यो पत्र महान सहिद क. बहादुर सिं ब्लोनले धुखिलेख कारागारबाट लेख्नु भएको हो । उहाँको जन्म मण्डनदेउपुर नगरपालिका वडा नं. ४ मा भएको थियो । २०५९ साल बैशाख १४ गते साविक देउपुर गाविस वडा नं. ९ स्थित कालथोकमा तत्कालीन शाहीसेनाले राती घेरा हालेर उहाँ सहित ४ जनाको हत्या गरेका थिए । उहाँसँगै पार्टीका नेताहरु प्रेम बराईली (संजय) राजाराम बरिया र बसन्त ढकाललाई हत्या गरिएको थियो ।

बहिनी कल्पना लगायत सम्पूर्ण आस्थाका बन्दी मित्रहरुमा धुलिखेल कारागारमा रहेका सम्पूर्ण अस्थाका बन्दीहरुको तर्फबाट संग्रामी अभिवादन सहित कुशाल रही कुशालताको कामना गर्दछौं ।

मित्रहरु, उज्ज्वल भविष्यको प्रतिक्षामा तत्कालीन भौतिक सुख सुविधाहरुलाई तिलाञ्जली दिंदै विविध दुःख कष्टहरुसँग संघर्ष गर्दै आफ्नो लक्ष्य प्राप्तिको निम्ती चिसो छेंडीलाई स्वीकार गर्दै त्यसैलाई विश्व विद्यालयको रुपमा स्वीकारेर बसेका हामीहरु भौतिक रुपमा जति टाढा भएता पनि आत्मीय भावानात्क र संैद्धान्तिक रुपमा टाढा छैनौं भन्ने कुरालाई भने हामीले कहिल्यै पनि विर्सनु हुँदैन । हामीले यहाँबाट पटक पटक पत्रहरु पठाउने गरेका थियौं । तर ती पत्रहरु हाम्रो सोचाईको दायरामा भन्दा बाहिर रहेर कतै आफ्नै गतिमा दौडिरहेछ भन्ने कुरा तपाईंहरुले पठाउनु भएको पत्र मार्फत महासुस ग¥यौं ।

तपाईंहरुले गत ३।५ मा पठाउनुभएको पत्र यस कारागारमा ३।९ गते आईपुगेता पनि हामीले हेर्ने अवसर भने ३।२३ गते शुक्रबार मात्रै मिल्यो । त्यस पत्र मार्फत हामीले केही कुरााहरु सिक्ने र बुझ्ने अवसर पाएको महासुस ग¥यौं । र मित्रहरुले आफ्नो अध्ययनको साथ साथै बुर्जुवा शिक्षालाई पनि हेला नगरी शिक्षा नै हो भन्ने सम्झेर अगाडी बढाउनु भएकोमा (शैक्षिक योग्यता बढाउनु भएकोमा) हामी अत्ति नै खुशी भएका छौं ।

तर सत्य जीको एस.एल.सी. सर्टिफिकेटको कारणले यस वर्षको आइए परिक्षामा सहभागी हुने अवसरबाट बञ्चीत हुनुभएको र केही मित्रहरु अस्वस्थ रहनुभएको खबरले भने हामी चिन्तित छौं ।

मित्रहरु, त्यस पत्रमा तपाईंहरुले (सुनिताजीले) ‘नोर्वुजी र इन्द्रजीले पटक पटक पत्र पठाउनुभएको तर हामीले यसको प्रतिउत्तर पठाउन सकेनौं । कहिलेकाही समयलाई पनि कञ्जुस्याइ गर्नुपर्दो रहेछ ।’ भनेर लेख्नु भएको रहेछ । कुरा सत्य भएपनि समय र परिस्थिति अनि विविध विवास्ताहरुले गर्दा हामीलाई निरपेक्ष रुपमा स्वीकार गर्न धेरै गाह्रो भएको छ । काम अगाडि बढ्दै गरेको अवस्थामा (निश्चित विन्दुमा पुगी नसकेको अवस्था) मा हरेक मानिसलाई आफ्नै खाले समस्याहरु आईपुर्दो रहेछ । यसमा तपाईंहरु नै विज्ञ हुनुहुन्छ । होइन र ? अनि लक्ष्मी बहिनीले बुबाको मुद्दा र स्वास्थ्यकोबारेमा बढी चिन्ता गर्नुभएको रहेछ । त्यसको चिन्ता गर्नुपर्ने अवस्था नरहेता पनि खराब मौसमको कारणले गर्दा उहाँ भने यतिबेला विमारी नै हुनुहुन्छ । गत १९ गतेदेखि विमारी हुनुहुन्छ ।

तर आधारभूत उपचार पछि केही कम भएको छ । पूर्ण रुपमा स्वस्थ भने हुनुहन्न । मुद्दाकोबारेमा पहिलको जस्तै छ । बुबाको मन न हो ‘म भन्दा छोरी नै पहिला निस्किनु पर्छ ।’ भन्नु हुन्छ । वकिल (एकराजजी) त्यहाँ आउनुभयो भने यहाँको मुद्दाकोबारेमा जानकारी गराउनु भएका राम्रहो हुने थियो ।

मित्रहरु, यहाँको बारेमा समग्रमा भन्नुपर्दा चलाखजी, गंगाजी र हस्त लगायत केही साथीहरु छुट्नु भएको खबर त पाउनु भयो होला नै । अस्ती २२ गते कृष्ण ढुंगेलजीलाई यहाँबाट तारिखमा छुटाएर रामेछाप चलानी गरेको छ । उहाँ त्यहाँबाट पनि छुट्ने सम्भावना ९५ प्रतिशत छ । अब हामीहरु ब्लक नं. कमा दुर्गाजी, राजु जी, गंगा भाई, रक्तिम जी, इन्द्रजी, बहादुरजी बद्री सञ्जेलजी (मकवानपुर) गरी जम्मा ७ जना छौं । ब्लक नं. खमा नोर्बुजी, सान्तजी, डिबीजी, इन्द्रजी र तेजबहादुर मामा गरि जम्मा ५ जना हुनुहुन्छ ।

यहाँको अधिकांश साथीहरुको मुद्दा जिल्ला प्रशासन कार्यालयमा छ । तेजबहादुर मामा र बहादुर जीको पहिलादेखि नै अदालतमा पनि थियो । तर अहिले आएर गंगा भाई र रक्तिमजीलाई पनि छ । यहाँको प्रायजसो साथीहरुको छुट्ने सम्भावना बढी छ । जसमा राजुभाई, नोर्बुजी, इन्द्रजी (छिन्ताङ) सन्तजी, डिबीजी हुनुहुन्छ । बाँकी साथीहरुको प्रयास भएपनि फितालो खालको छ । समग्रमा भन्नुपर्दा छुट्ने प्रयासमा छौं । यसको परिणाम के हुने हो बाँकी नै छ । यसमा आन्तरिक भन्दा बाह्य पक्षले बढी भूमिका निभाएको छ । हेरौं कुनपक्ष प्रधान हुने हो । यहाँको समस्या सारमा एउटै खाले भएपनि रुपमा विविध रुपधारण गरेर देखापरेको छ । ‘व्यक्तिको हित सामूहिक हित विपरित भएमा केही नोक्सानी गर्दैन ।’ भन्ने कुरालाई मनन गरि अगाडि बढेका छौं । यहाँबाट यस बर्ष राजुजीले एसएलसीको परिक्षा दिनुभएको थियो । तर परिणाम भने ………… ।

प्रायजसो साथीहरुको भेटघाट नजिकिदै गएको छ । यहाँको नियम अनुसार एकदिनमा एकपटक भन्दा बढी भेटघाट गर्न पाइदैइन । ‘गोरखापत्र, कान्तिपुर पढ्न पाए पनि प्रगतिशिल पत्रपत्रिका हेर्ने अवसर त्यति पाइएको छैन ।

अन्त्यमा नयाँ गाउँबाट भेटघाट आउन थालेको छ । दुर्गाजी र मैले आफ्नो ठाउँमा रहेर सकारात्मक कुरा गरेका छौं । डिलबहादुर तामाङले कल्पनाजीलाई पनि भेटन जानुभएको कुरा गर्नुभएको थियो । कल्पनाजीले भन्नुभएको शब्दहरुले हामीलाई पनि सकारत्मक प्रभाव पा¥यो । फेरि पनि भेट्न आउने कुरा छ । आफ्नो ठाउँमा उभिएर परिस्थितिहरुलाई सही रुपमा मुल्यांकन गरी प्रस्तुत हुनुभएमा राम्रो होला । भावनात्मक कुराहरु त धेरै थिए तर परिस्थिति र विवासतालाई ध्यानमा राखी आफ्नै गतिमा दौडिरहेको कलमलाई वजर्जस्ति रोक्नु भन्दा अगाडि यो पत्र पाउन साथ त्यहाँको सम्पूर्ण स्थितिलाई हामी समक्ष पठाउनुहुनेछ भन्ने विस्वास राख्दै कलम बन्द गर्न चाहन्छौं ।

पूनः अभिवादन ।
उहीं आस्थाको बन्दी
बहादुर सिं तामाङ लगायत सम्पूर्ण साथीको तर्फबाट ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।