काठमाडौँ । चर्चित गायिका देशु लामाले गरिवी तथा अनाथ बालबालिकाका निःशुल्क पढ्ने वातावरण निर्माण गर्नका लागि धरान उप–महानगरपालिका वडा नं. १५ मा अबस्थित रहेका ङाम्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बामा अक्षयकोष स्थापन गर्ने भएको छ ।
बालबाललिकालाई शिक्षाको ज्योतिबाट बञ्चित हुनबाट जोगाउने उद्देश्यले यो अक्षयकोषको स्थापना गर्न लागेको गुम्बाका विदेश विभाग प्रमुख समेत रहेकी गायिका गोलेले तेमाल अनलाईनलाई जानकारी दिइन् ।
गुम्बाबाट एक कक्षादेखि १० कक्षासम्म बौद्ध शिक्षा र अंग्रेजी विषय पढाउने उद्देश्य रहेको छ । यस कार्यका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नका लागि समेत गोलेले अपिल गरेकी छिन् ।
धरान उप–महानगरपालिका वडा नं. १५ मा अबस्थित रहेका यस ल्हाखाङ गुम्बाले गुम्बा निर्माणपछि अनाथ तथा गरिवी बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य, खाना र बस्ने ब्यबस्था गरिरहेको छ ।
हाल यस गुम्बामा विभिन्न ठाउँका ११ जना बालबालिकालाई निःशुल्क पढाइरहेको गोलेले जानकारी दिइन् । हाल गुम्बामा आर्थिक अबस्था कम्जोर भएका, आमा बुबाले छोडेर बिचल्लि भएकाहरु रहेका छन् ।
गुम्बामा बालबालिका आउने क्रम जारी नै रहेको तर गुम्बामा आर्थिक अबस्था कम्जोर भएको हुँदा उक्त बालबालिकालाई राम्रोसँग पढाउनका लागि अक्षयकोषको स्थापना गर्न लागेको गोले बताइन् ।
























