श्याम ङेसुर तामाङ
ललितपुर जिल्लामा विशेष गरि तामाङ जातिको बाहुल्यता क्षेत्र नं. १ को दक्षिण पुर्बी र पश्चिम क्षेत्रको चापागाउ, लेले, छम्पी, बुङमती, फर्सिडोल, डुकुछाप, देवीचौर, घुसेल, नल्लु, भारदेउ, चौघरे, दलचोकी, भट्टेडाँडा, माल्टा, प्युटार, आश्राङ, इकुडोल, शङखु, गिम्दी, ठुलादुर्लुङ, कालेश्वर, चन्दनपुर, गोटिखेल, मानिखेल, बुखेल र शहरी क्षेत्रमा पर्ने गोदावरीमा पनि तामाङ जातिको बाक्लो बस्ती रहेको छ ।

प्राय ललितपुरको दुर्गम, मध्य भाग र शहरी भुःभागमा छरिएर रहेका स्थानिय तामाङले अहिलेसम्म पनि आफ्नो मातृभाषा तामाङलाई भने जिवीत राखेका छन् र तामाङ जातिबिच परापुर्बकालदेखी प्रचलित स्वाँगेभाई थरबीच र आमाको दूध साईनोबीच बिबाह गर्ने प्रथालाई मान्यता दिएका छैनन् ।

ललितपुरका तामाङहरु कृषि पेशामा तल्लिन रहेपनी पछिल्लो वर्षहरुमा नेपाली सेना, नेपाल प्रहरी, जनपथ प्रहरी, शशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान बिभाग, कानुन ब्यवसायी, निर्माण ब्यवसायी, शिक्षक, शिक्षिका, संचारको क्षेत्र, साहित्य, गायन, कलाकारिता, ब्यवसाय, निजामती क्षेत्र, बौद्ध शिक्षा, राजनिती र समग्र क्षेत्रमा अघि बढी रहेको छ।

राजनितिमा ललितपुरका तामाङ पन्चायतकालमा जिल्ला विकास समिती ललितपुरको जिल्ला उपसभापतीमा नल्लुका जयबहादुर ग्लान तामाङले पहिलो राजनितिक हैसियतमा उपत्यकामा नै आफ्नो छवि बनाउन सफल भएका थिए भने देशको राजनितिक माहोलमा दोश्रो संविधान सभाको निर्बाचनमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्रबाट नै ललितपुर शंखुका योगेन्द्र घिसिङ तामाङले उपत्यकाको तामाङ समुदायभित्र आफ्नो पहिलो नाम राख्न सफल भएका छन् ।

देशमा करिब करिब २० वर्ष पछि भएको स्थानिय निकायको निर्वाचनमा पनि ललितपुरमा विभिन्न राजनितिक दलहरुबाट गोदावरी नगरपालिका र महाकाल, कोन्ज्योसोम र वाग्मती गाउँपालिकामा केही मात्र तामाङ जनप्रतिनिधिहरु निर्बाचित हुनु भएको छ, जस्मध्येमा कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष गोपिलाल सिङतान, उपाध्यक्ष मिङमा ब्लोन, कोन्ज्योसोमको वडा न. १, ३, ४, ५ वडा अध्यक्षहरु सन्तलाल ग्याबा, तिलक बम्जन, तीर्थ ग्लान, सुबिन्द्र बल तामाङ, वाग्मती गाउँपालिकाको अध्यक्ष वीरबहादुर लोप्चन, वाग्मती गाउँपालिकाको वडा न.१, २, ६ का वडा अध्यक्षहरुमा जगतबहादुर लो, बिजय लो, लालबहादुर बम्जन र महाकाल गाउँपालिकाको उपाध्यक्ष कमला वाइबा, महाकाल गाउँपालिकाको वडा न. २ मा वडाअध्यक्ष सन्चमान स्याङतान तामाङ यी तीन वटा गाउँ पालिका वडा सदस्यहरु, केही नगरपालिकाको वडाध्यक्ष तथा नगर सदस्यहरुमा तत्कालिन नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्रबाट तामाङ जातिका नेतृत्वहरु निर्बाचित भएका थिए ।

ललितपुर जिल्लामा तामाङ जातिको जनसंख्या एकिन रुपमा आकालन गर्न सक्ने स्थिती भने पक्कै छैन नै । यसै सेरोफेरोमा ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा न. ८ डुकुछाप, जल्खु केराबारीका समाजसेवा, ब्यवसाय र राजनितिमा लगातार लागि पर्नु भएका युवा नेता, ब्यवसायी र समाजसेवी रामकृष्ण ब्लोन लामा (इन्द्र) को विगत देखि हालसम्म गरेका कार्य र भावी रणनिती, योजनाबारे चर्चा र परिचर्चा गर्न लागेका छौ ।

ललितपुर जिल्लाको हाल गोदावारी नगरपालिका वडा न. ८ डुकुछाप, जल्खु, केराबारीमा बुबा राजकुमार (सोनाम) ब्लोन र आमा सानुकान्छी सिङतान तामाङको कोखमा माईला सुपुत्रको रुपमा वि.सं. २०२८ बैशाख १ गते रामकृष्ण (इन्द्र) ब्लोन लामा जन्मेका हुन् । यी नै रामकृष्णका दाइ सानुबाबु, भाइ मिलन, बहिनी उमा, लक्ष्मी ब्लोन र आफू गरि पाँच जना दाजुभाइ र बहिनीहरु रहेका छन् ।

बाल्यकालः
सानो उमेरमा रामकृष्ण ,प्राय खेलकुद भनेपछी हुरुक्कै हुन्थे । प्राय भलिबल, फुटबल, कराते, बक्सिङ खेल मन पर्दथ्यो भने आफू ठूलो भएपछी समाजसेवा, ब्यवसाय र राजनिती गर्ने ठूलो सपना बुनेका रामकृष्णले घरायसी समस्याका कारणले औपचारिक शिक्षालाई भने निरन्तरता दिन सकेनन् ।

ड्वा ल्होछारमा फुटबलका बिजयी खेलाडीहरुलाई पुरस्कार, शिल्ड वितरण गर्नुहुदै समाजसेवी, ब्यवसायी तथा युवा नेता लामा ।

ब्यवसाय र समाजसेवाः

आफ्नै लगानीमा निर्माण ब्यवसाय सम्बन्धी कम्पनी आए. एस. प्रोपर्टी डेभलपर्स कन्स्ट्रक्सनको स्थापना गरेर ब्यवसायमा लागि परेका रामकृष्णले सो ब्यावसायबाट प्राप्त आम्दानीको १० प्रतिशत समाजसेवामा खर्चिने गरेका छन् ।

बिगत लामो समयदेखी समाज सेवामा तल्लिन रामकृष्णले आफ्नै जन्मभुमी डुकुछाप नजिकै रहेको फर्सिडोलमा रहेको महानगरीय प्रहरी प्रभाग, फर्सिडोलको भवन निर्माण, वाग्मती गाउँपालिका वडा न.६ आश्राङस्थित लुकुनीमा रहेको श्री बालमनोरमा आधारभुत विद्यालयको स्वर्ण महोत्सवमा आफ्नो बुबा राजकुमार(सोनाम) ब्लोन र आमा सानुकान्छी सिङतान तामाङको सम्झनामा रु. १ लाख ५ हजारको अक्षय कोष स्थापना गरि सो कोषको ब्याजबाट जेहेन्दार, गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, विभिन्न विद्यालयमा अध्ययनरत छात्र, छात्राहरुलाई स्टेशनरी, झोला वितरण, गुम्बा, मठ, उपचार खर्चको अभाबमा छटपटिएका बिरामीहरुलाई सहयोग, मन्दिर निर्माण गर्न सहयोगको साथमा जिल्ला तथा विभिन्न स्थानमा हुने गतिविधिहरुलाई पनि आर्थिक सहयोग समेत गर्नु भएर समाजसेवामा कर्मले आफ्नो नामलाई स्थापित गराएका छन् ।

वैबाहिक स्थितीः

तामाङ जातिमा वैबाहिक सवालमा पनि आफ्नै जातिय थिती छ । रामकृष्ण ब्लोनले तामाङ संस्कारनुसार २०५८ फागुन २२ गतेका दिन दुबैको मन्जुरीमा ईन्द्रमाया स्याङतान तामाङसँग वैवाहिक सम्बन्ध कायम गर्नु भएको हो । तामाङ समुदायमा ब्लोन र स्याङबो स्वागेभाई हो भने स्याङतान, मोक्तान, पाख्रीन र थोकर पनि स्वागेभाई थर भएकाले यी थरहरुबीच बिबाह नगर्ने, जहाँ जस्तो सुकै ठाउँमा रहेपनी दाजुभाई र दिदीबहिनीको नाता कायम गर्ने गर्छन् ।

नेपाली काँग्रेसमा प्रबेश गर्नु भएकालाई सदस्यता पत्र प्रदान गर्नुहुदै युवा नेता रामकृष्ण लामा ।

खेलकुदमा रामकृष्णको झुकाब, प्रबेश तथा नेतृत्व स् सानैदेखी खेलकुदमा ईच्छा लागेका रामकृष्ण वि.सं. २०४४ देखि वादोकाई करातेमा सम्लग्न थिए भने नेपाल वादोकाई करातेको केन्द्रीय सदस्य र २०४७ मा ब्लाक बेल्ट फष्टडान लिएका उनले खेलकुदबाट नै अन्तर्रास्ट्रिय रेफ्री भएकाकारणले जापानमा समेत खेलकुदमा भाग लिएका थिए ।

लामा हाल नेपाल वादोकाई करातेको ४ डान तथा रेफ्री समेत हुन् । कराँतेको अलवा फुटबल, भलिबल विभिन्न खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएर युवाहरुलाई हौसला, प्रोत्साहन र साथ सर सहयोग गर्ने गर्छन् । वादोकाई कराते खेलमा १२ वर्षसम्म निरन्तरता खेलाडी, प्रशिक्षक र रेफ्री भएर योगदान दिएका थिए ।

राजनीति र जातिय संस्थामा नेतृत्वः

विपिको समाजबादले प्रभाबित बनेका रामकृष्ण, वि.सं.२०४९ नेपाली काँग्रेस गाउँ इकाई समिती, डुकुछापको सचिब, कृयाशिल सदस्य (२०५१, नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. १ को क्षेत्रीय उपसभापती, नेपाल आदिवासी जनजाती संघको केन्द्रीय सदस्य जस्ता नेतृत्वमा रहनु भएर युवा नेताको पहिचान कायम गर्न सफल हुनु भएको छ भने तामाङ जाती तथा आदिवासी जनजातिको अधिकार प्राप्तिको लागि, सचेतनाको लागि नेपाल तामाङ घेदुङ, संघीय केन्द्रीय सचिब तथा बिपत ब्यवस्थापन समितिको संयोजक र नेपाल आदिवासी जनजाती महासंघ संघीय परिषद् सदस्यको पदमा रहेर काम गर्दै आउनु भएको छ ।

ललितपुर, वाग्मती–६ आश्राङ, लुकुनीस्थित श्री बालमनोरमा आधारभुत विद्यालयमा आफ्नो बुबा–मुमाको सम्झनामा अक्षय कोष स्थापना गर्न रु.१ लाख ५ हजारको चेक, विद्यालयका अध्यक्ष तुलसिप्रसाद तिमल्सिनालाई हस्तान्तरण गर्नुहुदै समाजसेबी लामा ।

निष्कर्षः
उमेरले ४७ औं वसन्तमा परिक्रमा गरेपनी युवा निर्माण ब्यवसायी, समाजसेवी, नेता रामकृष्ण ब्लोन (ईन्द्र) लामाले स्वदेशमा मात्र नभै बिदेशमा पनि द रेयुकाई युरिसिया जापानको नेपाल प्रतिनिधि, नेपाल वादोकाई करातेको रेफ्रीको हैसियतले जापान, सिङ्गापुर, मलेसिया, युएई, थाईल्यान्डसम्मको भ्रमण गरि सक्नु भएका लामाले एक्कैसाथ ब्यवसाय, समाजसेवा र राजनितिलाई डोर्याउँदै एउटा चुल्होको तीन ढुङ्गा जसरी लागि पर्दै आउनु भएको छ ।

एक युवा त्यस्मा पनि ब्यवसायी, समाजसेवी र राजनितिक नेतृत्व जस्तो क्षेत्रमा लागेर समाज, र देशको लागि नेतृत्व गर्दै आउनु भएका युवा निर्माण ब्यवसायी, समाजसेबी, राजनितिक नेतृत्वको कार्यलाई जोकोहिले पनि तारिफ गर्न सक्छ नै, त्यसैले त रामकृष्ण (ईन्द्र) ब्लोन लामाको तामाङ समुदायमा मात्र नभै देशैभर चर्चा, परिचर्चा नामले मात्र होइन कामले नै बन्न सफलता प्राप्त गरेको छ, अझै यी तिनै विधामा सदा आफ्नो यात्रा कायम गर्न सफलता मिलोस, हाम्रो शुभकामना छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।