जनयुद्धः किबोर्ड र मनिटरसँग सिपियूको विछोड

२०५८ सालको अन्तिम तिर । सरकारसँगको वार्ता पनि टुटिसकेको थियो । विभिन्न जिल्लाको सदरमुकाम सफलतापूर्वक कब्जा गरेको थियो ।

म त्यतिखेर जेलबाट छुटेको थिएँ । मेरो जिम्मेरवारी पार्टी एरिया सदस्य र सब–एरिया सेक्रेटरी । काभ्रेको दाप्चा क्षेत्र, कामीडाँडा र खोपासी क्षेत्र समेत मेरो कार्यक्षेत्र भित्र पथ्र्यो ।

सरकारी कार्यालयहरु ध्वस्त बनाउने योजना पार्टीले तय गरेको थियो । मेरै कार्यक्षेत्र भित्रमा सम्पन्न गर्ने योजना निर्माण भयो । अब सरकारी तथा अर्ध सरकारी निकायहरुको विवरण संकलन गर्नुपर्ने भयो । संकलन मात्र होइन, ‘रिक्की’ पनि त गर्नुप¥यो नि ।
क. महेश (अक्कलबहादुर थिङ) र म जनताको भेषमा खोपासी छि¥यांै । सचेतपूर्वक सडकमा हिंड्यौं हामी दुई । खोपासीको प्रहरी चौकी सडकमै थियो । प्रहरीहरु क्यारीम खेल्दै थिए । उनीहरुको ध्यान खेलतिर मात्र थियो । हामी अघि बढ्यौं ।

हाम्रो नजर खोपासीको रेशम खेतीमा पुग्यो । त्यसको सबै नक्सांकन गर्ने काम भयो । त्यसैगरि खोपासी एरियमा भएका सरकारी कार्यालयहरु र कार्यालय रहने स्थान सबै पत्ता लगायौं ।

कार्यालयहरु धेरै थियो तर हाम्रो फोर्स सानो थियो । जनमुक्ति सेनाको सानो इकाई (प्लाटुनको एक सेक्सन) हाम्रो साथमा थियो । अरु सबैजना पार्टी संगठनमा काम गर्ने कामरेडहरु मात्र थिए ।

क. लालध्वज (सूर्यमान दोङ) जिल्ला सेक्रेटरी (त्यतिखेरको पार्टी सेक्रेटरीको नेतृत्वमा चल्थ्यो ।), क. उदीप (जेवी आले), क. बमध्वज (गंगाबहादुर तामाङ) क. छिन्ताङ (इन्द्रबहादुर थिङ), क. विके (बाबुकाजी श्रेष्ठ, हाल बेपत्ता), क. ज्वाला (मिमबहादुर वाईबा) लगायतका नेताहरु समेत करिब २५ जनाको टिम थियो ।
कार्य विभाजन भयो । वन कार्यालय, गाविसको कार्यालय, प्रहरी कार्यालय, रेशम खेतीको कार्यालय, हुलाक कार्यालय लगायतका सरकारी कार्यालयहरु हाम्रो निशानामा परिसकेको थियो ।

खोपासीमा प्रहरी चौकी भएपनि दिउँसो मात्र बस्थे प्रहरी । बेलुका जिल्ला प्रहरी कार्यालय धुलिखेलमा गएर बस्थे । त्यसैले पनि हामीलाई सरकारी भौतिक संरचना ध्वस्त पार्न सजिलै थियो ।

कामीडाँडामा हामीले गोरु काटेर मासुभात मज्जाले खायौं । कार्य विभाजनलाई ठोस ग¥यौं । हतियार विन्यास ग¥यौं । अनि रोलकल ग¥यौं । जिल्ला सेक्रेटरी क. लालध्वजको निर्देशनात्मक मन्तव्य पछि हामी खोपासी ताक्यौं ।

सबै कार्यालयमा एकैपटक आक्रमण गर्ने र ध्वस्त बनाउने पार्टीको योजना थियो । म र क. अमृत (भरत सापकोटा)को जिम्मेवारी विजुलीको तार काट्नेमा थियो । कम्मरमा २÷२ वटा ग्रिनेट र एक एक वटा खुकुरी बोकेर हामी दुई भाई अगाडि बढ्यौं । दिउँसो नै हामीले पत्ता लगाएका थियौं कि कहाँ निरको तार काट्दा सबैको लाईन काटिन्छ । उहाँ र म सरासर अगाडि बढ्यौं ।

सबै जनताहरु सुत्ने तरखरमा थिए । हामीले घरको छतमा टेलिफोनको तार काट्ने योजना बनाएका थियौं । त्यहीं एकतले घरमा पुग्यौं हामी दुई । अरु कामरेडहरु आ–आफ्नो जिम्मेवारीमा लागिरहेका थिए ।

‘को हो ?’ ढोकैमा पुग्दा एउटा पुरुषको आवाज आयो । ‘हामी माओवादी हौं बा ।’ मैले जवाफ दिएं । ‘तपाईं नडराउनुहोस् बा, तपाईंको छतमा गएर टेलिफोनको तार काट्न मात्र हो ।’ मैले प्रष्ट भने । त्यसपछि हामी निर्वाध रुपमा छतमा पुग्यौं । खुकुरीले च्वाट्टै छिन्छ भन्ने हामीलाई लागेकोले खुकुरी मात्र बोकेर हिंडेका थियौं । टेलिफोनको तार कस्तो खालको हुन्छ हामीलाई थाहा थिएन । तार त छिनेन छिनेन खुकुरीको धार समेत धोप्रेर केही काम लागेन । घर मालिक बाले एउटा आईडिया लगाए । ‘मसँग बन्चरो छ, काठको अचानो पनि छ, त्यसैले काटौं ।’ भनी तुरुन्तै तल ओर्ले र लिएर आए । तार च्वाट ।

तार काटेसी हाम्रो जिम्मेवारी फेरि रेशम खेतीको कार्यालयमै थियो । साथीहरु सबै आ–आफ्नो काममा व्यस्त थिए । ‘यहाँ त कम्प्युटर धेरै रहेछ । हामीलाई नि काम लाग्छ कि ?’ एक जना कामरेडले मलाई बोलाए । क. लालध्वजले कम्प्युटरकोबारेमा बुझ्ना मलाई बोलाउन निर्देशन दिएको रहेछ ।

कम्प्युटर भन्ने सुनेको मात्र थिए तर कम्प्युटरकोबारेमा कसैलाई केही थाहै रहेन छ । जेल बसाईको क्रममा भद्रगोल जेलमा मैल लेखनाथ न्यौपाने (तत्कालीन विद्यार्थी नेता) संगै कम्प्युटर ट्रनिङ लिएका थियौं । त्यसैले सबैभन्दा बढी जान्ने नै मै थिएँ । तर कम्प्युटरमा के के बस्तु जोडिएको हुन्छ त्यो भने मलाई थाहा दिएन ।

म कम्प्युटर रुममा पुगें । ‘सबै काम लाग्छ बोकौं ।’ मैले भने । प्रत्येक कम्प्युटरको ४ सेट थियो । २ वटा वक्स जस्तो, एउटा किवोर्ड र अर्को मनिटर । सानो वक्स, गरुंगो पनि, बज्थ्यो पनि । रातो झिमिक झिमिक बल्थ्यो पनि । ‘यो फ्याँक्दिनु काम छैन । बेकारमा एक्सपोज मात्र हुन्छ ।’ खेतमा फ्याँकदिए । मनिटर र त्यो वक्स बोक्न पनि गाह्रो नै थियो ।

मैले संझे कि किबोर्ड थिचेपछि मनिटरमा अक्षर निस्कने हो, यो बक्सको पनि काम छैन । ‘फ्याँक्दे यो वक्स पनि ।’ मैले भने । के छ र मै मात्र त थिए नि जान्ने त । कामीडाँडाको पल्लो गाउँ, जंगलको छेउको गाउँमा हामीले सेल्टर लियौं ।

केही महिना पछि हाम्रो भेट प्राविधिक विभागका कामरेडहरु र पत्रकारहरुसँग भयो । त्यहीं क्रममा कम्प्युटरको प्रसंग चल्यो । हामीसँग कम्प्युटर उपलब्ध छ भनेर मैले भने । ‘चेक गरौं ल्याउनुहोस् ।’ पत्रकार साथीले भने । विद्युत व्यवस्थापन गर्न सारै गाह्रो । डिसी टु एसी कन्भर्टर थियो तर बोक्न सारै गाह्रो । व्याट्रि, सोलार र त्यो मेशिन गर्दा त १०÷१५ जना जनशक्ति चाहिन्थ्यो ।

मैले सम्बन्धित साथीलाई कम्प्युटर ल्याउन अनुरोध गरें । करिब १ घण्टा पछि कम्प्युटर आईपुग्यो । उहाँहरुको अगाडि राख्दियौं । ‘यति नै हो सामान ?’ पत्रकारले मलाई सोधे । ‘होनि चाहिने यति नै होइन त ?’ मैले भने । ‘मुख्य कुरा नै रहिन्छ नि कामरेड । एउटा सामान नै छैन ।’ उनले भने । ‘त्यो बक्स ? त्यो त बोक्न आप्ठयारो भयो खेतमै फ्याँकेर आएको ।’ मैले जवाफ दिएँ । उनीहरु हाँसे ।

आखिरमा त्यो वक्स कम्प्युटरको मुटु रहेछ । अझ भनौं ब्रेन नै रहेछ नि । सिपियू भन्दो रहेछ छोटकरीमा । सामान्य कुरा तर युद्धमा यसले पनि पूरै नकारात्मक प्रभाव पार्न सक्दो रहेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।