- अमृत याेञ्जन तामाङ, भाषाविद्
बङगाली भाषाका ठाकुर शब्द ‘टैगोर’ र बन्धोपाध्याय शब्द ‘बेनर्जी’ भएका छन्। उदाहरणका लागि विश्वकवि रविन्द्रनाथ टैगोर र ममता बेनर्जीलाई लिन सकिन्छ। बंगालीहरू उनीहरूलाई रविन्द्रनाथ ठाकुर र ममता बन्धोपाध्याय भन्छन्। गैर-बंगालीहरू (विशेष गरी अग्रेजहरु) ठाकुरलाई ‘टैगोर’ र बन्धोपाध्यायलाई ‘बेनर्जी’ भन्छन्। दुवै चलाउँछन्। हिन्दी भाषीका लागि Egypt मिश्र भए। तिब्बतीहरूका लागि पद्म पेमा भए।
नेपालीको लागि English (इङ्लिस) ‘अंङ्ग्रेजी’ भए। तमु नेपाली भाषीका लागि ‘गुरूङ’ र याक्थुङबा ‘लिम्बु’ भए।
गत वर्ष पश्चिम बङ्गाल विधानसभाले राज्यको नाम पारित गर्यो- पश्चिम बङ्गाललाई अब अंग्रेजीमा ‘वेङगाल’, हिन्दीमा ‘बङ्गाल’ र बङ्गालीमा ‘बाङ्ला’ नाम राख्ने भनेर। एकै स्थान वा व्यक्ति वा थरको नाम फरक भाषामा फरक फरक हुन सक्छ भनेर बुझ्न आवश्यक छ ।
यसर्थ तामाङ भाषामा लेख्दा ‘ह्योन्जन’ र नेपालीमा लेख्दा ‘योन्जन’ लेख्न सकिन्छ। ह्योन्जन वास्तवमा ‘य्होन्जन’ हो। ‘य’ वर्ण सघोष भएर ‘य्ह’ भएको हो- ङ वर्ण ङ्ह; म वर्ण म्ह; न वर्ण ‘न्ह’ र ल वर्ण ‘ल्ह’ भए जस्तै। तर देवनागरीमा ‘य्ह’ लेख्न सकिन्न। प्रत्येक भाषाको आ-आफ्नै उच्चारण पद्धति हुन्छ। एउटा भाषीले अर्को भाषाको वर्णलाई हुबहु उच्चारण गर्न सकिदैनँ। फ्रान्स भाषाको ‘रेस्टुराँ’ शब्द नेपालीमा ‘रेस्टुरेन्ट’ भएको छ।
अझ् भन्ने नै हो भने ‘योन्चन’ सही हो। ‘चन’को अर्थ लाग्छ। ‘जन’को तामाङ भाषामा अर्थ छैन।
दुइ स्वर वर्णको विचमा आउने भ्वाइसलेस वर्णहरू- क च ट त प क्रमशः भ्वाइस्ड वर्ण- ग ज ड द ब मा परिवर्तन हुन्छ, जस्तै पाप्पा, सात्पा तर ‘खाबा’, ‘निबा’ हुन्छ। यहाँ ‘खाबा’ वा ‘निबा’ शब्दमा ‘बा’को अगाडि र पछाडि ‘आ’ छ। यसै गरी नाके वर्ण (ङ न म) असगाडि आउँदा पनि ‘च’ वर्ण ‘ज’ हुन्छ। यसै नियमले गर्दा ‘योन’ र ‘चन’ को उच्चारण ‘योन्जन’ भएको हो। ‘बोम’ र ‘चन’ बोम्जन हुन्छ। यसै आधारमा ‘लोप्’ र ‘चन’- ‘लोप्चन’ र मिक’ र ‘चन’- ‘मिक्चन’ यथावतै रहेको छ। यसरी नै ‘चारताम’ पनि ‘चारदाम’ भयो।
भाषामा मौलिकता खोज्नु पर्दछ। बङ्गालीहरूले जस्तै गरी तामाङ भाषामा लेख्दा वा बोल्दा ‘य्होन्जन’ र नेपालीमा लेख्दा वा बोल्दा ‘योन्जन’ लेख्न सकिन्छ ।
मेरो उक्त विचार तपाईलाई कस्तो लाग्यो? लेख्नु होला।
























