काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले शिक्षामा तामाङहरु अरु जातिभन्दा पछि परेको बताएका छन्। स्थानीय तहको बजेटमा तामाङ समुदायका सवाल विषयक बहस कार्यक्रममा उपाध्यक्ष गुरुङले साक्षरता प्रतिशत सक्दो बढाउनुपर्ने सुझाए।
औसत साक्षरता प्रतिशतभन्दा तामाङहरुको शैक्षिक अवस्था माइनसमा रहेको उनले बताए। ‘नेपालको साक्षरता प्रतिशत ७६.२ प्रतिशत छ। तर तामाङको साक्षरता प्रतिशत ६२.६० छ। यो औसतभन्दा माइनस १३.६० छ। स्थानीय तहले फोकस गर्ने हो भने अब स्कुल पठाउने हो। नेवारको साक्षरता प्रतिशत ८०.०७ प्रतिशत छ। यो भनेको औसतभन्दा प्लस छ। गुरुङको हेर्ने हो भने ७४.३६ प्रतिशत छ,’ गुरुङले भने।
भाषा, शिक्षा र संस्कृति स्थानीय तहको अधिकार भएकोले स्थानीय तहले यसमा ध्यान दिनुपर्ने उनले बताए। त्यसैगरी उनले आर्थिक हैसियत माथि उठाउन पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए। ‘एसडीजी २०३० मिट गर्ने हो कसैलाई पछाडि नराख्ने हो। यदि सबैलाई बराबर बनाउने हो तामाङहरुलाई आर्थिक रुपमा अरु सरह बनाउने हो भने शैक्षिक रुपमा अरु सरह बनाउने हो भने निजामतिमा अरु सरह बनाउने हो भने स्थानीय सरकारले ध्यान दिने हो,’ उपाध्यक्ष गुरुङले भने, ‘यसका लागि संघीय सरकारले पनि यही अनुसारको नीति ल्याउनुपर्छ।’
स्थानीय सरकारले बजेट बनाउन लागेको बेला स्थानीय तहका प्रमुखहरुको ध्यान आकृष्ट गराउन तामाङ पत्रकार संघले आयोजना गरेको कार्यक्रम एकदमै सान्दर्भिक भएको गुरुङले बताए। शुक्रबार ललितपुरको सिद्धार्थ कटेजमा संघले यसबारे स्थानीय तहका प्रमुखहरुसँग बहस गरेको हो।
त्यसैगरी गुरुङले तामाङहरुको भाषा र संस्कृति नै मुख्य सम्पत्ति भएकोले यसलाई जोगाउनेतिर लाग्नुपर्ने सुझाव दिए। ‘पानी र भाषा हरेक १० कोशमा फरक हुन्छ। भाषामा विविधता हुन्छ। फरकपन भनेर बुझ्न हुन्न। यो भनेको सम्पत्ति हो,’ उनले भने।
बाग्मती सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी भाषा घोषणा गरेपनि कार्यन्वयनमा भने पछि परेको उपाध्यक्ष गुरुङको भनाई थियो। ‘घोषणा गर्ने, पास गर्ने र ताली बजाउनेमा हामी एक नम्बरमा छौ। तर कार्यन्वयनमा हामी निकै पछि छौं। यसमा स्थानीय तहले जोड दिनुपर्छ,’ उनले भने।
त्यसैगरी उपाध्यक्ष गुरुङले तामाङ समुदायको अभौतिक ज्ञानलाई सूचीकरण गर्नसमेत ध्यानाकर्षण गराए। ‘संस्कृति मन्त्रालयले अभौतिक सम्पत्तिको लागि सूचीकरणका निम्ति वैशाख अन्तिमसम्म राखेको छ। अझै थपिन सक्छ। गुरुङको हो भने अर्घु। तामाङले भने घेवा,’ गुरुङले भने, ‘घेवाको विधि हामीले देख्दैनौ। तामाङको भनेर दाबी गर्न अभौतिक सम्पत्तिमा सूचीकरण गर्न स्थानीय सरकारले रिकम्मेडेसन गर्नुपर्छ। मार्चा हामी बनाउँछौ। यसको प्याटर्न राइट हामीसँग छ कि छैन। यसमा स्थानीय सरकारले ध्यान दिनुपर्छ।’ तामाङहरु चोहो प्रणालीदेखि विभिन्न ज्ञान प्रणाली अभौतिक सम्पतिको धनी भएको उनको भनाई थियो।
कार्यक्रममा काभ्रेस्थित मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, काभ्रेस्थित रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, ललितपुरस्थित कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा,बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, धादिङस्थित रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, रसुवास्थित आमाछेदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, दोलखास्थित मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानि लामा र काभ्रेस्थित तेमाल गाउँपालिकाका उपप्रमुख दलमान थोकरले तामाङ समुदायको क्षेत्रमा अहिलेसम्म आफूहरुले गरेको विकासबारे प्रकाश पारेका थिए।
कार्यक्रममा तामाङ पत्रकार संघका प्रमुख सल्लाहकार सुवास योञ्जनले नीतिगत निर्णय गर्दा तामाङ समुदायलाई विशेष ध्यान दिन माग गरे। तामाङले रोजगारी पाउँदा देशलाई घाटा नहुने योञ्जनको भनाइ थियो। ‘तामाङलाई पनि शिक्षित बनाउने योजना अघि सार्नुपर्छ। उनीहरुलाई रोजगारी दिन पर्यो,’ योञ्जनले भने, ‘यसले देशलाई घाटा हुँदैन।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।