श्याम ङेसुर तामाङ
काठमाडौं । उपत्यकाको तीनवटा जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरको वरिपरि, डाँडा, भिरपाखातिर, चारै नाकामा यत्तिखेर जो कोहिले घुमेर हिडने हो भने अन्य जातजातिको तुलनामा तामाङ जातिको बसोबास बाक्लो देखिन्छ, भेटिन्छ पनि ।
काठमाडांको छैमले ,चन्द्रागिरी, रामकोट, रानिवन, गोलढुङ्गा, सुन्दरीजल, झोर महाँकाल, तारेभीर, बौद्ध, बज्रयोगिनी जर्सिङपौवा, कात्तिकेडाँडा, त्यस्तैगरि भक्तपुरको नगरकोट, गुण्डु, सिपाडोल र ललितपुरको, लाकुरी भन्ज्याङ, लामाटार, गोदावरी, फुलचोकी, चापागाउँ, लेले काभ्रे, लप्से, नल्लु, भारदेउ, चौघरे, दलचोकी, तिनपाने भन्ज्याङ, देबीचौर, घुसेल, छम्पी, डुकुछाप, फर्सिडोल लगायतका जुन क्षेत्र उपत्यकामा नागबेली झै जेलिएका यी भुःभागहरुमा तामाङ जाती आफ्नै श्रमको पसिना बगाएर परापुर्ब कालदेखी हालसम्म पनि आफ्नै स्वामित्वमा गाँस, बास र कपासको ब्यवस्थापन गरि आ–आफ्नो जीवन यापन गर्दै आईरहेका छन् ।

नेपालको एकीकरण हुनुभन्दा अघि बाईसे, चौबीसे राज्य हुँदा उपत्यकाको भक्तपुर ठिमीमा थिङ राजाले केही महिना शासन गरेका किम्बदन्ती पाएपनि उपत्यकाको नजिकको जिल्ला नुवाकोटको ककनीमा रुम्बा राजाले शासन गरेको इतिहासमा सुन्न, पढ्न पाईन्छ । तिनै तामाङ जातिका थरहरु मध्ये रुम्बा थरका केही तामाङहरु बसाइँसराइको क्रममा ४ र ५ पुस्ता अघि काठमाडौको गोलढुङ्गामा बसोबास गर्दै आएको देखिन्छ ।
बाल्यकाल
काठमाडौं जिल्ला, हालको तारकेश्वर नगरपालिका वडा नं. ५ गोलढुङ्गा, बैखुमा पिता कृष्णबहादुर रुम्बा र आमा विविमाया ग्लान तामाङको कोखमा माईला सुपुत्रको रुपमा वि.सं. २०२८ पौष १५ गते बुद्धदेव रुम्बा तामाङको मध्यमखालको रुम्बा तामाङ परिवारमा जन्म भएको हो । बुद्धदेवका दाई वासुदेव, दिदी लक्ष्मी, सकुन्तला, बहिनी सुनिता र भाई सागर रुम्बा तामाङ आफू समेत गरि ६ दाजुभाई, दिदिबहिनी रहेका छन् ।
बाल्यकालमा औपचारिक शिक्षा बुबा कृष्णबहादुर रुम्बाको निधनका कारणले वि.सं. २०४५ ताका दीपज्योती स्कुलमा पढेपनी, पढाईलाई निरन्तरता दिन सकेनन् । बचपनदेखि नै बुद्धदेव, निर्डर, मेहनती र चलाख स्वभाबका थिए । प्राय जसो घर छेउ निकुञ्ज रानीवन भएकोले गोलढुङ्गा, बैखु भेगमा वन्य जीवजन्तु जस्तो दुम्सी, कालिज, तित्राले बारीमा लगाएको अन्न पात खाएर, दुख दिन्थ्यो, त्यस्मा पनि बारीमा लगाएको अन्नपात कालिज र दुम्सिले खाएर दिक्क बनाएपछि एकदिन बुद्धदेवले अब यो कालिज मार्नु पर्छ भनेर साँझ पख बारीमा गुलेली लिएर लागे, त्यसपछी गुलेली र गुलेलीमा लाग्ने ढुङ्गाको गोटि सहित पुगेका बुद्धदेवको छेउछाउमा १५ र २० वटा कालिजले घेर्न थाले, बुद्धदेव तिनछाक परे, होईन किन मलाई आज कालिजले यसरी घेर्यो भनेर मन मनै सोच्न थाले, पछि बुझ्दै जाँदा चीलले ती कालिजहरुलाई मार्न झम्टेको रहेछ, चारै तिर हेरेपछी आफू नजिकै रहेको आखिर रुखको टुप्प्पोमा चील देखे बुद्धदेवले ।

त्यस्पछि यो कालिजलाई मार्न खोज्ने चीललाई नै मार्नुपर्छ, मेरो शरणमा आएको यी कालिजहरुलाई मार्नु हुदैन भन्ने सोचले आफुसँग रहेको गुलेलीको गोटि प्रयोग गरेर चीलको घाँटीमा लाग्ने गरि गुलेलीले हान्दा चील आफ्नै छेउमा फत्रक–फत्रक गरेर खस्यो, फेरि मरेन, दोश्रो चोटि फेरि चीललाई गुलेलीले हानेर चील मार्दा, सबै कालिज भागी सकेका थिए ।
‘अब यो चील के गर्ने ?’ सोच्न थाले । अब नजिकै रहेको सैनिक पोष्टमा सुरक्षा गरि बसि रहेका सैनिकलाई दिने भन्दै आफै त्यो मारेको चील बोकेर रानी वनमा सुरक्षा पोष्ट खडा गरि डिउटी गरेका सैनिकलाई बेलि बिस्तार सुनाएर मारेको चील दिए । ‘तपाईं पनि कालिज नमारेर के चील मारेको ?’ एक सैनिक जवानले उनलाई भने । आखीर शरणमा आएको कुनैपनि मानव या प्राणीलाई मरण गर्नुहुन्न, दुख दिनुहुन्न, साथ दिनुपर्छ भन्ने आध्यात्मिक ज्ञान प्राप्त गरेका थिए, बुद्धदेवले ।
गफ गर्दै आफ्नो बाल्यकालमा भोगेका कुरा चिया पिउदै यो पङक्तिकारलाई हाँस्दै, गम्भीर हुँदै, सालिन मुद्रामा आफ्नो बाल्यकालको अवस्था सुनाउदै, त्यस्पछि आफूले बलीप्रथा, चराचुरुङ्गी मार्ने तर्फ नलागेको बताए ।
‘मेरो बाल्यकाल त यस्तो थियो ।’ मुस्कुराउदै अस्याङ म एउटा चुरोट लिन्छु है भनेर चिया पसले दिदिलाई चुरोट मागेर, लाईटरको साथले सल्काउदै चुरोट पिउन थाले । ‘अस्याङ ! मेरो नराम्रो बानी छ, दिनमा यसो कहिले काहीं २ र ३ वटा खिल्ली चुरोट तान्ने गर्छु, अस्याङ त लिनुहुन्न होला ।’ बुद्धदेव एकोहरो मसँग बोल्दै थिए ।
नोकरी र ब्यवसाय
बाल्यकालमा पनि आफ्नो त्यो १५।१६ वर्षको उमेरमा काठमाडौको सानोभ¥याङमा ईन्जिनियर देवराज योन्जन तामाङ लगायतले संचालन गरेको ह्योन्जन इलेक्ट्रीकल ईन्जिनियरिङ कम्पनीमा करिब करिब ८ वर्ष नोकरी समेत गरेका बुद्धदेवले, ‘अब सधै यसरी जिन्दगी चल्छ र?’ भन्ने सोचे । सो कम्पनीमा राजेन्द्र मोक्तान तामाङको पनि लगानी थियो ।
पछि राजेन्द्र मोक्तान तामाङ आफ्नो एकदम मिल्ने साथी भएका कारणले राजेन्द्रको सरसल्लाह र इलेक्ट्रीकल ईन्जिनियर मुराली कोईरालाको साथ, सहकार्यमा २०५८ र २०५९ सालतिर आफ्नै नेतृत्वमा, आफ्नै लगानीमा कोरोना इलेक्ट्रीकल ईन्जिनियरिङ कम्पनीको स्थापना गरेर केही वर्ष पछि नेपाल सरकारको आधिकारिक निकायबाट मान्यता प्राप्त गरेर कम्पनीको स्थापना कामदार हुँदै प्रबन्ध निर्देशक, हाकिम बनेका छन् उनी । बुद्धदेब रुम्बा, यत्तिखेर आफू पनि दिनरात खटेर, कामदारहरु राखेर कम्पनीलाई अगाडी बढाउदै चाबहिल, काठमाडौमा ईलेक्ट्रीकल क्षेत्रमा निरन्तर काम गर्दै आईरहेका छन् ।
वैबाहिक जीवन
नेपाली समाज, त्यसमा पनि तामाङ समाजमा विवाहको हरेक किसिम हुन्छ । जस्तो मागी, चोरी विवाह लगायतका संस्कार, सँस्कृतिले गाँजिएको छ । अन्तरजातिय विवाहलाई पनि तामाङ समाजले स्वीकार गरेको छ । ताम्बा (इतिहासकार), लापताबा (आफ्नो थरिय कुलको पुजा गर्ने कुल पुजारी) र लामा ( गुरु) ले आ–आफ्नो तरिकाले पुजा, पाठ गरेपछि तामाङ समाजमा कुटुम्बलाई बुझाउनु पर्ने रीत बुझाएपछी, केटा, केटीको मन्जुरीमा विवाह कार्य सम्पन्न गरिन्छ ।

यता बुद्धदेवको पनि प्रेम विवाह भएका कारण आजभन्दा १७ वर्ष अघि स्थानिय गीतासिह महर्जनसँग दुवैको राजिखुशिमा वैवाहिक जीवनमा बाधेका थिए ।
समाजसेवा:
ब्यवसायको अलवा स्थानिय स्तरमा टोलको वस्तिको विकास ,निर्माणमा पनि लागि परेका छन् । गोलढुङ्गा, बैखुमा रहेको सेती देवी, काली देवी मठमन्दिरको पुननिर्माण, मर्मत सुधार, खानेपानीको ट्याङ्की निर्माण, मोटरबाटोको निर्माणलाई पनि अगाडि बढाएका छन भने स्थानिय स्तरमा बैखु टोल सुधार समितिको स्थापना गरेर सामुदायिक भवन, भगवान बुद्धको चैत्य (छ्योर्तेन) निर्माण जस्ता कार्य सम्पन्न गर्न लागि परेका छन् ।
सो कार्य सम्पन्न गर्न तारकेश्वर नगरपालिका वर्डा नं. ५ गोलढुङ्गा, बैखुका वडाअध्यक्ष वासु गौतम, स्थानीय युवा, बुद्धिजीवीहरु अरुण लामा, दीपेश पाख्रीन, नरेश लामा, अमीत तामाङ, सुरेश लामा, निर्मल लोप्चन, निराजन तामाङ, रामशरण तामाङ, विनोद तामाङ, राजु लामा लगायतका स्थानिय निकाय, सरोकारवालाहरुले आर्थिक, बौद्धिक, नैतिक रुपमा सहयोग गरेर विकास निर्माण, समाज सुधारको लागि उल्लेखनिय योगदान समेत बुद्धदेवको रहेको छ ।
भावी योजना र निष्कर्षः
आफुले नेतृत्व गरेको ,स्थापना गरेको कोरोना ईलेक्ट्रीकल ईन्जीनियरिङ कम्पनीलाई समयानुकुल परिमार्जित गर्दै नेपाल सरकारको मूल्य मान्यतालाई स्विकार गरेर सबल कम्पनीको रुपमा स्थापित गरि आफुले सकेको समाजमा दिनदुखिया, पीडा परेका ब्यक्तिलाई आफुले मानवताको हिसाबले सहयोग गर्ने लक्ष्य ईलेक्ट्रीकल क्षेत्रमा स्थापित हुने उनको चाहना छ ।
‘आज मेहनतले मानवलाई धेरै पाठ सिकाउदो रहेछ भने झै मलाई पनि मेरो विगतको परिश्रमले कामदारबाट कम्पनीको मालिक हुँदै, आजसम्मको यो यात्रामा हाकिम बनेको छ, म यसलाई निरन्तरता दिने प्रण गर्दछु ।’ उनले भने ।
पक्कैपनी एक सबल ईलोक्ट्रीकल ईन्जिनियरिङका प्रबन्ध निर्देशक बुद्धदेव आफुले भोगेका जीवनका तिता, मिठा ती दिनहरुलाई भोगाईको हिसाबले राखेर कर्म गर्न सकेको खण्डमा स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह प्रत्यक्ष दिन, दिलाउन सकिन्छ नै ! हाम्रो तर्फबाट पनि सदैव बगेको गङगाको पानी जस्तै ब्यवसायी बुद्धदेवले सफलता मिलोस यहीं नै शुभकामना छ ।
























