बन्दुकसँग मेरो देखभेटः मानसपटलमा जनयुद्ध
  • ग्याम्जाे थाेकर तामाङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्धको शूरुवात गरेको दिन २०५२ साल फागुन १ गते । सदा झैं म विद्यालयबाट फर्केर आएर खाजा खाएँ । अनि आमालाई सघाउन तिर लागें । ठूलो परिवार । करिब करिब १८÷१९ जनाको परिवार । खाना पकाउन मैले आमालाई सहयोग गर्नुपर्ने अनिवार्य दायित्व भित्र नै पथ्र्यो ।

चकमन्ना रात । बाहिर केही देखिरहेको थिएन । खाना खाईसकेपछि सबै सुतिसके । म भने गृहकार्य गर्दै थिएँ । सिरिफ गुन्द्रीमाथि पल्टेर टुकी बत्ति मुनी म गणितको गृहकार्य गर्दै थिएँ । नाकको प्वाल पूरै कालो भइसकेको थियो । निन्द्रले छोइसकेको थियो । तर पनि म गृहकार्यकै चटारोमा थिएँ ।

ड्याङ ड्याङ बन्दुक पड्केको आवाज एक्कासी मेरो कानमा ठोकियो । अनि मेरो मनमा साथीहरुले भनेको कुरा खेलिरह्यो । ‘लु अब साथीहरुले क्रान्ति शुरु चाँडै हुन्छ भन्थे, अब शुरु भएछ क्यारे ।’ मेरो मनमा यस्तै कुरा खेलिरह्यो । मन भित्र भएको बहसले म निदाउनै मुस्किल भइरहेको थियो । राती कतिखेर निदाएँ थाहै भएन ।

विहान ४ बजे तिर होला गाउँमा हल्लीखल्ली चल्यो । म बिउँजें । ‘दौतल सिंको त चोरले सबै लग्यो रे ।, सयौं जना चोर आको थियो रे ।’ यस्तै कुराहरु मैले सुनें । मनमनै फेरि म भित्र बहस चल्यो । ‘अब क्रान्ति शुरु गरेछन् साथीहरुले, सामन्ती सुद्खोर जसले सदियौं देखि गरिब जनताको रगत र पसिना चुसेका थिए । उसैलाई कार्वाही गरेछ ।’ मनमा यहीं कुरा खेल्यो । अर्को कुरा सबै साथीहरु भूमिगत भईसकेको थियो । ममा अलिकति आतंकको हाउगुजीले तर्साएको जस्तो भयो । भोलि मलाई के गर्ला ?

करिब ३ महिना अघि मलाई साथीहरुले विशेष गरि चलाखसिं दोङ, सूर्यमान दोङ, गंगाबहादुर तामाङ, रंगबीर दोङ, पदमबहादुर दोङ, च्याङबा लामाले स्कुल छोडेर क्रान्तिमा जान अनुरोध गरेको थिए । यो कुरा मैले रक्तिम जी जो अनेरास्ववियू (क्रान्तिकारी) काभ्रे र सिन्धुलीको जिल्ला सदस्य हुनुहुन्थ्यो । उहाँसँग सल्लाह गरेका थिएँ । ‘हामी एसएलसी पास गरेर मात्र क्रान्तिमा जाने हो । अहिले नजाने भन ।’ उहाँले भन्नुभयो ।

म त्यतिखेरा अनेरास्ववियू (क्रान्तिकारी) कुशेश्वर निमावि (तत्कालीन)इकाई समिति अध्यक्ष अनि तेमाल इलाकाको उपाध्यक्ष थिएँ ।

म विद्यालय जाँदै गर्दा बाटोमा अनेक कुरा सुनें । मलाई अलिकति डर–डर पनि लागिरहेको थियो । तै पनि म स्कुल पुगें । नियमित रुपमा म स्कुल गइरहें । मलाई कसैले केही भनेनन् ।

फागुन १४ गते शुक्रबार । दिउँसो १ बजे छुटी भयो । घरतिर जाँदै गर्दै गाविस अध्यक्ष सिद्धिमान लामा र हरिबहादुर तामाङलाई टाढैबाट देखें । उनीहरु काँग्रेसका कार्यकर्ता पनि थिए ।

‘समात त्यो चोरलाई ।’ सिद्धिमानको नजिक पुग्दै गर्दा उनले आदेश दिए । अनि हरिबहादुरले उनको आदेश तुरुन्तै पालना गरे । अनि मेरो घाँटीमा दुई हातले आँठ्याए । अनि म चालमाल गर्नै सकिन । हुन चाहिं मलाई त्यो दिन उनीहरुले विद्यालय समय भित्रै गिरफ्तार गरेर लाने योजना रहेछ । तर मेरो हेडसर पे्रमबहादुर रायमाझीले इन्कार गर्नुभएको रहेछ ।

मेरो घाँटीमा उनको ठूला ठूला दुवै हात छ । ‘छोड्दिनु मलाई, तपाईंहरुले जहाँ भन्छ त्यहीं जान्छु ।’ मैले यति भन्नेवित्तिकै हरिबहादुरले मेरो घाँटीबाट हात हटाए । ‘त्यो चोरलाई समातेरै बोक, भाग्छ फेरि ।’ सिद्धिमानले आदेश दिँदै थिए । ‘नविराउनु नडराउनु, मैले चोरेको छैन । किन डराउने म ?’ एक्कासी मेरो मुखबाट यस्तै कुरा निस्कियो ।

दौलतसिंको घरमा उनीहरुले मलाई लगे । प्रहरीहरु टन्न थिए । यस अघि मैले प्रहरीहरु १÷२ जना भन्दा देखेकै थिएन । करिब ४० जना प्रहरी मेरो पर्र्खाइमा रहेछ । ‘यहीं हो आजको सिकार ?’ कुममा एकतारे भएको प्रहरीले खाउँला झैं गरि भने । उसको त्यो गर्जनले मेरो वालमनोविज्ञानमा आतंक नै मच्चियो । सबैले बन्दुक बोकेका थिए ।

पहिलोपटक मैले बन्दुक देखें । लामो लामो बन्दुक बोकेको प्रहरी देख्दा मनभित्र अलि अलि रोमञ्चीत पनि भएँ ।

मलाई प्रहरीहरुको माझमा राखे । त्यतिखेर मलाई पार्टीका नेता यानप्रसाद गौतम (आलोक)ले दिनुभएको प्रशिक्षण कार्यक्रमको याद आयो । ‘भोलि क्रान्ति शुरुवात गर्दा हामी दुश्माणको कब्जामा पर्न सक्छ । त्यतिखेर पार्टीको पोल कहिल्य पनि नखोल्नु होला । बरु शहिद हुन तयार हुनुपर्छ ।’ क. आलोकको यो कुरा मैले सम्झें । अनेक प्रश्न गरे । ‘चोरेको सामान कहाँ लगेर राखेको छ ? चोर्न को को आको ?’ प्रहरीको यस्तो थियो प्रश्न ।

‘म विद्यार्थी मान्छे, म चोर्न गएको छैन । को–को आयो मलाई थाहा छैन ।’ मैले भने । तर उनीहरु मेरो कुरालाई पत्याएनन् । अनि यातना दिए । एउटा लौरो सकिने गरि पिटे । दौलात सिं प्रहरीलाई उक्साईरहेका थिए । काँग्रेस कार्यकर्ताहरु आगोमा घिउ थप्दै थिए । तर मेरो मुखबाट थाहा छैन मात्र निस्के ।

बास्तवमै मलाई थाहा पनि त थिएन । म कक्षा ७ मा पढ्ने बच्चालाई त्यत्रो ऐतिहासिक घट्नाकोबारेमा मलाई भन्ने कुरै भएन । मलाई यति थाहा थियो कि क्रान्ति अब चाँडै शुरुहुन्छ ।

त्यो दिन प्रहरीसँगै खाना खाएँ । दौलतसिं भन्दै थियो कि यो चोरलाई खाना दिनुहुन्न । ‘खाना नदिएर विरामी भएर म¥यो भने को जिम्मेवार हुन्छ यहाँ ? हामीसँगै खाना दिनुपर्छ ।’ त्यहीं एकतारे प्रहरी भन्दै थिए । अनि मैले पनि प्रहरीसँगै खाना खाएँ ।

रात प¥यो । प्रहरीको घेराभित्र म सुतें । मलाई प्रहरीले घेरेरै राखेको छ । निन्द्र नै आएन । यता पल्टेको छ उता पल्टेको छ । भ¥याङको छेउमा डोको माथि राईफल बोकेर प्रहरीले डिउटी गरिरहेका थिए । मेरो नजर एक्कसी त्यो राइफलमा पुग्यो । उनले लामो लामो गोली लोड गर्दै थिए । मैले अनुमान लगाईसकेको थिएँ कि त्यो लामा लामा चाहिं गोली नै हो भनेर । कहिल्ये निकाल्दै कहिल्ये भित्र हाल्दै गर्थे प्रहरी ।

करिब रातको २ बज्यो होला । काँग्रेस कार्यकर्ता धनबहादुर तामाङ आए । उनी मेरो आफ्नै मामाको छोरा हुन् । ‘यसले चाहिं चोरेको छैन, विद्यार्थी विगार्ने काम मात्र गर्छ ।’ उनले प्रहरीसँग भन्दै थिए, ‘यसलाई चाहिं भोलि विहान छोडौं ।’ अनि प्रहरीले उनको प्रस्ताब स्वीकारे । अनि बल्ला मलाई निन्द्र लाग्यो । मन भित्र अनेक कुरा खेल्न बन्द भयो ।

विहान प्रहरीले मलाई आँगनमा लग्यो । अनि सोध्न थाले, ‘तिम्रो संगठनमा को को छ ?’ मैले भने, ‘सबै छ नि संगठनमा त ।’ अनि प्रहरीले भलाई भने, ‘सबैलाई राजीनामा दिन लाउनु होला । तिमीलाई आजै छोड्छौं हामी ।’

मैले हुन्छ भने । अनि मलाई छोडे बापत एउटा भाले र एक पाथी रक्सी ल्याउन उर्दी जारी गरे प्रहरीले । अनि मेरो घरमा यो सब नभएको जवाफ दिन साथ उनी रिसाए । धनबहादुरले मलाई भने, ‘तिमी चुप लाग । तिम्रो दाईहरुलाई पठा ।’

त्यसपछि म घर गएँ । आमा र बुबा रुँदै हुनुहन्थ्यो । ‘मैले तिमीलाई त्यसरी नहिंड भनेकै थिएँ नि । मानेनौ ।’ म चुपचाप बसें ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।