नभएका सूत्र तन्त्र, टिका र तत्कालिन पूरै भारतबर्षमा रहेका बुद्धको वचन र व्याख्याहरू कुनै पनि शेष नरहनेगरि भोटमा लगेर सबै भोटभाषामा अनुवाद गरिएको थियो ।
भोट देशका आर्य त्रिकुलनाथका तिन निर्माणकाय धर्मराजाहरु, चेनरेसिक अवलोकेश्वोरको निर्माणकाय (टुल्पा) सोङचोन गम्पो, मञ्जुश्रीको निर्माणकाय ठिसोङ देउचन र बज्रपाणीको निर्माणकाय ठि रल्पच्यनको धर्मशासनकाल वा पहिलो लोचावा थोन्मि सम्भोट देखि भारतवर्षका आचार्य स्मृतिज्ञानको भोटमा अनुवाद गर्ने समयकालसम्म अनुवाद गरिएको बुद्धवचनलाई प्राचिन धर्म भनिन्छ । त्यसलाई नै ङाग्युर ञिङमा भनेर चिनिन्छ । सरलभाषामा भन्नुपर्दा भोटमा क्रमैसंग
उत्पन्न भएका चार परम्पराहरू मध्ये सबै भन्दा पहिला स्थापित भएका परम्परा नै ञिङमा परम्परा हो ।

प्राचिन ञिङमा धर्म परम्परा मुख्य दुई प्रकारका छन् -कामा (बुद्धवचन दिर्घागम) र तेर्मा (निधि प्राप्यधर्म) । कामा भन्नाले आदिबुद्ध धर्मकाय समन्तभद्र देखी पछिका बुद्ध र बोधिसत्वहरुलाई क्रमैअनुसार अभिप्राय, सांकेतिक र वाणीको माध्यमबाट परम्पराको धारा अक्षुण्ण रुपमा अधिष्ठानको मूल मर्म विनाश नभई वर्तमान समयकालसम्म रहनुभएका सूत्रतन्त्रका सिद्धिधर बरिष्ठ रिन्पोक्षे गुरुहरुसम्म रहेको गम्भिर धर्मलाई नै कामा भनिन्छ ।
तेर्मा भन्नाले पहिलाको बुद्ध तथा बोधिसत्वहरुले भविष्यका विनयजनहरुको लागी अधिष्ठान गरी केही समयकालको लागी अदृश्य रुपमा लुकाएर राखेको पछि कर्मकारी महापुरुष महानिधिपति (तेरतोन छेन्पो) हरुले निधि (खानी) बाट झिकिएकाहरुलाई तेर्मा भनिन्छ । तेर अथवा तेर्मा दुवै एकै हुन् जुन “लुकाइएका सम्पत्ति“ भनेर पनि बुझिन्छ । तिनिहरू लुकाएको र सम्यक सम्बोधिप्राप्त महान् सिद्धहरूद्वारा रहस्यात्मक शक्तिद्वारा फेला पारिएका आध्यात्मिक बस्तुहरू, उपदेशहरू तथा प्रसारणहरू हुन्। तेर पत्ता लगाइने विभिन्न वर्गहरू सा तेर (भू-निधि), छ्यु तेर (जल निधि), नाम तेर (आकाश निधि), गोङ तेर (चित्त निधि ) र दाग नाङ (शुद्ध आभाष) ईत्यादि रहेका छन्। तेरका रूपमा फेला पारिएका उपदेशहरूको सम्बन्धमा ञिङमा परम्परा सवैभन्दा समृद्ध बौद्ध परम्परा हो । त्यो पनि विशेषगरी पहिला महागुरु पद्यसंभवले भविष्यका सद्पात्र भोट लगायत हिमालि भेगको साधारण र विशेष पुद्गलहरुमाथि करुणा दृष्ट्रि राख्नुभई नाना प्रकारका गम्भिर धर्महरु अदृश्यरुपमा आगो, माटो, हावा र पानीले हानि पुर्याउन नसक्नेगरी अधिष्ठानगरी जङ्गल, भिर पहरा, आकाश, चट्टान, जल, भुमि आदी अनिश्चत स्थानहरुमा गुप्त अवस्थामा राखी निधिपति (तेरदाग) र निधि धर्मपाल (तेरसुङ) हरूलाई संरक्षकको रुपमा स्थापित गरी कर्मकारी महापुरुष (तेरतोन)हरुले भेट्नेगरी भविष्यवाणी र प्रणिधान गरेकोहरुमा पछि निर्माणकायको रुपमा आउनुभएका ५ निधिपति राजाहरु (ञाङराल ञिमा होद्सेर, गुरु छ्योकी वाङक्षुक, दोर्जे लिङपा, पेमा लिङपा र दोङाग लिङपा), त्यसैगरी सर्वश्रेष्ठ ३ टुल्कुहरु (साङ्गे लामा, रत्नलिङपा र देक्षेन शिग्पो लिङपा) र १२८ महानिधिपति (तेरतोन छेन्पो)हरुको आगमन भई पहिला लुकाएर राखेको यथास्थानबाट निकालेको गम्भिर धर्महरुलाई तेर्मा भनिन्छ ।
ङाग्युर ञिङमा धर्म समग्रमा नौ यानका शिक्षा र नौ परम्परायुक्त परम्परामा आधारित रहेका कारण अरू सर्मा सम्प्रदायहरू भन्दा उत्कृष्ठ रहेका छन् । नौ यान श्रावकयान, प्रत्येकबुद्धयान, बोधिसत्वयान, क्रियायान, उपयान, योगयान, महायोगयान, अनुयोगयान र अतियोगयान हुन् । नौ परम्परा जिन अभिप्राय परम्परा, विद्याधर सांकेतिक परम्परा, पुद्गल श्रवण परम्परा, डाकिनी उत्तराधिकारी श्रि परम्परा, प्रणिधान अभिषेक परम्परा, (स्वर्ण पत्र वाणी परम्परा) वा जिन प्रसारण आगम शासनको परम्परा, अभ्यास अधिष्ठानको परम्परा, श्रवणधारा रातो आसनको परम्परा र कर्मव्यवहार परम्पराहरु हुन् । त्यसैगरी पछि प्राचिन ञिङमा धर्ममा समयकाल, गुरू र स्थान विशेष अनुसार ६ वटा आमा गुम्बाहरू (मागोन ढुक)-पल्युल, काथोक, जोक्छेन, मिन्ड्रोलिङ, दोर्जेडाक र सेचेन स्थापना भएका थिए जुन वर्तमानमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा यसका शाखा गुम्बाहरू स्थापित भएका छन् ।
यसरी उत्तर हिमवत पर्वतश्रृङखला भोटको प्रमुख तिन धर्मराजाहरू, भारत र नेपाल लगायतका महापण्डितहरू, विद्वान लोचावाहरू र बुद्ध शासनमा श्रद्धावान भोट लगायत सम्पूर्ण हिमाली भेगका श्रद्धालु व्यक्तित्वहरूको अमूल्य र अविश्मरणिय योगदानबाट बुद्धवचन अनुवाद प्राचिन ङाग्यूर ञिङमा धर्म परम्परा पुरै भोट (तिब्बत), त्यसैगरी भारत र नेपालका उत्तरी हिमाली र पहाडी भेग लगाएत अन्यक्षेत्रहरूमा प्राचिनकाल देखि नै स्थापित भई निरन्तर रुपमा अभ्यास, अनुसरण, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन भईरहनुको साथै वर्तमान अवस्थामा यस ञिङ्मा धर्म परम्परा पाश्चत्य मुलुकहरू सम्म तिव्र गतिमा फैलिएका हुन्।
























